पाकिस्तान । पाकिस्तान मुस्लिम लिग (नवाज)का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन्। उनी पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन्। उनी पाकिस्तानको नेशनल एसेम्बलीमा १७४ सांसदको समर्थनमा प्रधानमन्त्री चुनिएका हुन्।
प्रधानमन्त्री पदका लागि शरीफ पाकिस्तानको संसदमा विपक्षीको साझा उम्मेदवार बनेका थिए। संसदमा सोमबार भएको मतदानबाट उनी प्रधानमन्त्री बनेका हुन्।
संसदमा अविश्वासको प्रस्तावबाट इमरान खान सत्ताच्यूत भएपछि उनी पाकिस्तानको २३ औँ प्रधानमन्त्री निर्वाचित भएका हुन्। सोमबार संसदको बैठक सुरु हुनुअघि इमरान खानको पार्टी पीटीआईका सांसदहरुले सामूहिक राजीनामा दिएका थिए।
इमरानले आफूलाई विदेशी शक्तिको षड्यन्त्रमार्फत सत्ताबाट हटाइएको बताउँदै आएका छन्।
यसअघि आफ्नाविरुद्ध अविश्वास प्रस्ताव पेश भएपछि प्रधानमन्त्री इमरान खानले संसद भंग गरिदिएका थिए। तर पाकिस्तानको सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछि उनी आइतबार सत्ताच्यूत भएका हुन्।