काठमाडौं । संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय टोली औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुगेको छ ।
शुक्रबार साँझ काठमाडौं ओर्लिएको अमेरिकी संसदीय टोलीलाई परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखा प्रमुख निर्मल राज काफ्ले र नेपालस्थित अमेरिकी राजदूत र्यान्डी बेरीले त्रिभुवन विमानस्थलमा स्वागत गर्नुभयो ।
अमेरिकाको माथिल्लो सदन सिनेटकी सदस्य किस्र्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र तल्लो सदन प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७ औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) यहाँ आएका हुन् ।
काठमाडौस्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटी विभिन्न विषयमा छलफल गर्नेछ ।
अमेरिकी संसदीय टोलीले भोली शनिबार प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग बेग्ला बेग्लै भेट्ने कार्यक्रम छ ।
यही हप्ता अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठ मनाउन लागिएको जनाउँदै दूतावासले संसदीय टोलीको भ्रमणलाई दुई देशबीचको जारी दौत्य साझेदारीको एक हिस्सा रहेको जनाएको छ ।
संसदीय टोलीले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको थप प्रभाव बुझ्न शनिबार दिउँसो एक पदयात्रामा भाग लिने योजना बनाएको दूतावासले जनाएको छ । तर उनीहरु कुन क्षेत्रको पदयात्रामा जान्छन् भन्ने दूतावासले खुलाएको छैन ।
अमेरिकी संसदीय टोली पोल्याण्ड र भारत लगायतका देशहरूको लामो भ्रमणको सिलसिलामा नेपाल आएको हो ।