
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले आयोजना गरेको संघीयताविरुद्ध काठमाडौँ केन्द्रित आन्दोलनको प्रचारका क्रममा राष्ट्रिय जनमोर्चाका दुईजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार दिउँसो तारा सोमरे मगर र गोपाल शिरिषलाई प्रहरीले पक्रेको राजमो महासचिव मनोज भट्टले जानकारी दिनुभयो ।
उहाँहरूलाई काठमाडौँको अनामनगरबाट पक्राउ गरी करिब तीन घण्टा प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको थियो । पार्टीको दबाबपछि प्रहरीले साँझ ६ बजे दुवैजनालाई बिनासर्त रिहा गरेको राजमोले जनाएको छ ।
आफ्ना कार्यकर्तालाई बिना कारण नियन्त्रणमा लिएर हिरासतमा राखेको भन्दै राजमोले आपत्ति जनाएको छ ।
राष्ट्रिय जनमोर्चाले यही चैत २४ गतेदेखि संघीयताविरुद्ध साताब्यापी काठमाडौँ केन्द्रित आन्दोलन गर्दैछ ।
सो आन्दोलनको प्रचार प्रसारका लागि काठमाडौँमा पर्चा वितरण, सांस्कृतिक कार्यक्रम, सभा, कोणसभा लगायतका कार्यक्रम भइरहेका छन् ।














