काठमाडौँमा हुने अन्तर्राष्ट्रिय महिला गोष्ठीको तयारी तीव्र

काठमाडौँ । आगामी मङ्सिर ११ देखि १४ गतेसम्म काठमाडौँमा प्रस्तावित अन्तर्राष्ट्रिय महिला गोष्ठीको तयारी तीव्र पारिएको छ ।

२०८२ असार १ गते आइतबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय भवनको सभाकक्षमा बैठक बस्दै महिला सङ्गठनले तयारी तीव्र पारेका हुन् ।

अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले दिनुभएको जानकारीअनुसार कार्यक्रमको पहिलो दिन मङ्सिर ११ गते उद्घाटन सत्र सम्पन्न हुनेछ । कार्यक्रममा पाँच सयभन्दा बढीको सहभागिता हुने बताइएको छ ।

दोस्रो दिन मङ्सिर १२ देखि १४ गते दिउँसोसम्म गोष्ठी सम्पन्न हुनेछ । त्यस क्रममा महिला, साम्राज्यवाद, वातावरणलगायतका फरक फरक विषयमा कार्यपत्र प्रस्तुत हुनेछन् । गोष्ठीमा विश्वभरिका तीन सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

कार्यक्रममा एसिया, युरोप, अफ्रिका, दक्षिण अमेरिकासहित विश्वभरिबाट महिला सङ्गठनका प्रतिनिधिको उपस्थिति रहनेछ ।

बैठकमा अध्यक्ष पुन र पूर्व अध्यक्ष दुर्गा पौडेल, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु सी, क्रान्तिकारी महिला सङ्गठन नेपालकी सहसंयोजक शारदा महत, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय सदस्य कमला गौतम र समाजवादी महिला सङ्घकी केन्द्रीय सदस्य कमला विकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार