पाठ्यपुस्तक छपाइको जिम्मा प्रदेशलाई, वितरण पालिकाले

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिले एक महिनाभित्र पुस्तक छपाइ गरी विद्यार्थीको हातमा पुर्याउन निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाई एक महिनाभित्र छपाइ सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पु-याउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको हो ।

छापिएको पुस्तक पनि तत्काल विद्यार्थीहरुलाई वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिनुभयो । समितिले ३५ लाख बाँकी पुस्तक छपाइको काम छिटो सम्पन्न गर्न अन्य प्रेसमा पनि काम गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सचेत गराएको छ ।

समितिले विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यार्थीहरुको हातमा पुग्न नसक्ने समस्याको दीर्घकालीन समाधानका लागि छपाईको काम प्रदेश सरकार र वितरणको काम स्थानीय तहलाई जिम्मा दिने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ ।

सरकारी विद्यालयहरुमा पाठ्यपुस्तकको अभाव विगतदेखि हुँदै आएकाले यसको समाधानका लागि प्रदेश सरकारलाई छपाइको र सम्बन्धित स्थानीय तहलाई वितरणको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति जयपुरी घर्तीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार