
काठमाडौँ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आफ्नो स्थापनाको छियालिसौं स्थापना दिवस पारेर आगामी नोभेम्बर ७, २०२५ का दिन केन्द्रीयस्तरका अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
अध्यक्ष प्रेम पौडेलको हस्ताक्षरमा सेप्टेम्बर १२, २०२५ (भदौ २७ गते) प्रेसविज्ञप्ति जारी गर्दै सो जानकारी दिइएको हो ।
आठौँ राष्ट्रिय सम्मेलनपछि गठित केन्द्रीय समितिको दशौँ बैठक गत सेप्टेम्बर ७ का दिन बसेकाले सोका निर्णयबारे जानकारी दिन प्रेसवक्तव्य जारी गरिएको अध्यक्ष पौडेलले जनाउनुभएको छ ।
प्रेसविज्ञप्तिमा केन्द्रीय कोषाध्यक्ष मदन शर्मा स्वदेश फर्केकोमा उहाँप्रति धन्यवाद ज्ञापन गरिएको छ । यसरी रिक्त हुन आएको केन्द्रीय समितिको कोषाध्यक्षमा चन्द्रकान्त शर्मा तथा रिक्त सचिव पदमा शालिकराम आचार्यलाई नियुक्त गरिएको उल्लेख छ ।
विज्ञप्तिमा नवौँ राष्ट्रिय सम्मेलनको तयारीका लागि राष्ट्रिय भेला गर्ने रहेको जानकारी दिइएको छ ।
आधारकार्डका लागि लगातार आवाज उठाउने बताउँदै वक्तव्यमा नेपालीको दोहोरो नागरिकताप्रति मूल प्रवाह प्रष्ट रहेको उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्तिमा काठमाडौँमा हुन गइरहेको अन्तर्राष्ट्रिय महिला गोष्ठीलाई सहयोग तथा विदेशस्थित नेपालीको मताधिकार र प्रतिनिधित्वको विषयमा सचेतना फैलाउने निर्णय गरिएको बताइएको छ ।

















