फुचुंग्री :– अस्ति त प्रचण्ड काका जनकपुर पुगेछन् के को खुशि थियो कुन्नी ?
काकाः- तपाईंहरूका यूपी-बिहार तिरका आफन्ती कोही छन् भने सबैलाई बोलाउनुस् र नागरिकता बनाउनुस् मैले नागरिकता विधेयक पास गरिसकें यसपाली भोट हामीलाई नै दिनुहोला भन्न गएका होलान् ।
फुचुंग्री :- देशलाई फिजीकरण गर्न यति हतार हैं ? नक्कली कम्युनिस्ट नेतालाई नि ?
काकाः– यति कुरामा त डाक्टर बाउराममा इमान्दारिता देखियो, उनले म कम्युनिस्ट होइन, प्रचण्ड कम्युनिस्ट होइनन, वैद्य र विप्लव पनि कम्युनिस्ट होइनन, समाजवादी नाम राखेर पार्टी एकता गरौँ भनिसके । यिनीहरू एनजिओ/आई एनजिओका दलाल हुन् । विदेशी जासुसका खेलौना हुन् । राष्ट्र र राष्ट्रियता, देश र जनताको हितमा यिनीहरू बोल्दैनन् । राष्ट्रघाती नागरिकता विधेयकको विरोध भएको छ सबै तिर ।
फुचुंग्री :- के छ र त्यस्तो त्यो नागरिकता विधेयकमा काका ?
काका :- विवाह गरेर आएकी विदेशी महिलालाई एउटा हातमा सिन्दुर, अर्को हातमा नागरिकता दिने प्राबधान छ र त्योबाट जन्मेको बच्चालाई वंशजको नागरिकता दिने प्राबधान छ । यसले यूपी-बिहारबाट आएका सबैले नागरिकता पाउनेछन् र उनीहरुबाट जन्मीएको बच्चाले सिधै वंशजको नागरिकता पाउने छ । यसैपनि पाँच सय रुपैयाँदेखि पचास हजारसम्ममा नागरिकता बेचिएको चर्चा आइसकेको छ । यसले बाहिरी मान्छेहरुको बहुमत हुनेछ र नेपालमा नेपाली अल्पमतमा पर्नेछन् ।
फुचुंग्री :- नागरिकता विधेयक एकदमै गम्भीर विषय पो रहेछ नि काका ?
काकाः– हो यो राष्ट्रघाती नागरिकता विधेयकको देशभरि र अन्तर्राष्ट्रिय स्तरमा विरोध भएको छ, नेपालमा राष्ट्रिय जनमोर्चा र नेकपा (मसाल)ले विरोधको नेतृत्व गरेका छन् । भारतमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले मात्रै राष्ट्रियता, जनतन्त्र एवं जनजिवीकासँग जोडिएका विषयमा लगातार आवाज उठाउँदै आएको छ ।
फुचुंग्री :- राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा सधैं अग्रपंतिमा देखिदै आएको छ है ? अरु राष्ट्रियताप्रति सम्वेदन नबने कै होत काका ?
काका :– हो । नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चाले राष्ट्रियता जनतन्त्र जनजीविकाको सवालमा सधैं सम्झौताहीन संघर्ष गर्दै आएको छ । चाहे त्यो संघीयताको विषयमा होस्, एमसीसीको विरोध होस् वा चाहे त्यो नागरिकता विधेयकको बिरुद्धमा होस् । जनताको बीचमा जनताको हितमा आवाज बुलन्द गर्ने काम गरेको छ । नेपाल जोगाउने संघर्षमा पार्टी (मसाल) मात्रै देखिएको छ।
फुचुंग्री :- कथित जागरण क्लवका मान्छेहरूको विशेष महाधिवेशन मोहविक्रमलाई गाली गरेर हुने भएछ नि हैं काका ?
काका :- उफ ! के के सोध्छे यो फुचुंग्री पनि !
(विविध कारणले गर्दा काका र फुचुंग्री निरन्तर रूपमा दिन सकेको थिएन अब प्रत्येक हप्ता दिने प्रयत्न गर्ने छु। कोटफुर्से)