काठमाडौँ । नेकपा (मसाल) ले सरकारले कतिपय जघन्य अपराधका कसुरदारलाई माफी दिएकोमा त्यसलाई गलत बताएको छ ।
प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० असोज १२ गते जारी प्रेसवक्तव्यमार्फत् पार्टीले सो ठहर गरेको हो ।
पार्टीका अनुसार सरकारको यस खालको निर्णयले समाजमा आपराधिक क्रियाकलापको सिलसिला चलिरहने सम्भावनाप्रति ध्यानाकर्षण पनि गराएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“सरकारले कतिपय जघन्य अपराधका कसुरदार अभियुक्तलाई समेत माफी दिएको छ । उक्त कार्यबाट अपराधीको मनोबल उच्च बन्न जाने र सर्वसाधारण जनता त्रसित बन्ने अवस्था सिर्जना हुने छ । कानुनी राज्यको उपहास हुने गरी जघन्य अपराधका अभियुक्तलाई त्यस प्रकारले गरिने माफीलाई हाम्रो पार्टीले गलत मान्दछ र त्यस प्रकारको कार्यको विरोध गर्दछ । जघन्य अपराधका कसुरदारलाई माफी मिनाहा गर्दा त्यस प्रकारका आपराधिक क्रियाकलापको सिलसिला चलिरहने सम्भावनाप्रति पनि हामीले सरकारको गम्भीर ध्यान आकर्षित गर्दछौँ ।”