अमेरिका नेपाली एकता समाजको प्रथम भेला सम्पन्न

  • अध्यक्ष रेशम कँडेल, महासचिव माधव थापा
  • काठमाडौँ । अमेरिका नेपाली एकता समाजको प्रथम भेला सम्पन्न भएको छ । राष्ट्रिय जनमोर्चा उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभा सांसद दुर्गा पौडेलको प्रमुख आतिथ्यमा २०७९ वैशाख १८ गते भर्चुअल माध्यमबाट भेला सम्पन्न भएको हो ।

    भेलाले रेशम कँडेल अध्यक्ष र महासचिव माधव थापा रहनुभएको सदस्यमा एक स्थान रिक्तसहितको ११ सदस्यीय अमेरिका नेपाली एकता समाजको केन्द्रीय सङ्गठन समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा अनिल बन्जाडे, सचिवमा श्याम पराजुली, कोषाध्यक्षमा सूर्यविक्रम केसी तथा सदस्यहरूमा सीता खनाल र विक्रम बन्जाडे रहनुभएको छ । त्यसैगरी सल्लाहकारमा कृष्ण पर्छाईं, चिरञ्जीवी घिमिरे र दीपक परियार रहनुभएको छ ।

    मताधिकारबारे सरकार गम्भीर भएन : पौडेल
    कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि दुर्गा पौडेलले विदेशस्थित नेपालीको मताधिकारबारे सरकार गम्भीर नभएको आरोप लगाउनुभयो ।
    सर्वोच्च अदालतले समेत विदेशस्थित नेपालीको मताधिकार कार्यान्वयन गर्नू भनी आदेश दिइसकेको सन्दर्भमा सरकार गम्भीर नभएको उहाँको भनाइ थियो ।

    ‘सर्वोच्च अदालतले विदेशस्थित नेपालीको मताधिकार कार्यान्वयन गर्नू भनेर आदेश दिइसकेको छ’ पौडेलले भन्नुभयो– ‘तर त्यसको व्यावहारिक कार्यान्वयनबारे सरकार गम्भीर देखिएन ।’

    उहाँले सरकारलाई गम्भीर बनाउन आफूहरू निरन्तरमा आन्दोलनमा रहेको पनि बताउनुभयो ।

    ‘विदेशस्थित नेपालीको मताधिकार व्यवहारमा कार्यान्वयन गर भनेर हामीले सदन, सडक, हाम्रा नीति तथा कार्यक्रममार्फत् लगातार आवाज उठाइरहेका छौँ’ उहाँले भन्नुभयो ।

    कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्मा, अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष दुर्गाबहादुर केसी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनाल, जापान नेपाली एकता समाजका अध्यक्ष शालिकराम सापकोटा, अखिल नेपाल कानुन व्यवसायी सङ्घका अध्यक्ष अधिवक्ता पदम रोका, युगदर्शन साप्ताहिकका कार्यकारी सम्पादक प्रकाश थापामगर, अमेरिकामा अध्ययनरत विद्यार्थी नेता सरद महतारा, अमेरिकाकै प्रविधिविज्ञ चिरञ्जीवी घिमिरे र एनआरएन न्यूमेक्सिको च्याप्टरका अध्यक्ष गङ्गाधर आचार्यले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।

    भेला सफलताका लागि युरोप नेपाली एकता समाजका अध्यक्ष तोयानाथ कँडेलले लिखित शुभकामना पठाउनुभएको थियो । शुभकामनाको वाचन सञ्चालक माधव थापाले गर्नुभएको थियो ।

    कार्यक्रममा पत्रकार दीपक परियारले नयाँ कार्यसमितिको नामावली प्रस्तुत गर्नुभएको थियो ।

    रेशम कँडेलको अध्यक्षता तथा माधव थापाको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा सूर्यविक्रम केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रममा राष्ट्रियगानका साथै सरद महताराले कविता वाचन गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार