स्थानीय चुनाव सम्पन्न गरेकोमा चीनले दियो बधाई

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छन्।

बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विषयमा कुराकानी भएको थियो।

भेटमा राजदूत यान्छीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ ज्ञापन गरेकी थिइन्। चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना जनप्रतिनिधि जनताले आफैं छान्ने प्रक्रिया राम्रो भएको भन्दै यो कार्य सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएको बताइन्।

भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनका दिन आफू निर्वाचन भइरहेका विभिन्न स्थानमा अवलोकनका लागि गएको र त्यहाँ जनता उत्साहित भएर निर्वाचनमा भाग लिइरहेको देख्दा खुसी लागेको उनको भनाइ थियो।

केही समयअघि चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल भ्रमणमा आएको बेलामा सुरक्षा प्रबन्ध राम्रो गरेकोमा गृहमन्त्रीमार्फत सुरक्षा निकायलाई राजदूत याञ्छीले धन्यवाद दिइन्।

भेटमा गृहमन्त्री खाणले स्थानीय सरकार निर्माण गर्ने कार्य सम्पन्न गरेर सरकार अब बजेट निर्माणको प्रक्रियामा लागेको राजदूत यान्छीलाई जानकारी गराए।

चीनले शान्ति, स्थिरता, विकास र समृद्धिमा अहिलेसम्म निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि शान्ति, स्थिरता, विकास र समृद्धिमा सहयोगको निरन्तरताप्रति विश्वास व्यक्त गरे।

भेटमा राजदूत यान्छीले ३० मे बाट काठमाडौँबाट चीनको कुनमिङमा सिधा उडान गर्ने तयारी भएको जानकारी गराएकी थिइन्। उनकाअनुसार काठमाडौँदेखि कुमनिङ र कुमनिङदेखि काठमाडौँ उडान हुनेछ।

राजदूत यान्छीले आफ्नो विकासको मोडेल नेपाल आफैं तय गर्ने बताउँदै त्यसमा चीनको सद्‌भाव रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार