युवासँग म्याक्सिम गोर्की

English English Nepali Nepali

आफ्नो जीवनलाई सञ्चालन गर्ने मूल शक्तिहरूलाई पत्ता लगाउन नभएर, आफ्ना विचारहरूलाई कुनै खास ठाउँमा पुर्‍याएर विश्राम गर्ने आतुरी भएको कारणले धरै मानिसहरू सोच्ने र तर्क वितर्क गर्ने काम गर्दछन्। उनीहरूमा प्रायः ‘तर्क अथवा सन्देश भन्दा टाढाका’ सत्यहरूको स्थापना गर्ने आतुरी मुख्यरूपले आलोचनाहरूमा पाइन्छ र उपन्यासकार र कथाकारहरूमा पनि यसको नराम्रो प्रभाव पर्दछ।

लेखकको काम धेरै नै श्रेयष्कर हुन्छ, किनभने त्यसको अनिवार्य परिणाम जीवन र निरन्तर परिवर्तनशील वास्तविकताहरूमा निहित सत्य सङ्कुचित वा विकृति हुन जान्छ। एंगेल्सले (एंगेल्स अति नै बुद्धिमान मानिस थिए) मार्क्सवाद कुनै जड सिद्धान्त नभएर कार्यक्षेत्रमा बाटो देखाउने दर्शन हो भनेर एकदमै सही भनेका हुन्। यदि साधारण रूपमा भन्ने हो भने हामी के भन्न सक्दछौं भने हाम्रा सम्पूर्ण कामहरूको उद्देश्य पुरानो संसारलाई बदलेर नयाँको निर्माण गर्नु नै हो।

सोभियत श्रमिकहरूको सोह्र वर्षको वीरतापूर्ण श्रमका कल्पनातीत फलहरूले सारा संसारलाई असिदिग्धहरुपले के देखाएको छ भने श्रमिक वर्गमा कति जीवन शक्ति, कति प्रतिभा र कति विराट् रचनात्मक कौशल हुन्छ। सोभियतसंघका हामी लेखकहरूले अहिले सम्म न यस श्रमको असीम शक्तिमत्तालाई न त त्यसका सफलताका विविधता र बाहुल्यतालाई बुझेका छौं।

व्यावहारिक अनुभवको ठोस आधारमा टिकेको विश्वासका साथ के भन्न सकिन्छ भने हामी आज संसारमा जुन काम गर्दैछौं, त्यसका सम्भावनाहरू आजका सबै कुराभन्दा र मानिसका आजसम्मका हजारौं वर्षका हरेक किसिमका श्रमबाट निर्मित कुराहरू भन्दा बढी छन्। आफ्नो देशका प्रति, आफ्नो साहित्यको उत्तर दायित्वलाई बुझ्न र त्यसलाई पुरा गर्न हामीले आधुनिक संसारको गम्भिर र विशिष्ट अध्ययन गर्नु जरुरी छ।

साहित्यका के-के अंग छन् ? अर्थात् विम्बहरू, चरित्रहरू र समष्टिको प्रतिनिधित्व गर्ने ( टाइप)पात्रहरूको शब्दहरूद्वारा चित्रण कसरी हुन्छ ? शब्दहरूका दर्पणमा जीवनका घटनाहरू र वास्तविकताहरू, प्राकृतिक दृश्यहरू र चिन्तनका प्रक्रियाहरूको प्रतिविम्ब कसरी गरिन्छ।

साहित्यको मूल तत्व हो : भाषा। भाषा नै साहित्यको मुख्य साधन हो र जीवनका यथार्थहरू सित गहिरो सम्पर्कमा आएपछि भाषाले साहित्यको कच्चा पदार्थका काम गर्दछ र यसैबाट साहित्यको निर्माण हुन्छ। एउटा असाध्यै राम्रो उखानमा भाषाको परिभाषा दिइएको छ- यो मह त होइन तर सबै ठाउँमा टाँसिन्छ। यसको अर्थ के हो भने संसारमा संज्ञा नभएको कुनै कुरो छैन।

शब्द नै समस्त घटनाहरू र विचारहरूको परिधान हो। तर, हरेक घटनाको सामाजिक महत्व त्यस घटनामा लुकेर रहेको हुन्छ र हरेक विचारमा किन कुनै बिचारको रूप अरू नभएर त्यही नै हुन्छ, यसको कुनै न कुनै कारण हुन्छ। यदि कुनै साहित्यिक रचनाको उद्देश्य घटनाहरूभित्र लुकेको सामाजिक अभिप्रायलाई समग्र भावले, अति स्पष्टता र पूर्णतासहित उद्घाटन गर्नु रहेको छ भने सरल र भावहरूलाई एकदमै ठिक ठिकरूपमा अभिव्यक्त गर्ने क्षमता सम्पन्न भाषाको आवश्यकता हुन्छ। यस कामका लागि होसियारी साथ छानिएका शब्दहरू चाहिन्छ। हाम्रा पुराना कलाकारहरूको भाषा यस्तै थियो।

त्यो त्यस्तो भाषा थियो, जसलाई शताब्दीयौंको विकासले पुष्ट बनाएको थियो। त्यो एक वास्तविक अर्थमा साहित्यिक भाषा हो, यद्यपि त्यसको उद्भव जनताको बोलीचालीको भाषाबाट भएको हो। तथापि त्यो आफ्नो मूल श्रोतभन्दा धेरै नै फरक छ, किनभने बस्तुहरूलाई क्षणिक अस्थिर अपाष्किृत र विकृत ध्वनि भएका तत्वहरु निस्किएका छन्, जुन बोलीचालीका भाषामा पाइन्छन्। तर, थुप्रै कारणले तिनको भाषाको मूल आत्मासित मेल हुँदैन।

भाषाको मूल आत्मा भन्नाले हाम्रो मूल आशय भाषाको त्यो रूपसित छ, जुन त्यसलाई बोल्ने मानिसहरूमा समान रूपले प्रचलित छ। बोलीचालीको भाषा लेखकहरूद्वारा चित्रित चरित्रहरूको कथोपकथनमा सुरक्षित रहन्छ भन्ने स्वयंसिद्ध कुरो हो। तर त्यसको उपयोग चरित्रलाई अझ बढी सजीव ढंगले प्रस्तुत गर्नका लागि गरिनु पर्दछ।

युवावस्थामा मलाई पनि नयाँ शब्द निर्माण गर्ने ठूलो सनक चलेको थियो। सरकारी वकिलहरू र अभियुक्तहरूका वकिलहरूको धारा प्रवाही वक्तृताले ती केटौल प्रयत्नहरूलाई धेरै नै प्रोत्साहन मिल्दथ्यो। त्यहाँ पाप र पुण्य दुवै एउटै समान सुन्दर शब्दहरूमा छाँटिएर उभिएका हुन्थे र अभियोग लगाउनेहरू दुवै नै एउटै शब्दावलीको प्रयोग उस्तै चातुर्यका साथ गर्दथे।

मलाई त्यो देखेर अचम्म लाग्दथ्यो र म चाहिँ नयाँ शब्द बनाउने मूर्खतापूर्ण प्रयत्नहरूमा कापीहरू एकपछि अर्को रंगाएर फ्याँक्दै जाँदै थिए। यो पनि एक किसिमको रोग नै थियो। मैले वास्तविक जीवनलाई के कुराका लागि धन्यवाद दिनै पर्दछ भने उसले एउटा राम्रा चिकित्सकले झैँ मलाई चाँडै नै यस रोगबाट निको पार्‍यो।

संस्कृतिको इतिहासले हामीलाई के भन्दछ भने भाषाहरूले विशेष गरेर त्यस कालमा समृद्धि लाभ गर्दछन्, जतिखेर सामाजिक आन्दोलनले तीव्ररूप लिएको हुन्छ, जतिखेर उत्पादनका नयाँ साधनहरूको प्रयोग हुनु थाल्दछ र वर्ग संघर्ष तिक्ष्णतर हुन्छ। हाम्रो यस भनाइको पुष्टि लोक गीत, लोकोक्ति आदिबाट पुष्टि हुन्छ। बोली चालीको भाषाको विकासको प्राकृतिक ढंग पनि यही नै हो। यस क्षेत्रमा कृत्रिम ‘मौलिकताहरू’को पनि त्यसरी नै स्थान हुँदैन, जसरी पुराना शब्दहरूलाई अर्थात् अर्थ घोटिँदा-छोटिँदा नष्ट भैसकेका शब्दहरूलाई समातेर बसिरहने प्रकृतिलाई स्थान हुँदैन। आफ्नो कुरो प्रष्ट पार्न म के भनिहालौं भने मस्कोका सडकहरूमा हुने गफप्रति पुस्किनका मनमा निकै आदर थियो र यस दिशामा उनले आफ्नो नर्स अरिना रेदियोनोभ्नाबाट धेरै नै सिकेका थिए।

