माइक्रो कम्प्युटर क्रान्तिका प्रणेता स्टिभ जब्सको बालजीवनी प्रकाशित

काठमाडौं । माइक्रो कम्प्युटर क्रान्तिका प्रणेता स्टिभ पाउल जब्सको संक्षिप्त बालजीवनीलाई कथालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशनमा ल्याएको छ। नेपालीमा ‘भोको रहू, मूर्ख रहू’ शीर्षक राखेर विमलकुमार सुवेदीले अनुवाद गरेका हुन्। भिक्टर प्रधान सम्पादक रहेको पुस्तकमा थोमस शाहिन्यानका चित्र समावेश गरिएको छ।

अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेको हो। जसको अंग्रेजी शीर्षक ‘स्टे हङ्ग्री स्टे फूलिस’ छ। यसका मूल लेखक न्यून टोरोस्यान हुन्।

‘भोको रहू, मूर्ख रहू’ भन्ने पदावली स्टिभ जब्सले प्रयोग गरेको उत्साहवद्र्धक नारा हो। भोको मानिस जसरी भोक मेटाउन निकै खटेर काम गर्छ र मूर्ख जसरी असफल भए पनि बारम्बार कोसिस गरिरहन्छ, त्यसरी नै मानिसहरू नयाँ प्राप्तिका लागि मरिमेटेर प्रयत्नशील रहून् भन्ने सन्देश जब्सले प्रवाह गरेका छन्। उनी युवा वर्गलाई आफ्नो अन्तरमनले चाहेको कुरा हासिल गर्न लगनशील भएर प्रयत्न जारी राख्नुपर्छ भन्छन्।

‘एप्पल’ कम्पनीका सहसंस्थापन जब्स आइफोनका जन्मदाता हुन्। अहिलेको प्रविधिको युगमा उनी महत्वपूर्ण आविष्कारक मानिन्छन्। उनको जन्म र हुर्काइ भने सामान्य अवस्थामा भएन। अविवाहित युवतीबाट जन्मिएका जब्सलाई अरू नै धर्ममाता÷पिताले स्विकारेर हुर्काएका हुन्।

१० वर्षमै इलेक्ट्रोनिक्समा उनको रुचि बसिसकेको थियो। पछि कलेजमा पढाइप्रति उनको मन गएन। त्यसपछि उनले कस्ता हन्डर खाए, त्यसले उनलाई कतातिर डोर्यायो? पुस्तकले सविस्तार वर्णन गरेको छ।

धर्मपुत्रका रूपमा हुर्किंदाको पीडा, आफूले बनाएका योजना अफसल हुँदाको निराशा, कलेज जीवनका हन्डर अनि आफ्नै कम्पनीबाट बहिर्गमन हुनुपर्दाका कठिन दिन कस्ता थिए? उनको संक्षिप्त जीवनीले प्रकाश पारेको छ।

यो पुस्तक ६ वर्ष वा माथिका बालबालिकाका लागि पढेर सुनाउन, छलफल गर्न तथा ९ वर्षमाथिका बालबालिकाले आफै अध्ययन गर्न सक्नेछन्। दुवै भाषामा २८ पृष्ठ रहेको पुस्तकको मूल्य २ सय ८० रुपैयाँ राखिएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार