
हामी नेपालीहरू रोजगारका निम्ति विदेशका धेरै मुलुकहरूमा पसिना बगाइरहेका छौ । यसरी पसिना बगाइरहने मध्ये अधिकांश बाध्यता र केही रहरको कारण पनि हुन्छ । युवाहरूको बाध्यताको पछाडि नेपाल सरकार र देशको नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरूको कुशासन, भ्रष्टाचार मुख्य रुपमा जिम्मेवार छ । देशमा राणा शासन, पञ्चायती व्यवस्था, बहुदलीय व्यवस्था र गणतन्त्रसम्ममा पनि युवाहरूको विदेश पलायन नियति बनेको छ । नेपाली युवाहरूका दुःखका धेरै आयामहरू रहेका छन् ।
नेपालमा राजतन्त्र वि.स. १८२५ देखि २०६५ साल सम्म नेपालको शाहवंशका शासनहरू थिए । अर्थात् शाहवंशीय राजा नेपाल अधिराज्यको राष्ट्रप्रमुख थिए । नेपालका राजा शाह वंशका प्रमुख समेत थिए भने नेपालको पहिलो संविधानसभाले २०६५ जेठ १५ गतेका दिन देशमा गणतन्त्रको घोषणा गरेको थियो । नेपाल राजतन्त्रात्मक हिन्दु राज्य थियो । तथापि, वि.सं. १९०३ देखि २००७ सालको क्रान्तिसम्म देश जहानीया राणा शासनको नियन्त्रणमा रहेको थियो । २०४६ सालको जनआन्दोलनपछि देशमा नयाँ संविधान लागू गरिएको थियो र देश संवैधानिक राजतन्त्रात्मक राष्ट्रमा परिणत भएको थियो । यसरी देशले बेग्ला बेग्लै शासन व्यवस्था भोगेको छ ।
यति लामो नेपाल र नेपालीको इतिहास बोकेको देशमा पछिल्लो समयमा विश्व सँगै नेपालमा पनि प्रविधिको प्रयोग भयो । देशमा शिक्षा, स्वास्थ्य, रोजगार र कृषिको राम्रो ब्यबस्थापन गर्न सकेको अवस्था रहेको छैन । देशमै केही गर्छु भन्ने युवाहरूलाई सरकारको सहयोग लगायतका व्यवथापन गर्न सकेन । राजनीतिक पार्टीका नेताहरूले केवल सरकार र सत्तामा कसरी पुग्ने र राष्ट्रको ठुलो मान्छे बन्ने भन्नेमा आफूलाई केन्द्रीत गरेका छन् । नेपाली युवाहरू धेरै मुलुकहरूमा कानूनी रुपमा गएका छन् । कयौ मुलुकमा गैरकानूनी तरिकाले नेपाली युवाहरू जीबनको सुन्दर सपना बोकेर महिनौ पैदल यात्रा सम्म हिंडेर कयौ जोखिम मोलेर युरोप र अमेरिकी मुलुकहरूमा पसेका खबर हिजो आज यत्र तत्र सार्वजनिक सञ्जालहरूमा दिनहुँ आइरहन्छन् ।
देशमा गणतन्त्र आएको पनि लामो समय भइसक्यो । वि.स. २०६५ साल ज्येष्ठ १५ गते राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना भएको थियो । त्यसपछिको संविधान सभाले डा. रामवरण यादवलाई गणतन्त्रनेपालको पहिलो राष्ट्रपति घोषणा गरेको थियो । जनताको एक जना छोरा राष्ट्रपति भए पनि बाँकी करोडौं छोराछोरीको दैनिकी कठिन बनेको छ । गणतन्त्रले मात्रै जनताको जीवन सहज बनाउन सक्ने रहेनछ भन्ने देखिएको छ ।