हाम्रो बोलीचालीको भाषाका अनुपम विद्धानले स्कोभले पनि एक सैनिककी पत्नी, आफ्नी नर्सबाट धेरै नै सिकेका थिए र सामान्य रूपले कुन कुरो लक्ष्य गर्न सकिन्छ भने नर्सहरू, ड्राइभरहरू, माझीहरू, सिकारीहरू र शारीरिक श्रम गर्ने सामान्य स्थितिका महिला-पुरुषहरूले हाम्रो साहित्यिक भाषाको विकासलाई निश्चित रूपले प्रभाव पारेका छन्। तर, ती साहित्यकार नै थिए, जसले दैनिक जीवनको बोलीचालीको भाषाको निर्बन्ध धाराहरूका माझबाट सबभन्दा सरल, सबभन्दा बढी अर्थबाहिर र अधिकाधिक उपयुक्त शब्द चयन गरेर भाषालाई समृद्ध बनाए। साहित्यको दोस्रो अंग हो- विषयवस्तु। विषयवस्तुको अभिप्राय त्यस विचारसित छ, जुन साहित्यकारको मनमा जीवनबाट प्राप्त हुने अनुभवबाट उत्पन्न हुन्छ। यो विचार साहित्यकारको मस्तिष्कमा रुपग्रहण नगरी बसिरहेको हुन्छ र यसले आफूलाई रूप देऊ, चित्रित गर भनेर साहित्यकारलाई निरन्तर उद्वेलित गरी रहन्छ।

संसारमा अनेक किसिममा विषय छ- केहीलाई सनातन विषय भन्न सकिन्छ, जस्तो मृत्यु र प्रेम। केही यस्ता विषय हुन्छन्, जुन सामाजिक परिस्थितिहरूबाट उत्पन्न हुन्छन् र जसको मूलमा व्यक्तिवाद हुन्छ, जस्तो ईर्ष्या, प्रतिशोध, लोभ आदि। तर धेरै समय अघि नै कुन कुरो भनी सकिएको छ भने हरेक कुरो परिवर्तन हुन्छ र घाम वा जुनको छायामा शाश्वत भन्ने कुनै छैन अब क्रान्तिको घाम उदाएको छ र त्यसले हाम्रो संसारमाथि प्रकाश फैलाइरहेको छ। त्यस्ता प्रकाशमा हामी के देख्न सक्छौं भने ती ‘शाश्वत’ विषयहरूका मूलमा व्यक्तिको त्यो असहायता र करुणा मित्र हीनता थियो, जुन हिंस्रक वर्गसंघर्षमा आधारित समाजमा व्यक्तिका लागि अनिवार्य हुन्छ, यो यस्तो संघर्ष हो जसमा हरेक व्यक्ति अर्को व्यक्तिसँग भातको एक गासका लागि र शक्तिका लागि लड्दै छ।

धेरै मानिसहरू राम्ररी नै कुनै कुरो जान्दछन् भने पुँजीवादी समाजको ज्यादै ठूलो विशेषता यसका अधिकांश सदस्य जीवनका सामान्यभन्दा सामान्य आवश्यकताका बस्तुहरू जुटाउन आफ्नो सम्पूर्ण शक्ति खर्च गर्दछन्। मानिसहरू आफ्नो जीवनको यो घृणित र अपमानजनक ‘विशेषता’मा अभ्यस्त भएका छन् र यसकारणले उनीहरूले आफ्नो सम्पूर्ण ध्यान आफैमाथि केन्द्रित गर्नुपर्दछ र आफ्नै बारेमा चौबिसै घण्टा सोचिरहनु पर्दछ। त्यसो भएर पनि यस सामाजिक प्रणालीको यो भयावह प्रकृतिलाई बुझ्ने मानिसहरू भने कमै मात्र फेला पर्दछन्। समाजवादी वर्गहीन समाजको स्थापना भएपछि जुन नयाँ सामाजिक अवस्था उत्पन्न भएको छ, त्यसका कारणले यी ’शाश्वत’ साहित्यिक विषयहरू मध्ये केही लोप भैसकेका छन् भने केहीको चाहिँ अर्थ नै पूर्णतः बदलिएको छ।

