फुचुंग्री :– काका ! युक्रेनले त रुसमा घुसेर मिसाइल ठोकेछ नि, रुसको एर डिफेन्स सिस्टम फैल भाको हो कि ?
काका :– रुसले सोंचे कै थिएन होला, यूक्रेनले आफ्नो देशमा घुसेर मिसाईल हमला गर्छ भन्ने, त्यो रूपमा एर डिफेन्स सिस्टम चुकेको हुनु पर्छ । तेस्रो विश्व युद्धको घण्टी बज्यो अब भन्दा हुन्छ ।
फुचुंग्री :– युक्रेन माथि रुसले यत्रो विधि तहसनहस हुने गरि हमला गर्नुपर्ने कारण बुझिनँ काका ?
काका :- अहिले विश्व भूमण्डलीकरणको युगमा साम्राज्यवाद हावी छ । कुनै पनि साम्राज्यवादी देशहरुले छिमेकी मुलुकलाई कसरी कुन नियतले सहयोग गर्ने रहेछन् भन्ने कुरा छर्लङ्ग भएको छ । अमेरिकी साम्राज्यवादको हितमा युक्रेन उभिँदा रुसी साम्राज्यबादले हमला गर्यो, मुलुक पुरै धोस्त बनाइदियो । अझै हमला रोकिएको छैन, दुइटा साम्राज्यबादी देशको चपेटामा युक्रेन बर्बाद भयो । नामोनिसान मेटिने खतरा छ। त्यसै पनि युक्रेन सयौं वर्ष पछाडि परिसक्यो, ठूलो धनजनको क्षति भइसक्यो ।
फुचुंग्री :– नेपालमा पनि अमेरिकाले खुट्टा छिरायो नि एमसीसी घुसाएर ?
काका :- भोलि नेपाललाई पनि युक्रेन जस्तै धोस्त पार्ने योजनाले नेपाल छिरेको बताउँछन् जानिफकार, उता तिब्बत र ताइवान हडप्ने चीन चुप लागेर बस्ने छैन । एमसीसी घातक छ, भन्ने जनताको आवाजलाई सत्ताधारी दलहरुले बुझेनन् । एमसीसीको घातक मूल्य चुकाउनु पर्ने छ, नेपाललाई ।
फुचुंग्री :- एमसीसी कै पैसाले चुनाव लड्दै छन् सत्ताधारी दलहरु ?
काका :- यिनीहरू पहिलै विकिसकेका छन् भन्ने थाहा भइसक्यो । देश र जनतासँग गद्दारी गर्ने यि दलहरु काँग्रेस एमाले एमाओवादी, यस समाजवादी फेरि लाज सरम नमानि भोट माग्न जाँदैछन्, कतिपयलाई त जुत्ताको माला र कालोमोसो दलेर भगाएका खबर पनि आएका छन् । यस्तै देशै भरिका जनता जागरुक हुनसके एमसीसी खारेज गर्न सकिन्छ र नेपाललाई साम्राज्यबादी क्रिडास्थल हुनबाट रोक्न जोगाउन सकिन्छ ।
फुचुंग्री :- देश संकटको भुमरीमा फसिसकेको छ, के भाको हो ति जागरण क्लबका मान्छेहरूलाई खाली खाली मसाल र मसाल नेतृत्वको मात्रै खोइरो ?
काका :– यिनीहरूको कथित विद्रोह र बामपन्थी लफ्फाजी आफैलाई तातो आलु निल्नु न ओकल्नु भाको छ । चुनाव उपयोग गर्ने निणर्य गरेछन्, जित्ने निणर्य गर्न बिर्सेछन् । चुनावी गठबन्धनको विरोध गरे पछि कसैसँग चुनावी तालमेल गर्न नैतिकता गलपासो भएको छ ।
फुचुंग्री :- विप्लवले के निणर्य गरेछन, चुनाव उपयोग गर्ने तर चुनाव नलड्ने रे ?
काका :– रोल्पामा पानी पर्दा कपिलवस्तुको शिवपुर जंगलमा छाता ओढेर कस्तो निणर्य गरुन् तो, गुण्डागर्दीको शैलीमा भोज मोजमस्ति गर्छन्, कांग्रेसलाई जिताउँ छन्।
फुचुंग्री :- प्रवासबाट चुनावमा जाने के छ तयारी ?
काका :- प्रवासी नेपालीहरुको मन यसपाली नेपालमा देश र जनताको हितमा बोल्ने पार्टी राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलासमा भोट दिने छ । संघीयता घातक छ भन्दै आएको छ, एमसीसी घातक छ, खारेज गर्नु पर्छ भन्दै आएको छ । यसपाली प्रवासी नेपालीहरुको भोट खिरलिप्पै गिलासमा जान्छ ।
फुचुंग्री :- कथित जागरण क्लबका मान्छेहरूको गोरखपुरे झुण्ड के गर्ला काका ?
काका :- उफ ! के के सोध्छे यो फुचुंग्री पनि !