
नयाँ दिल्ली 27 अगस्त 2025, सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) प्रति मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
केन्द्रीय अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा २०८२ भदौ ११ गते बुधबार उहाँको स्मृतिदिवस पारेर प्रेसवक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरिएको हो ।
सहिद सरोज शर्माको २०४२ भदौ ११ गते तदनुसार अगस्त २७, १९८५ का दिन दिल्लीको बेलारोडमा पत्रिका विक्री गर्न जाने क्रममा मृत्यु भएको थियो । उहाँ त्यति बेला “नेपाली एकता” पत्रिकाको सहसम्पादक हुनुहुन्थ्यो ।
नेकपा (मसाल), मूल प्रवाह र त्यससम्बद्ध जनवर्गीय सङ्गठनले उहाँलाई सहिद मान्दै आएका छन् । सोही क्रममा प्रत्येक वर्ष भदौ ११ गते सहिद सरोज शर्माको स्मृतिदिवस मनाउने गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
आज भदौ ११ गते सहिद सरोज शर्मा (शोभाखर धनञ्जय) को उन्चालिसौँ स्मृतिदिवस । हामी उहाँलाई स्मरण गर्दै उहाँले देखाएको बाटोमा अगाडि बढ्ने प्रतिबद्धता दोहराउन गइरहेका छाँ ।
आजभन्दा ३८ वर्षपहिले २०४२ भदौ ११ गते तदानुसार अगस्त २७, १९८५ का दिन तत्कालीन तानाशाही पञ्चायती व्यवस्थाका भरौटेको इसारामा दिल्लीमा सरोज शर्माको हत्या भएको थियो । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको मासिक बुलेटिन “नेपाली एकता” को सहसम्पादकको भूमिकामा रही प्रवासी नेपालीमा चेतना जगाउने काम गरिरहनु भएको थियो । सरोज शर्मा दिल्लीको बेलारोडस्थित नेपाली मन्दिरमा कृष्णजन्माष्टमीको अवसरमा आयोजित तिजको कार्यक्रममा “नेपाली एकता” पत्रिका वितरण गर्ने र समाचार सङ्कलन गर्ने कामले जानुभएको थियो । त्यसपछि उहाँ कहिल्लै फर्किनुभएन । उहाँको हत्या भएको रहेछ । खोजतलास गर्दै गर्दा दैनिक पत्रिकामा प्रकाशित लावारिस लाससम्बन्धी सूचनामार्फत प्राप्त जानकारीको आधारमा उहाँ निधन भएको पुष्टि भयो ।
उहाँको कसैसंग कुनै व्यक्तिगत शत्रुता कसैसँग थिएन । शत्रु थियो त निरङ्कुश राजतन्त्र र उसको तानाशाही पञ्चायती व्यवस्थासित । उहाँ नेपालमा छँदा “हाँक” साप्ताहिक पत्रिका सञ्चालन गरेर सामन्ती प्रतिक्रियावादीलाई च्यालेन्ज गरिरहनु भएको थियो । त्यही समयमा २०४२ सालमा बमकाण्ड घट्यो । प्रतिक्रियावादी सरकारले उहाँलाई त्यसमा आरोपी बनाएको हुँदा भूमिगत भई भारतमा आएर जनतामा मुक्तिका लागि चेतना फैलाउने काममा लाग्नुभयो ।
उहाँ सङ्गठनको जुझारु, अनुशासित, कर्तव्यनिष्ठ र दृढनिश्चयी, कर्मठ, सैद्धान्तिक रूपमा प्रष्ट र क्रान्तिकारी आन्दोलनप्रति समर्पित सदस्य हुनुहन्थ्यो । जनताको हकहितका साथै जनताका मुक्तिको लागि सहादत भएको समयमा पनि उहाँले इतिहासले “सुम्पेको जिम्मेवारी या इतिहासले गरेको मजाक” नामक कृतिको सम्पादन गर्ने काम गरिरहनु भएको थियो ।
हाम्रो सङ्गठनले स्थापनाकालदेखि नै कैयौँ आरोहअवरोह झेल्दै क्रान्तिकारी अभिभारा पूरा गर्दै आएको छ । श्रमजीवी वर्गको विचारको रक्षा र विस्तारको प्रश्न नै हाम्रो सङ्गठनको वर्तमानको मुख्य अभिभारा हो । हामीले सही कार्यदिशा निश्चित गरी देश तथा प्रवासमा रहने श्रमजीवी नेपालीको बिचमा महत्त्वपूर्ण भूमिका खेल्दै क्रान्तिकारी विचारको रक्षा गर्न सक्नेछौँ ।
हामी दृढतापूर्वक भन्दछौँ कि सबै खालका भड्कावबाट सङ्गठनको रक्षा गर्न हाम्राअगाडि आउने सबै चुनौतीको सामना गर्न हामी तयार छौँ र रहिरहनेछौं । हाम्रो महान् र निरन्तर क्रान्ति अभियानमा क. सरोज शर्माका सपना सर्वदा जीवित रहनुहुनेछ र उहाँको योगदानलाई सदा स्मरण गरिनेछ ।
सङ्गठनको जिम्मेवारी पूरा गर्ने क्रममा उहाँको मृत्यु भएको थियो र त्यसरी सङ्गठनले उहाँलाई सहिद मान्दै आएको छ । आज उहाँको स्मृतिदिवस हो । हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।















