फुचुंग्री : काका ! चितवनमा गर्मी छ कि जाडो ?
काका : हिजो अस्तिसम्म त होटल व्यवसाय तातिएर गर्मी थियो । समोसामा आलु नहाले पनि बिकेकै थियो । भनिन्छ चितवनमा एमालेको दशौं महाधिवेशन र बिद्रोही जागरण क्लबको राष्ट्रिय भेला थियो । आज त सबै घर घर पुगे । ठण्डी जाडो छ ।
फुचुंग्री : एमालेको दशौं महाधिवेशनमा अध्यक्ष उमेद्वार भीम रावल हारे पछि केन्द्रीय समिति मैं छैन भन्दै काठमाडौं पुगेर बोल्छु, अहिले के बोल्ने भनेर सोच्दैछु भनेछन् त ।
काका : त पनि कति लाटी हो क्या, वली रावल एउटै ड्याङका मुला हुन् । जसले जिते हारे पनि फरक पर्दैन । त्यो त एमालेको आन्तरिक मामिला हो । उनीहरू कम्युनिस्टको खोल ओढेका नक्कली कम्युनिस्ट हुन् । बाघको छाला ओढेका श्याल हुन् । उनीहरूसँग आमूल परिवर्तन गर्ने नौलो जनवादी क्रान्तिको कार्यक्रम छैन ।
फुचुंग्री : फुटपरस्त जागरण क्लबका मान्छेहरूले त नेकपा मसाल कै ब्यानरमा राष्ट्रिय भेला गरेछन्, नामको कारणले आफ्नोपन महसुस हुन्छ कि ?
काका : तिमीलाई विगत तिर लैजान्छु, ध्यान देऊ, मोटो मसाल र पातलो मसाल हुँदा एउटा साथीसँग भेट भयो । मलाई पातलो मसाल भनेर चिन्दो रहेछ उ मोटो मसाल रहेछ । कुरोको सुरुवात राम्रै भयो केही छैन हामी मसाल त हो नि पातलो मोटो जे भए पनि भन्यो । दुई चार दिन मेरैमा भात हसुर्या । पछि म बाबुराम पक्षको हुम भन्यो सिधै जनता समाजवादी पार्टीमा पुग्यो उसले कम्युनिस्ट पार्टी भन्दा पनि बाबुरामको साथ दियो । किनकी बाबुराम कम्युनिस्ट थिएनन् उ पनि कम्युनिस्ट बनिरहन सकेन । दुई चार दिन भात खान जिउ पाल्न कम्युनिस्ट बनेका नक्कली कम्युनिस्टहरुले नाम उस्तैउस्तै राख्छन् । जागरण क्लबका मान्छेहरूको नियतमा खोट छ । विधि विधान प्रक्रिया मान्दैनन् । अल्पमतको लाइन पास गर्ने कुरा गर्छन् । बहुमतले पास गरेको नीति निर्णयलाई दक्षिणपन्थी भन्छन् । कांग्रेस सहितको प्रतिगमन इतर गठबंधनलाई कांग्रेसको पुच्छर भएको देख्छन् । के यिनीहरूलाई थाहाँ छैन र दुस्मनसँग पनि विशेष परिस्थितिमा संघर्ष एकता संघर्षको नीति अन्तर्गत कार्यक्रम तालमेल संयुक्त मोर्चा गठबन्धन हुने गर्छ । विरोधको लागि विरोध मात्र गर्नेहरूसँग के को आफ्नोपन ?
फुचुंग्री : अस्ति बुटवलमा पत्रकार सम्मेलन पार्टीकै ब्यानरमा गरेर सरकारी मसाललाई एक महिनाको अल्टिमेटम दिएका छन् रे त, के हो काका यस्तो ?
काका : पहिला कुरा त मसालको नाम राख्ने अधिकार छैन तिनीहरूलाई । अर्को कुरा आफूले आफैलाई क्रान्तिकारी भन्छन् । सबै विधि पद्धति प्रक्रिया पूरा गरेर आफै सामेल भएको महाधिबेसनको विरोध गर्छन् र दक्षिणपन्थी भन्छन् । दक्षिणपन्थी र क्रान्तिकारी कसरी एकै ठाउँमा अटाउन सक्ने ? के को लागि अल्टिमेटम ? यसको अर्थ यो हो कि उनीहरूले लगाएको दक्षिणपन्थी आरोप झुट हो । पार्टी अझै क्रान्तिकारी मान्छन् । आफ्नो गल्ति ढाकछोप गर्न आवेशमा आक्रोश पोख्न उल्टी गरेको मात्र हो । अर्थात विधिवत रूपमा अलग हुने औपचारिकता पूरा गर्दैछन् वा सम्मानजनक आत्मसमर्पण खोजेका छन् भन्ने चर्चा चलेको छ बजारमा ।
फुचुंग्री : मसालले क्रान्ति गरेन गर्न दिएन भनेर हल्ला गर्न सजिलो थियो, अब आफै गरेर देखाउने होलान, सुरु कहाँबाट गर्लान् काका ?
काका : उफ ! के के सोध्छे यो फुचुंग्री पनि ।