हेम बिजी,
चिदम्बरम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चिदम्बरम नगर सदस्य अशोक कुमार विकलाई सम्मानका साथ बिदाइ गरिएको छ । मूल प्रवाह चिदम्बरम नगर समितिले एक कार्यक्रमको आयोजनामा गरी विकलाई स्वदेश बिदाइ गरेको हो ।
कार्यक्रममा विकले संगठनमा खेलेको भूमिका र दिएको योगदानको कदर गर्दै दोसल्ला तथा अबिर लगाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा सम्मानित व्यक्तित्व अशोक कुमारलाई नगर उपाध्यक्ष सूर्यमान गिरीले माला लगाएर सम्मान गर्नु भएको कार्यक्रममा केन्द्रीय समितिबाट बालाकृष्ण गायक, क्षेत्रीय समितिबाट डिल्ली प्रसाद शर्मा, नगर समितिबाट गोकूल बहादुर गायक, हेम बहादुर गन्धर्वले दोसल्ला ओढाएर तथा अबिर लगाएर सम्मान गर्नु भएको थियो भने सँगै कम्पनीमा कार्यरत कृष्ण प्रसाद शर्मा र नर बहादुर जिसीलगायत उपस्थित नेपाली समुदायले पनि सम्मान गर्नु भएको थियो ।
केन्द्रीय सदस्य बालाकृष्ण गायकले भन्नुभयो, ‘अशोक कुमार विक जुझारु, सक्रिय र इमान्दार कार्यकर्ता हुनु हुन्छ। सन् १९९१ देखि मूल प्रवाहको सदस्य बनेर सन् १९९४ देखि यस चिदम्बरम नगर समितिमा आवद्ध हुँदै निरन्तर संगठनमा काम गर्दै आउनु भएको छ। साथै लामो समय नगर समितिमा सहसचिव पदमा रहेर संगठानिक जिम्मेवारी पूरा गर्नु भएको छ ।’
उहाँले विकको आगामी स्वदेशी जीवन अझै नेपाली जनताको पक्षमा अघि बढोस् साथै व्यक्तगत जीवन पनि सुख र समृद्धि बनोस् भन्दै शुभकामना दिनुभयो । यस्तै, क्षेत्रीय सदस्य डिल्ली प्रसाद शर्मा, महिला विभागबाट खेम कुमारी जिसी र कृष्णा प्रसाद शर्माले पनि शुभकामना दिनुभएको थियो ।
कार्यक्रमका सम्मानित व्यक्तित्व अशोक कुमार विकले आफ्नो मन्तव्य राख्दै भन्नुभयो, ‘आफ्नै दाजुभाइ जस्तै साथीहरु, विश्वविद्यालय जस्तै मूल प्रवाह र पुस्तक जस्तै पढेर सिक्न पाइने संगठनका नीति, नियम, र ज्ञान यी सबैबाट टाढा हुनु पर्दा मनमा निकै दुःख लागेको छ । तर पनि मेरो भव्य बिदाइ तथा सम्मान समारोह कार्यक्रम आयोजना गर्नु भएकोमा म निकै खुसी भएको छु । आजसम्म मूल प्रवाहमा रहेर मैले सिकेको ज्ञान, अनुभव र अध्ययनलाई नेपालको अग्रगामी आन्दोलन र परिवर्तनको लक्ष्यमा सरिक बनेर सघाउने विश्वास दिलाउन चाहन्छु ।’
नगर उपाध्यक्ष गिरीको अध्यक्षता, गोकुल बहादुर गायकको सञ्चालन र हेम बिजीले स्वागत गर्नु भएको थियो ।
एमआरके सुगर मिल्स सेतियातोपमा कार्यरत विकको स्वदेश घर बागलुङको जैमनी नगरपालिका–९ बिजुवा हो ।