हाम्रो युग त्यस्तो छ, जहाँ एक व्यक्तिको मृत्यु (उसको सामाजिक महत्व जतिसुकै ठूलो किन नहोस्) भन्दा कता हो कता बढी महत्वपूर्ण र धेरै करुण विषयहरू साहित्यकारले सहजै भेट्टाउँछन्। व्यक्तिवादीहरूलाई यो कुरा राम्रो लाग्दैन, तर इतिहासले त स्वयं व्यक्तिहरूलाई नै मृत्युको सजाय दिइसकेको छ।

साहित्यको तेस्रो अंग हो- विन्यास अर्थात् मानिसहरूको पारस्परिक सम्बन्ध, अन्तर्विरोध, सहानुभूति, बैमनुष्य र तिनको सामान्य आपसी सम्बन्ध। म के ठान्दथे भने यी तीन अंगबाट’साहित्य’ शब्दको समग्र अर्थको बोध हुन्छ, यदि हामी त्यसभित्र केवल नाटक, उपन्यास र कथालाई पार्दछौं भने शैलीका सम्बन्धमा हामी कुराकानी गर्न सक्दछौं। तर त्यो एउटा त्यस्तो कुरा हो, जुन लेखकको प्रतिभाको व्यक्तिगत गुण हो। यद्यपि के कुरो बिर्सन हुँदैन भने यी व्यक्तिगत विशेषताहरूको उत्पत्ति र विकास पनि बाहिरी कारणबाट निर्धारित हुन्छ।

म केही कुराहरू यथार्थवादका बारेमा भन्न चाहन्छु। कुन दृष्टिले भने यो उन्नाइसौं शताब्दीको साहित्यको आधारभूत र सबभन्दा बढी फलप्रद प्रकृति हो। एउटा त्यस्तो प्रवृत्ति, जुन बिसौं शताब्दीसम्म प्रचलनमा छ। यस प्रकृतिको सबभन्दा ठूलो विशेषता यसको तीक्ष्ण बुद्धिवाद र आलोचना दृष्टि हो। जुन मानिसहरूले यसलाई जन्माए, ती मानिसहरू खासगरी त्यस्ता मानिस थिए, जो प्रष्टरूपमा आफ्ना वर्ग सामाजिक र रचनात्मक दृष्टिले पुंसत्वहीनताको परिचय उनीहरूले आफ्नो शक्तिलाई यथावत् राख्ने प्रयत्न स्वरूप यस वर्गले गरेको बर्बर दमनमा पाए।

यदि मानिसहरूलाई पुँजीपति वर्गका ‘उच्छृङ्खल पुत्र’ भन्न सकिन्छ। बाइबलमा जुन ‘प्रोडिगल सन’को उल्लेख भएको हो, त्यही सरह यी मानिसहरूले आफ्नो परिवारको कारागारलाई भत्काए र जड मनवादी र परम्पराबाट प्राप्त संस्कारहरूको भारीबाट आफूलाई मुक्त पारे। यी मध्ये धेरै जसो मानिसहरू आफ्नो मन परेको खाना खान फेरी आफ्नो वर्गमा फर्किएनन्, यसका लागि हामीले तिनलाई धन्यवाद दिनै पर्दछ। उन्नाइसौं शताब्दीको युरोपेली यथार्थवादीहरूका बारेमा हाम्रो दृष्टिकोण बुर्जुवा आलोचकहरूको मतबाट धेरै नै प्रभावित छ।

