मूल प्रवाहको अखिल भारत सम्मेलन सफल पार्न मध्यदक्षिण क्षेत्रमा भेला

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय सम्मेलन सफल पार्नको लागि मध्यदक्षिण क्षेत्रीय भेला सम्पन्न भएको छ ।

भेलाको उद्घाटन गर्दै एकता समाजका केन्द्रीय उपाध्यक्ष प्रेम पौडेलले आठौं राष्ट्रिय सम्मेलन सफल पार्नकोे लागि मूल प्रवाहका सम्पूर्ण नेता तथा कार्यकर्ताहरु उत्साहाजनक रुपमा लाग्नु पर्ने र सबैले आ–आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नु भयो ।

उहाँले संगठनभित्र फुट पार्ने गरेका स्वघोषित क्रान्तिकारीप्रति कटाक्ष गर्दै भन्नुभयो, ‘संगठनलाई दक्षिणपन्थी देखाउनेहरु घोषणा गरेर प्रतिकृयावादी दिामा लागेका शक्तिसँग शिर निहुराई आशीर्वाद ग्रहण गर्न थालेका छन् । यो भनेको उनीहरुको विचारको सौदाबाजी त हो नै कथित क्रान्तिकारी मुखौटो झन् उदाङ्गिएको परिणाम पनि हो ।’

उहाँले थप्नुभयो, ‘हिजो पार्टीले दक्षिणपन्थी बाटो समात्यो, चुनाव मात्रै उपयोग गर्ने नीति ल्यायो, रणनीतिक एजेण्डा ल्याउन सकेन भनेर बजारमा हल्ला गर्दै हिँड्नेहरूको राजनैतिक चिन्तन, विचार, राजनीति तथा योजना कस्तो रहेछ भन्ने कुरा पनि आमरूपमा देखिएको छ । यो संयोग मात्र होइन उनीहरूको नियति नै यही हो ।’

उहाँले अन्तरसंघर्ष चलाउने नाममा पार्टीमा फुट र विभाजन गर्ने उद्देश्यले मतभेदको डंका पिटेको आरोप पनि लगाउनु भयो ।

कार्यक्रममा मूल प्रवाहका कन्द्रीय सदस्य फूलबिना पौडेल, भिमबहादुर थापा, केन्द्रीय प्रतिनीधि रतन सिंहको पनि आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव तिलक राना, अध्यक्षता क्षेत्रीय अध्यक्ष रामचन्द्र पौडेल तथा स्वागत कोषाध्यक्ष घनश्याम शर्माले गर्नुभएको थियो ।

भेलाले राष्ट्रिय सम्मेलन सफल पार्नको लागि क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेलको संयोजकत्वमा २६९ सदस्यीय प्रचार प्रसार उप समिति गठन गरेको छ । उक्त भेलालाई गोमा राना र लालबहादुर थापाले शुभकामना सहित धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार