
काठमाडौँ । बाँस काट्न जाँदा लडेर घाइते हुनुभएका दाङका दिनेश केसीको उपचारार्थ पाँच लाख २४ हजार एक सय १३ रुपियाँ सहयोग गरिएको छ ।
अन्तर्राष्ट्रिय नेपाली एकता समाजका केन्द्रीय सदस्य देवेन थापाको पहल सो रकम सङ्कलन गरी पीडितलाई बुझाइएको हो ।
एक सय ९९ जनाभन्दा बढी व्यक्तिबाट उठाएको उक्त रकम पीडितका आफन्त गौतम केसीको भारत चन्डिगढस्थित एच.डी.एफ.सी. बैङ्क खातामा पठाइएको थापाले जानकारी दिनुभयो ।
दाङ बङ्गलाचुली गाउँपालिका वडा नम्बर ६ का केसीको ढाड भाँचिएपछि निजको सहयोगका लागि रकम उठाइएको थियो । उहाँको उपचार भारतको नयाँदिल्लीमा भइरहेको छ ।
यही २०८० असोज २६ गते (अक्टोबर १०) शुक्रबारदेखि सहयोग सङ्कलन गर्न बन्द गरिएको समाजका केन्द्रीय सदस्थ थापाले बताउनुभयो ।
‘उहाँको उपचार गर्नका लागि धेरै रकम लाग्न सक्ने र सो रकम परिवारलाई जुटाउन धेरै गाह्रो हुने भएकाले दिनेशका बुबा देबिराम केसीको अनुरोधमा हामीले आर्थिक सहयोग सङ्कलन गर्न देशविदेशमा रहनुभएका दाङ जिला बङ्गलाचुलीका सबै इष्टमित्रसंग आह्वान गरेका थियौँ’ थापाले भन्नुभयो– “आजको अक्टोबर १०, २०२३ देखि उक्त अभियान बन्द गरेका छौँ ।’
उहाँले उपचारका लागि आर्थिक सहयोग सङ्कलन गरी सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।