यी आलोचक भाषा र विषयको गुण- दोषको विवेचना गर्दछन् तर विषयवस्तुको सामाजिक महत्त्वलाई पत्ता लगाउने र तिनको उद्घाटन गर्ने साहित्यको सामाजिक महत्त्वलाई बुझे। स्तान्धालको स्वागत आलोचकहरू मौनताले गरे। हाम्रो देशमा ज्यादै थोरै मानिसहरू विदेशी पुस्तकहरू मौलिक भाषामा पढ्छन् र त्यसभन्दा पनि कम मानिसहरू पश्चिमका साहित्यकारहरूको जीवनको इतिहास, उनीहरूको कार्य प्रणाली र विकास सित परिचित छन्। पुँजीपति वर्गका यी ‘उच्छृङ्खल पुत्रहरू’को साहित्य कुन दृष्टिले ज्यादै मूल्यवान् छ भने वास्तविकताहरू प्रति यिनको दृष्टिकोण आलोचनाको छ। उन्नाइसौं शताब्दीमा धेरै वैज्ञानिक र औद्योगिक प्रगति भयो। यसको फलस्वरूप पुँजीवादी राज्यहरूको आर्थिक आधारलाई सुदृढ बनाउन निकै नै सफलता प्राप्त भयो। तर फ्रान्सेली साहित्य त्यतिखेर यो युरोपको प्रदान साहित्य थियो- पुँजीपतिहरूको यस हलचलबाट त्यति खुसी थिएन र उसले मेसिनहरूको बढ्दो प्रभावको प्रशस्तिमा गीत गाएन।

त्यस समाजमा व्यक्तिलाई आफ्नो स्थिति अनिश्चित लाग्दथ्यो। त्यही अनिश्चितता जन्य निराशाको पूर्ण स्वीकृति उन्नाइसौं शताब्दीको साहित्यको मौलिक र मुख्य विषय बस्तु हो। शोपन हावर, हार्टमन, लियोपार्दी, स्टर्नर र अन्य अनेकौं दार्शनिकहरूले जीवनको व्यर्थको उपदेश दिएर यस चेतनालाई अझ बढी पुष्ट नै बनाए। जीवनलाई व्यर्थ ठान्ने यस दर्शनको मूलमा पनि व्यक्तिको आरक्षणीयत र समाजमा उसको एक्लोपनको चेतनाले नै काम गरेको थियो। सोभियत संघको विजयी वर्गले जुन नयाँ संसारको निर्माण गरेको छ, त्यसमा व्यक्ति आर्केटिकको हिम प्रदेशहरूमा हराउने वा मृत्युको स्थायी आशंकामा रहनुपर्ने स्थितिमा समेत आफूलाई एक्लो र असहाय अनुभव गर्दैन।

उन्नाइसौं शताब्दी निराशावादी दर्शनहरूको शताब्दी हो। बिसौं शताब्दीमा आएर यो निराशावादले स्वाभाविक रूपले ह्रासोन्मुख समाज तिर घोरतम उदासिनता र कठोरतम नैराश्यको रूपमा लिन पुग्यो। यसको भुमरीमा परेर त्यो मानवतावादलाई पनि पूर्णतया तिलाञ्जली दिइयो, जसका बारेमा पहिलेका सबै पुँजीपतिहरूलाई ठूलो घमण्ड थियो। दया र सहानुभूतिको जुन ढोङ र अडम्बरले भरिपूर्ण नैतिकताको प्रतिपादन शोपेनहावरले गरेका थिए, धेरैले जसलाई स्वीकार पनि गरेको थिए, त्यसमाथि सिद्धान्तको क्षेत्रबाट नित्सेले भयानक रूपले प्रहार गरे भने व्यवहारको क्षेत्रबाट फासिवादले अझ अरू भयानक र निश्चयात्मक रूपमा त्यसलाई क्षत्वीक्षत् बनाउने काम गर्‍यो। आज पुँजीपति वर्गको कमजोर हुँदै गएको हातबाट यो शक्ति कायम राख्न पुँजीपति वर्ग हिटलरी फाँसीवादको रूपमा जुन वर्ग संघर्षमा प्रवृत्त हुन्छ, त्यसमा उ मानिसप्रति घृणा र जीवनप्रति असीम नैराश्यको प्रचारलाई नै आफ्नो मुख्य हतियार बनाउँछ।

यहीनेर के पनि थप्नु उचित होला भने पुँजीवादका केही सुयोग्य नोकरहरूलाई पनि (पुँजीवादी व्यवस्थामा ) व्यक्तिको सामाजिक स्थितिको अस्थायित्वको आभास र आभास मात्र होइन, ज्ञानसमेत थियो। उन्नाइसौं शताब्दीको लगभग सबै आत्म जीवनी छाडेर जाने प्रमुख सार्वजनिक मानिसहरूले पुँजीवादी समाजको अत्यन्त असन्तोषजनक संघटनका बारेमा विस्तृत रूपमा लेखेका छन्। सोभियतसंघका विजयी श्रमिकहरूले आजसम्म जुन अनेकौं सेवाहरू गरेका छन्, तिनमा एउटा के पनि हो भने उसका आश्चर्यजनक र वीरतापूर्ण कार्यहरूले संसारबाटै निराशावादका खियाहरूलाई खुर्केर फ्याँकिएको छ।

पुँजीपति वर्गका ’उच्छृङ्खल पुत्रहरू’ को यथार्थवादको दृष्टि आलोचनापरक थियो। त्यसले समाजका खराबीहरूको अनावरण गर्‍यो र पारिवारिक संस्कारहरू, धार्मिक जडताहरु वा कानुनी दाउपेचहरूको बन्धनमा जकडिएको व्यक्तिको जीवनको रोमाञ्चक कथा लेख्यो। तर यसले मानिसहरूलाई यो कारागारबाट मुक्त हुने बाटो भने देखाउन सकेन। हरेक कुराको आलोचना गर्नु त सहज थियो तर, आलोचकहरूसित सामाजिक जीवन वा साधारण तयाः‘जीवन’ एउटा एकदमै निरर्थक बेइमानी कुरा हो भन्नु अरूभन्दा अरू केही नै थिएन। आलोचक स्वयंले कुन खालको समाज चाहन्छन् ? त्यसको कुनै निश्चित रूपरेखा उनीहरू सित थिएन। यो कुरो बाइरनदेखि टमस हार्डी (सन्३२ मा मरे) सम्म, शातोबियाँका पुस्तकहरूदेखि बोदलेयर र आनातोले फ्रान्स(यिनको सन्देहवाद धेरै निराशावाद सित मिल्दो जुल्दोछ )सम्म अनेकौं लेखकले भनेका छन्।

साहित्य समाजवादी यथार्थवादको अवतरण कुन किसिमले हुन सक्छ भने यो वास्तविक जीवनमा घट्ने समाजवादी रचनात्मक क्रियाहरूको दर्पण बनोस्। के हाम्रो साहित्यमा यस्तो यथार्थवादको आगमन हुन सक्दछ ? हुन सक्ने मात्रै होइन, अवश्य नै हुन्छ, किनभने अहिलेको बेलामा पनि क्रान्तिकारी समाज रचनाका त्यस्ता उदाहरण हाम्रो देशमा छन् र तिनको सङ्ख्या बढ्दै मात्र जाँदो छ। हामी त्यस्तो देशमा बस्छौं र काम गर्छौ, जहाँ गौरवपूर्ण, सम्मानपूर्ण र वीरतापूर्ण काम हुनु एउटा कति साधारण कुरो जस्तो मात्र हुन थालेको छ भने धेरैको त दैनिक पत्रपत्रिकाहरूमा चर्चासम्म हुँदैन। जहाँसम्म हाम्रा लेखकहरूको सम्बन्ध छ, उनीहरू यिनका बारेमा किन लेख्दैनन् भने उनीहरूको ध्यान अहिलेसम्म पनि आलोचनापरक यथार्थवादीको त्यही धारा सम्म सीमित छ, जसको दृष्टि एकदमै स्वाभाविक र संगतरुपले जीवनका न्यूनता र अक्षमताहरूमा छ।

यहाँ म कुन कुरामा तपाईंहरुको ध्यान आकृष्ट गर्न चाहन्छु भने मिथ्या, भाषण, पाखण्ड र संकीर्ण मानसिकता आदि यस्ता दोष हुन, जुन प्राकृतिक कारणहरूबाट उत्पन्न हुन्छन् र यी कारणहरूबाट हटाउन सकिन्छ। युवा लेखकहरूले साहित्यिक कार्यहरूको कठिनतालाई बुझ्न आवश्यक छ। यसका साथै उनीहरूले सधैँभरि के मा पनि ध्यान दिनुपर्दछ भने हाम्रो युगले हामीसित कस्तो साहित्यको माग गरेको छ र लेखकका रूपमा आफ्ना पाठकहरू प्रति हाम्रो के उत्तर दायित्व हुन्छ। यसभन्दा पहिले यस्तो कुनै पाठक समुदाय थिएन, जो हाम्रो स्नेह र आदरको त्यतिकै पात्र होस, जति आजको सोभियत पाठक समुदाय छ।

-विश्व सन्देश (वर्ग दृष्टि)बाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार