
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्यालेस्टाइनको समस्या नेपालमा पनि आउन सक्ने सम्भावना भएको बताउनु भएको छ । केसीले सो धारणा अमेरिकी तथा इजरायली साम्राज्यवादले प्यालेस्टाइन र इरानलगायत माथि थोपरेको युद्धको विरोध गर्दै नेपालका १२ राजनीतिक दल तथा संस्थाले जुलुससहित प्रदर्शन सम्पन्न सभालाई सम्बोधनको क्रममा राख्नुभएको हो ।
केसीले अमेरिकाले विश्वमा आफ्नो प्रभुत्व कायम गर्न विभिन्न देशमा युद्ध थोपरिरहेको दाबी गर्नुभयो । ‘साम्राज्यवाद रहेसम्म युद्ध यथावत रहिरन्छ ।’ केसीले अगाडि भन्नु भयो, ‘अमेरिकी साम्राज्यवादले सिंगो मानव समुदायमाथि नै आक्रमण गर्नुका साथसाथै विश्वभरि नरसंहार मच्याइरहेको छ।’ एहाँले साम्राज्यवादको अन्त्य नभए मानव समूदाय नै ध्वस्त हुनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।
‘या त मानव समुदायले साम्राज्यवादको अन्त गर्नुपर्छ, यदि त्यसो गरिने भने साम्राज्यवादले सिंगो मानव समुदायलाई नै ध्वस्त पार्नेछ ।’ अध्यक्ष केसीले भन्नु भयो ‘गाजामा जस्तै नेपालबाट नेपालीहरू पनि भाग्ने दिन आउन सक्छ, किनकि नेपाल र नेपालीहरू पनि साम्राज्यवादको सिकार भइरहेका छौँ ।’ वामपन्थी शक्तिले मात्रै साम्राज्यवादको विरुद्धमा लड्न सक्ने केसीले बताउनु भयो ।
देशमा वापमन्थी शक्ति एमालेले नै सरकार चलाएको तर यसबारेमा सरकार नबोलेकोप्रति केसीले आक्रोस व्यक्त गर्नुभयो । ‘इजरायलले प्यालेस्टाइनमा बर्बर अत्याचार गरिरहेको छ’ उहाँले भन्नु भयो– ‘अन्तर्राष्ट्रिय अदालतले समेत इजरायलका राष्ट्रपति बेन्जामिन नेतान्याहुलाई युद्ध अपराधी घोषणा गरेर पक्राउ आदेश जारी गरेको छ । तर, नेपाल सरकारले यसबारेमा के गरिरहेको छ ?’
अध्यक्ष केसीले साम्राज्यवादी स्वार्थसित जोडिएको कारणले नै नेपाल सरकार यसबारेमा बोल्न नसकेको दाबी गर्नुभयो ।















