सबैभन्दा गाह्रो काम जनतालाई बुझाउनु हो : केसी

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले राजनीतिमा सबैभन्दा गाह्रो काम जनतालाई बुझाउनु रहेको स्पष्ट पार्नुभएको छ ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजद्वारा एक सय छत्तिसौँ मे दिवसको अवसरमा २०८२ वैशाख १८ गते अबेर रातीसम्म आयोजित भर्चुअल कार्यक्रममा मन्तव्य राख्दै उहाँले यस्तो दाबी गर्नुभएको हो ।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएका केसीले भन्नुभयो– ‘सबैभन्दा गाह्रो काम जनतालाई बुझाउनु हो । जनतालाई चेतनशील बनाउनु हो ।’

भूमिगत कालमा आफूहरूले चेतनशील बनाएका जनतामा अझै पनि सही धारणा कायम रहेको उहाँले बताउनुभयो ।

‘मुख्य कुरा जनतालाई चेतनशील बनाउनु हो’ उहाँले भन्नुभयो– ‘जुन जनतालाई हामीले भूमिगत कालमा सचेत गराएका थियौँ, ती जनता अहिले पनि बिग्रेका छैनन् ।’

उहाँले आफूहरू सचेत पार्न सकेका जिल्लाका जनतामा गलत राजनीतिको विरोध गर्ने चेतना रहेको स्मरण गर्नुभयो ।

उहाँले भन्नुभयो– ‘जुन जिल्लामा हामीले जनतालाई बुझाउन सकेका छौँ; जस्तो : बागलुङ, प्युठान, अर्घाखाँची आदि ठाउँमा, त्यहाँका जनताले दरबारिया, काङ्ग्रेस, एमाले, माओवादी आदिलाई घृणा गर्दछन् ।’

जनतामा संसार बदल्ने अजेय शक्ति रहेको उहाँको भनाइ थियो ।

‘जनताले सही कुरा बुझ्दा च्याङकाई सेक ढल्यो; जार ढल्यो; भारतबाट अङ्ग्रेज भागे; नेपालबाट राणाशासन, निरङ्कुश पञ्चायती शासन र राजतन्त्र भाग्यो’ उहाँले जनता कहिलेकाहीँ मात्रै जाग्ने गरेको विश्लेषण पनि गर्नुभयो ।

अध्यक्ष केसीले राजनीति गर्नेहरूका विचार, बोली, व्यवहार र चरित्र नमुना हुनुपर्ने जिकिर गर्नुभयो ।

‘राजनीति गर्नेहरूका विचार, बोली, व्यवहार र चरित्र नमुना हुनुपऱ्यो; त्यसमा दृढता हुनुपऱ्यो’ उहाँले भन्नुभयो– ‘त्यसको प्रभाव जनतामा पार्न सकियो भने जनता अजेय किल्ला बन्नेछ ।’

उहाँ यस काममा धैर्यतापूर्वक दत्तचित्त भएर काम गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार आनन्द शर्मा, अन्तर्राष्ट्रियका महासचिव खुम रायमाझी, नेकपा (मसाल) ३ नम्बर प्रदेश ब्युरोका प्रवक्ता समीर सिंह, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, कतार नेपाली एकता समाजका अध्यक्ष रामप्रसाद पराजुली, अन्तर्राष्ट्रियकी सल्लाहकार निशा खनाल र नेपाली एकता समाजककी जमुना सापकोटाले पनि मन्तव्य राख्नुभएको थियो ।

अन्तर्राष्ट्रियका अध्यक्ष शक्तमान बुढाथोकीको अध्यक्षता तथा सचिव तेजेन्द्र क्षेत्रीको उद्घोषणमा अघि बढेको उक्त कार्यक्रममा उपाध्यक्ष प्रेम पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार