काका र फुचुंग्री (भाग-२४)

फुचुंग्री :- काका  ! “गाली पुराण“ भनेको के हो र ?

काका :- नेकपा मसालका पूर्व प्रवक्ता समेत रहेका चर्चित नेता कामरेड विमल शर्माले साढे तीन वर्ष लगाएर नेकपा (मसाल) को आठौँ महाधिवेशन र त्यसको नेतृत्वको बिरुद्ध सिलसिलेवार रूपमा अहिलेसम्म सातवटा लामा लामा लेख प्रकाशित गरिसकेका छन् । त्यसमा निम्नस्तरको आरोप गाली गलौज र कुतर्क मात्रै छ । एउटा क्रान्तिकारी कम्युनिस्ट व्यक्तिले पार्टी र क्रान्तिलाई हित हुने खालको दर्शन विचार दिनको लागि लेख रचना साहित्यमा जोड दिनु पर्छ । गाली गलौज केन्द्रीत लेख लेखेर आफ्नो तल्लो स्तरको घटिया सोंचलाई उजागर गरेर टिठ लाग्दो रूपमा प्रस्तुत भएका छन् । त्यही विमल शर्माको घटिया सोंचलाई र कुतर्क भरिएको धारा प्रवाह लेखलाई “गाली पुराण” भनिएको हो ।

फुचुंग्री :- पार्टीले साधारण सदस्य समेत नरहने गरी कारबाही गरे पछि बौलाएका होलान नि ?

काका :- उनीहरूले जागरण क्लब खोलेर गुटबन्दी विद्रोह गर्न शुरु गरेपछि पार्टीले अनुशासनको दायरामा राखेर कारबाही सुरु गर्यो । एकपछि अर्को गल्ति गर्दै गए । आखिरमा पार्टी विरोधी गतिविधिमा साढे तीन वर्ष समय खेर फाले । ॅगाली पुराण’ लेखेर मार्गदर्शक बन्ने रहर अधुरै रह्यो । कार्यकर्ताले पत्याएनन् ।

फुचुंग्री :- फरक राजनैतिक धार दिन पनि सकेनन् नि हैं ?

काका :- छँदै छैन त के देखाउन, साढे तीन वर्ष लगाएर पार्टीको नाम राख्न सकेनन् । उनीहरूलाई साथ र सपोर्ट दिएका पार्टीले कारबाही गरेका मान्छेहरूलाई पनि समेटेर राख्न सकेनन् । यतिबेला आफ्नै नयाँ पार्टी कथित मसाल समन्वय समिति, राजमो समन्वय समिति गठन गरेर पनि नयाँ कार्यक्रम दिन सकेका छैनन् । केवल गाली गलौजमा केन्द्रीत ‘गाली पुराण’ लेखेर क्रान्तिकारी हुने कुरै भएन । माझीले पालेको ….. झैँ यतिबेला नघर नघाटका भएका छन् । दुःखद अन्त्यको अवस्थामा छन् ।

फुचुंग्री :- कारबाही मन नपरे पछि सार्वजनिक रूपमा भन्न लेख्न पाइदैन र काका ?

काका :- त पनि कति लाटी, मसाल पार्टीमा बुर्जुवा पार्टीमा जस्तो खुल्ला स्वतन्त्र हुँदैन । पार्टीले माथिदेखि तलसम्म लेलिनबादी संगठनात्मक संरचना बनाएको छ । को कुन स्तरमा छ, त्यही मात्रै कुरा राख्न सकिन्छ । कस्तो खालको कारबाही गरेको हो कति समयसम्मको लागि हो त्यही हिसाबले सार्वजनिक कार्यक्रममा उपस्थित हुन बोल्न पाइँदैन । म कारबाहीमा परेको छु समेत भन्न पाइँदैन । या त अरु पार्टीमा जाने अथवा नयाँ पार्टी खोल्ने विकल्प हुन्छ । यिनीहरूले त यो सामान्य नियमलाई पनि लागू गर्न सकेनन् । गुटबन्दी विद्रोह तथानाम गालि गलौजमा उत्रिए । पार्टीको नयाँ नाम पनि राख्न सकेनन् । टिठ लाग्दो अवस्था देखियो ।

फुचुंग्री :- पार्टी एकता हुनुपर्छ, मिलेर जानु पर्छ भन्ने आवाज पनि आएको छ नि कसै कसैको ।

काका :- पार्टी भित्र हुने टूटफुट विद्रोहले इमान्दार शुभचिन्तक सदस्यहरुमा चिंता हुनु स्वाभाविक नै हो । यो देखेर कतिपय भ्रममा परेर बाटो विराउँछन्। कतिपय निष्क्रिय बस्छन् । यसले पार्टीलाई ठूलो नोक्सान हुन्छ । मिलेर जानु पर्छ भन्ने कुरा नराम्रो हुँदै होइन, पार्टीमा एउटा कामरेड तयार पार्न वर्षौं लाग्छ, बर्षौं लागेर तयार भएको कामरेड जाँदा मन दुख्छ नि । पार्टीको विधि प्रक्रिया पूरा गरेर आउने सबैलाई हार्दिक स्वागत गर्नुपर्छ । यसको अर्थ अनुशासन उलंघन गर्दै जाने अझ मिलेर जानु पर्छ भन्ने कसरी हुन्छ ?

फुचुंग्री :- मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आगामी आठौँ अखिल भारत नेपाली एकता सम्मेलनको बारेमा केही छ कि ?

काका :– फुटपरस्त तत्वहरूको अवरोध बाधा अड्चनका बावजुद सम्मेलनको तयारी तीव्र गतिमा अगाडि बढिरहेको छ । टोल समिति एरिया समिति नगर समिति क्षेत्रीय समिति सबै तहमा धमाधम आठौं अखिल भारत नेपाली एकता सम्मेलन सफल पार्न प्रचारात्मक भेला बैठक समिति गठन पुनर्गठन चन्दा संकलन अभियान भइरहेका छन् । नगरबाट क्षेत्रबाट जाने प्रतिनिधि छनैट भइसकेको छ । सम्मेलनको हल बुकिङ मेशको तयारी स्वयमसेवक छनौट, कलाकार व्यवस्थापन, प्रशासनिक प्रक्रिया सबै पूरा भसकेको जानकारी महासचिवले दिइसक्नु भएकोछ ।

फुचुंग्री :- कथित जागरण क्लबका मान्छेहरूको गोरखपुर भेलाबाट बनेका कथित मूल प्रवाहका फुटपरस्त तत्वहरूले पनि अर्को आठौं सम्मेलनको घोषणा गर्ने हुन कि कसो हो काका ?

काका :- उफ ! के के सोध्छे यो फुचुंग्री पनि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार