फूचुंग्री :– के हो काका ? हिजो आज त प्रचण्डको मुखमा कालो कालो निलो हरियो रंग देखिएको छ नि !
काका :– ओलीको भूतले सताएको छ । ओली प्रधानमन्त्री हुने डरले एमसीसी टेबुल गरेको रे । पहिलै पेस्की हजम गरिसकेका छन् त रंग फेरिने भयो, बोली फेरिने भयो, मरिने डरले सताएको छ ।
फूचुंग्री :– देउवा त एमसीसी पक्षधर पो देखिए नि हैं काका ?
काका :– त पनि कति लाटी ! कांग्रेस कहिलै देश र जनताको हितमा काम गरेको छ र ? राष्ट्रियताको सवालमा सधैं गद्दारी गरेको छ । यदि नेपाली कांग्रेसले चाहन्थ्यो भने प्रजातन्त्र आएपछि देशको मुहार फेर्न सक्थ्यो, आज विश्वको विकसित मुलुकको लिस्टमा नेपाल गनिन्थ्यो ।
फूचुंग्री :– राजमोको नीति त एमसीसी टेबुल गर्नै हुन्न भन्ने देखियो नि ?
काका :– जनताले यतिबेला राजमोलाई राम्ररी चिन्ने मौका पाए । एकलै भएपनि देश र जनताको हितमा पार्टी र क्रान्तिको लागि सम्झौताहीन संघर्ष गर्दै आएको छ । राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा आन्दोलनको नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । संघीयता खारेज हुनै पर्छ भनेको छ । यतिबेला जनताको मन मुटुमा राजमो बसेको छ । पार्टीले जनतालाई समेटेर देशको नम्बर एक विशाल पार्टी बनाउन सक्नु पर्छ ।
फूचुंग्री :– मसालबाट साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएका फुटपरस्त तत्वहरू त ‘राजा आउ, देश बचाउ’ को मोर्चाबन्दीमा पो सामेल भएछन् त ?
काका :– हुनु नै त्यही थियो, नीति सिद्धान्त विचार आफ्नो नभए पछि के गरून् । प्रतिगमन विरुद्धको मोर्चाबन्दी गठबन्धनमा पार्टीलाई कांग्रेसको पुच्छर भनेर आरोप लगाउने अराजतावादीहरु अब आफूले आफैलाई राजावादी घोषणा गर्ने होलान् ।
फुचुंग्री :– मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौँ अखिल भारत नेपाली एकता सम्मेलनमा म पनि जाने भए नि काका ।
काका :– मेरो पनि टिकट आइसकेको छ लाटी । मैंले त आज जाने एउटा झोला पनि किनिसके ।
फुचुंग्री :– म त पहिलो पटक यति ठूलो राष्ट्रियस्तरको कार्यक्रममा जाँदैछु, डरडर जस्तो पनि लाइरको छ, कस्तो के के होला भन्ने खुल्दुली पनि छ, एकप्रकारले मनमा हलचल पैदा भएको छ ।
काका :– ए लाटी ¤ त्यहाँ त भारतभरिका मान्छे आउछन्, प्रतिनिधि, पर्यबेक्षक, आमन्त्रित दर्शक, कलाकार, अतिथि हुन्छन् । मेश चलिरहेको हुन्छ, नुहाउने खाने बन्दसत्र हलमा प्रवेश सबैतिर लाइन हुन्छ । फोटो खिच्ने सेल्फी लिने भिडियो बनाउने लाइभ दिने माहौल नै अर्कै हुन्छ । पहिलाका सम्मेलनमा क्षेत्र वाइज अलग अलग बस्ने व्यवस्था गरिएको थियो । कुनै कसैलाई भेटु भेटु लाग्यो भने ईन्चार्जको अनुमति माग्नु पथ्र्यो । अनुशासन कायम राख्न इन्चार्जको भूमिका ठूलो हुन्छ । तिमी पनि इन्चार्जको अनुमति बिना बाहिर ननिस्कनु ल ।
फूचुंग्री :– ल ल हुन्छ । म पनि धेरै कुरा सिक्न पाउने भए, कथित जागरण क्लबका मान्छेहरूको गोरखपुरको टीमले यत्ति पनि सिकेका रहेनछन्, संगठनको नाम र लोगो दुरुपयोग गरेर पिकनिक गर्दै पैसा उडाएका छन् है काका ?
काका :– उफ ! के के सोध्छे यो फुचुंग्री पनि !