मेरा धेरै प्रश्नहरू छन्ः के डाँडामा बनाएका भ्यू टावरले बिदेश जाने युवाहरूलाई रोजगार दिएको छ ? सडक निर्माण भएर सिंगो देशका युवाहरूलाई रोजगार मिलेको छ ? के सरकारले कृषि क्षेत्रमा युवाहरूलाई उत्साहजनक कृषि गर्ने योजनाहरू उपलब्ध गराएको छ ? धेरै प्रश्नहरू अनुत्तरित रहेका छन् ? त्यसैले मैले देशका नयाँ कर्णधारहरू बिदेश पलायन हुनुमा देशको शासन सत्ताको दोष देख्छु । शासन धेरै पटक फेरियो, सरकार सत्ता धेरै पटक फेरियो तर ब्यबस्था थोरै केही बाहेक जस्ताको त्यस्तै छ । शासन सत्ता फेरिए पनि जनताको जीवन परिवर्तन हुन धेरै समय लाग्ने देखिन्छ ।
देशका युवाहरू दिनहुँ अध्ययन र जीबन यापन गर्ने योजनाका साथ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट बिदेश लागेको देखिन्छ । यो सिलसिला अबको केही बर्षमा नरोकिए देशको अबस्था जटिल बन्दै जाने छ । अहिलेको वर्तमान अवस्थामा हामी परदेशबाट स्वदेश आउने जाने गर्दै गर्दा देशका अधिकतम जिल्लाहरीका मान्छेसँग भेटघात बिचार आदानप्रदान गर्दा गाउँमा बुढा बुढी बाबा आमा बाहेक कोही न भएका कुराहरू चलि रहेको हुन्छन् ।
हामी विदेशबाट फर्किएर गाउँमा जाँदा गाउँका हिजो मेलापात गर्दा भारी विसौनी चौतारा जंगलमा परिणत भएका भेटिन्छन, पानी भर्ने कुवाहरू भासिएर गएकाछन, बस्तु भाउ चराउने जंगल मान्छे छिर्नै नहुने भएकाछन, गाउँका स्कूलहरूमा बिद्यार्थी हरेक वर्ष घट्दै गएकाछन, हिजो गाई भैसी बाख्राहरू पाल्ने गोठ भत्किएर माटोमा परिणत भएका विषय उठ्ने गर्दछन् । हामी युवाहरू फेरि कृषि क्रान्तिका कुराहरू फेसबुकमा लेख्छौं । टिकटकमा भिडियो बनाउछौं तर वास्तविकतामा हामीले पनि ती कामहरू गर्न सकेका हुँदैनौं । काम गरेकाहरूले पनि उचित ढंगले आयआर्जन गर्न सकेका छैनन् ।
अर्कोतिर आफ्नो परिवारलाई गाउँमै बसेर आफ्नै खेत बारिमा अन्न उत्पादन गर्नु पर्छ, सहर भन्दा गाउँमा बस्नु स्वास्थ्यको लागि राम्रो हो भन्न सक्दैनौ बिडम्वनाको प्रश्न यो पनि छ । हामी विदेशमा हुनेहरूले परिवार उठाएर शहरमा ल्याएर राखेका छौं । यसले देशको सामाजिक व्यवस्थालाई भद्रगोल बनाएको छ । यता जीबनका सुन्दर सपनाहरू कुटुरो पारेर बुढा बाआमा, हुर्किंदै गरेका सन्तान, भर्खर जीबन यात्रामा जोडिएको जीवन साथी, जन्मिएको घर गाउँ, छोडेर बिरानो मुलुक जहाँ भाषा मिल्दैन, जस्को सस्कृति मिल्दैन, जहाँको हावापानी मिल्दैन, यावत बाध्यताको बी पनि जीबन चलाउन अर्को मुलुक लागेका मान्छेहरूका सुख दुःखका कथाहरू बिभिन्न छन् ।
देशको विषय आफ्नो ठाउँमा छोडेर विदेशको कुरा गरौं । रोजगारीको लागि विदेश आएका युवाहरूको जिन्दगी सोचेको जस्तै छ त ? नेपालबाट विदेशमा जाने युवाहरूले एक प्रकारले सपना देखिरहेको हुन्छ । आफ्नो जीवनलाई सुखी र समृद्ध बनाउने योजना रहेको हुन्छ । तर विदेशको वास्तविकता धेरै बेग्लै रहेको हुन्छ । बिशेष त महंगो लगानी खर्च गरेर जाने देशहरू जापान, अस्ट्रेलिया, क्यानाडा, अमेरिका, लगायतका देशहरूमा जुन एक दिने छुट्टिका सुन्दर तस्बीर सार्वजनिक सञ्जालमा सार्वजनिक गरिन्छ, ती तस्बीरभित्रको वास्तविक भोगाई निकै फरक हुन्छन् ।
कतिपय तस्बीरहरू त सुन्दर देखिनकै लागि मुस्कुराइएको हो हुन्छन् । म आफै जापानमा बस्ने भएर मेरा पनि यो खाले थुप्रै अनुभवहरू छन् । नेपालबाट अन्त्य मुलुक वा मेरो भोगाइको देश जापानमा म आउँदा करिब ९५ हजार नेपालीहरू छन् भन्ने सुनिन्थ्यो तर अहिले डेढ लाख नाघिसकेको छ । नेपाली युवाहरूको यति ठुलो संख्या जापान पस्दै गर्दा मैले माथि उल्लेख गरे अनुसार ९० प्रतिशत युवाहरूको बाध्यता हो । मुख्य त जीवन चलाउन जसरी भए पनि गास बास कपासको ब्यबस्थापनको निम्ति आर्थिक मुख्य भएको हुनाले युवाहरू जापान वा संसारका विभिन्न देशमा गएका छन् ।
सामाजिक सञ्जालहरूमा पोस्ट गरिएका सुन्दर बिकसित देशमा पुगेर हामी पनि यसरी विदेशमा रमाउन पाइन्थ्यो भन्ने मनभित्रको एउटा कुनाको सोंचाइले विदेशमा जानको लागि अझै मद्दत गरेको देखिन्छ । केही मान्छेहरू ब्यापार गर्ने योजनाका साथ पनि आएको देखिन्छ तर त्यो संख्या निकै सानो रहेको छ । केही मान्छेहरूले काम गर्दै गर्दा थोरै धेरै आर्थिक जम्मा गर्ने र होटेल खोल्ने र होटेलमा भिषा लगाएर नयाँ आउन चाहने मान्छेहरूलाई बोलाउने र उनीबाट १० लाखदेखि १५ लाखसम्म लिएको देखिन्छ । यो एक प्रकारको जापानमा आउने मान्छेले तिर्ने र ल्याउनेले वकील खर्चसम्म जोडेर पैसा लिएको देखिन्छ । यो तरिका एक प्रकारको परम्परा नै बनेको छ । विशेष विभिन्न संघ संस्था अन्तर्गत रहेर काम गर्ने मान्छेहरूले यसरी नेपाली युवाहरू ल्याउने र कमाउने गरेको देखिन्छ । जापानमा होटल र संघसंस्थाको नाममा ठूलो कमाउ धन्दा चलेको छ । यो कमाउ धन्दाले हजारौं नेपाली युवाहरूबाट ठूलो रकम असुलेका छन् । यसरी जापानमा होटल र संघसंस्थाको नामबाट मानव तस्करी भएको छ । यस्ता गैरकानूनी काममा कैयौं पार्टीका नेताकार्यकर्ता, संघसंस्थाका नेताकार्यकर्ता धेरै रहेका छन् ।
अब १५ लाखसम्म तिरेर आएका मान्छेहरू जस्ले महंगो व्याज तिर्ने सम्झौता गरेर ऋण लिएर परदेश छिरेको हुन्छ । जापान नआउँदासम्म उस्ले जत्तिको सपनाहरू मनमा सजाएर आएको हुन्छ, जापान पुग्दा बित्तिकै सबै सपनाहरू एकछिन साँच्चिकै सपनाबाट व्युँझिए झैं हुन्छ । पहिलो कुरा, उसले भाषा जानेको हुँदैन । दोश्रो अधिकतम कामदार काम जानेको हुँदैनन् । तेश्रो यहाँ हुने महंगो खर्चको बारे उसले अनुमान गरेको हुँदैन ।
जापान आएको प्रत्येक व्यक्तिले कठिन जीवनको सुरुआत गर्दछ । यहाँ आउँदा ब्याजमा लिएको ऋण, देश छोडेको चिन्ता, बाध्यताले परिवारसँग बिछोड भएको क्षण, आदिका कारण लामो समयसम्म तनावग्रस्त भएको हुन्छ । जापान आएपछि काममा लाग्नुपर्ने हुन्छ । काममा सम्झौता अनुसार तलव नपाउँदा चिन्ता थपिन्छ । अधिकतम नेपालबाट कुक भिषामा जापान आउने कामदार काम नजानेका भएको हुनाले साहुहरूले थोरै तलवमा काम गराउने चलन पनि बनेको छ । थोरै तलबले जीवन धान्न गाह्रो हुन्छ भने कमाएर जोगाउन झन् गाह्रो हुने गर्दछ ।
विद्यार्थी भीसामा आएका व्यक्तिका समस्या पनि त्यस्तै कठिन र जटिल हुने गर्दछन् । नेपालबाट कन्सल्टेन्सीहरूले दुई वटा काम गर्न पाइन्छ, दुई–तीन लाख कमाउन सकिन्छ भन्ने खालका झुट्टा आश्वासन दिएर देशमै केही गर्छु भन्ने खालको विचार पनि मोडी दिने खालका बातावरण बनाई दिएका हुन्छन् । जापानमा आएपछि तिनीहरूले भनेको भन्दा पूरै उल्टो वातावरण हुने गर्दछ । जीवन अन्धकार र कठिनाइमा धकेलिएको हुन्छ । त्यही कारण होला, हिजो आज नेपालीहरूको दिन प्रतिदिन आत्माहत्या गर्ने संख्या बढेको देखिन्छ । यी सबै समस्या उत्पन्न गर्ने पैसाको कारण देखिन्छ ।
अधिकांश व्यक्तिहरूले आएको ऋण तिर्न सुरु गरेका हुँदैन । नेपालबाट साथी संगीले आहा त्यति राम्रो देशमा छस्, पैसा टन्न कमाएको होलास्, मलाई एउटा आइफोन पठाइदे है भनेका हुन्छन् । यदि नपठाइ दिएको खण्डमा अब बिर्सिस्, ठूलो भइस् भन्ने खालका आरोप लगाउन थाल्छन् । यसले जापान आएका व्यक्तिहरूले साथीहरूको सम्बन्ध तोड्न बाध्य हुन्छन् । नेपाली युवाहरूका विदेशका कथाहरू फेसबुकमा देखिने फोटोहरू भन्दा धेरै जटिल र कठिन रहेका छन् । नेपालमा रहेका आफन्तको लागि खुशी देखाउनको लागि भए पनि समुद्री किनार, ठूलठूला बगैंचा अग्ला शिसहरूमा छुट्टीको दिनमा गएर फोटो खिचेर सामाजिक सञ्जालमा हाल्नु, टिकटक बनाउनु खुशी भन्दा पनि बाध्यताको उपज हो ।
विदेश आउनु भन्दा पहिले यहाँको वास्तविकता बुझेर, भविष्यमा आइ पर्ने कठिनाइको बारेमा विश्लेषण गरेर, आफ्नो उद्देश्य मेल खान्छ वा खाँदैन भन्ने बारेमा बुझेर आउनु राम्रो हुन्छ । सोचेको जस्तो खुशी, सुखी र कमाइ गरेकाहरूको संख्या निकै थोरै रहेको छ । अधिकांश नेपालीहरूले सामाजिक सञ्जालमा हालिने खुशीका फोटोहरू भन्दा विदेशको जिन्दगी जटिल र कठिन छ ।
















