काठमाडौं । चीनले ताइवान वरपर क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरे लगत्तै चीनले ताइवान टापु वरपर क्षेप्यास्त्र प्रहार गरेको हो ।
बीबीसीका अनुसार ताइवानले आफ्नो भूमि वरपर चीनले अहिलेसम्म ११ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको जनाएको छ।
चीनले ताइवानको उत्तरपूर्वी र दक्षिणपश्चिमी तटहरू वरपरको समुद्रमा थुप्रै डङ्फेङ् बलिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको बताइएको छ।
चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको ताइवानमा पलोसीको भ्रमणलाई सार्वभौमसत्तामाथिको चुनौती ठानेको छ।
यता, चीनले प्रहार गरेका पाँचवटा क्षेप्यास्त्र आफ्नो विशेष आर्थिक क्षेत्रमा अवतरण गरेको जापानले जनाएको छ।
जापानका रक्षामन्त्री नबुओ किशीले कूटनीतिक च्यानलमार्फत कडा रूपमा त्यसको प्रतिवाद गरेको बताए।
चीनको चेतावनीविरुद्ध अमेरिकी सभामुख पेलोसीले ताइवानको छोटो तर विवादास्पद भ्रमण गरेकी थिइन् । ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्छ।
सोही भ्रमणको मुख्य प्रतिक्रिया स्वरूप बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो।
सन् १९४० को दशकको गृहयुद्धमा चीन र ताइवान अलग भएका थिए। तर चीनले ताइवानलाई आफूसँग छुट्टिएको एक प्रान्त भएको र आवश्यक परे शक्ति प्रयोग गरेर भए पनि गाभ्नुपर्ने बताउँदै आएको छ।
ताइवानको आफ्नो संविधान, प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित नेता र कूल तीन लाख सैनिक छन्।
ताइवानलाई थोरै देशले मात्रै मान्यता दिएका छन्। अमेरिकाको ताइवानसँग आधिकारिक दौत्य सम्बन्ध राखेको छैन तर टापु राष्ट्रलाई आफ्नो रक्षा गर्न साधन प्रदान गर्ने कानुन पारित गरेको छ।