काका र फुचुंग्री (भाग-३४)

फुचुंग्रीः– प्रवासमा अर्काको श्रीमती भगाउने घटना धेरै हुन थाले नि काका ?

काकाः– जहाँ जो असंगठित छन्, रक्सी खाने जुवातास खेल्ने आवारा संगत गरेका ग्रुप छन्, त्यहाँका महिला पुरुष बिग्रिएको पाइएको छ । परिवार साथमा राख्ने पुरुषहरु एकता समाजमा सामेल हुन जरुरी छ ।

फुचुंग्रीः– श्रीमती जोगाउन पनि एकता समाजमा लाग्नै पर्ने भयो नि ?

काकाः– यहाँ रक्सी खाने जुवातास खेल्ने आवाराहरुसँगको संगतले कसैको श्रीमती छोरी सुरक्षित छैनन् । प्रवासमा सचेत र सजग रहन पनि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा गोलवन्द हुन जरुरी छ । कमाएको धन सही सदुपयोग गर्न, मान सम्मान इज्जत प्रतिष्ठा बनाउन सामाजिक कार्यकर्ता बन्न जरुरी छ । जहाँ सचेत र संगठित छन् त्यहाँ विकृति विसंगती हुँदैन।

फुचुंग्रीः– कसैको श्रीमती भगाउने मुद्धालाई कसरी हेर्नुहुन्छ नि ?

काकाः– घटनाको प्रकृति हेरेर प्रायजसो अवस्थामा बुढोको साथीले नै भगाउने गरेको पाइन्छ, साथ मै वा नजिकै बस्ने सँगै रक्सी खाने आवारासँगको संगतले श्रीमतीसँगको सामिप्यताले भाग्ने भगाउने घटना भाको पाइन्छ । सकेसम्म प्रदेशमा यस्तो विपत्तिमा मिलापत्र एक राम्रो माध्यम हुने गरेको छ । कतिपय अवस्थामा प्रशासनको मद्दतबाट पनि मुद्धा मिलाउँछौं ।

फुचुंग्रीः– राम्रो नोकरी छैन, फेरिपनि परिवार ल्याएर किन बस्छन् नेपालीहरु ?

काकाः– गाउँघरमा काम र मामको उचित बन्दोबस्त मिलाउन नसक्नाले, ऋण तिर्न नसकेर लाखौंलाख नेपालीहरु मातृभूमि छोडन बाध्य छन् । साँझ बिहानको छाक टार्न कै लागि भए पनि प्रवासका गेट गल्ली होटल कारखानामा भौतारी रहेका छन् । देशभित्रको बेरोजगारी मूल समस्या हो ।

फुचुंग्रीः– बेरोजगारीको असर श्रीमती पोइल जानेसम्म हुँदो रहेछ नि काका ?

काकाः– त्यति मात्र होइन, देश गरिबी र भ्रष्टाचारले खोक्रो हुन्छ । महंगी भ्रष्टाचार कालाबजारीले गर्दा नोकरशाही दलालहरुको हालीमुहाली हुन्छ । जननिर्वाचित प्रतिनिधि सरकार केबल रबर स्ट्याम्प मात्रै साबित हुन्छ । नेता र पार्टीका प्रतिबद्धता केबल गफ मात्रै हुन्छ ।

फुचुंग्रीः– यस्तो अवस्थामा क्रान्तिकारी कम्युनिस्ट पार्टीको भूमिका के त ?

काकाः– राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा जनतालाई गोलवन्द गर्दै राष्ट्रिय जनआन्दोलनको उद्घोष गर्नु पर्ने हुन्छ, नीति कार्यक्रम विचार र सिद्धान्तको आधारमा भोट मागेको राष्ट्रिय जनमोर्चालाई जनताले भोट दिएनन् यसको अर्थ जनतामा नोकरशाही दलालहरुको कति हालिमुहाली रहेछ भन्ने स्पष्ट हुन्छ ।

फुचुंग्रीः– राष्ट्रिय जनमोर्चालाई जनताले भोट किन दिदैनन् काका ?

काकाः– जनता सचेत र जागरुक छैनन, कांग्रेस एमाले एमाओवादी राप्रपा जस्ता दलाल पार्टीहरूको अन्धभक्त बनेर भोट खेर फालेका छन्, फलस्वरूप महंगीको मार चुल्होसम्म पुगेको छ, देशको अर्थतन्त्र धरासायी भएको छ, बैंक दिवालिया भएका छन् ।
फुचुंग्रीः– अबको विकल्प के ?

काकाः– दीर्घकालीन सषस्त्र संघर्षको आधार तयार पार्दै राष्ट्रियता, जनतन्त्र, जनजीविकाको सवालमा जनतालाई जागरुक बनाउने र जनआन्दोलनको उठान गर्ने यही एउटा विकल्प बचेको छ । शोसक पूँजीपतिवर्गको हितमा कामगर्ने यो प्रतिक्रियावादी राज्यव्यवस्थाले शान्तिको भाषा बुझ्दैन।

फुचुंग्रीः– कथित जागरण क्लबका मान्छेहरूको झुण्ड समन्वय समितिले अब हामीले गर्छौं क्रान्ति भन्छन् नि ?

काकाः– उफ ! के के सोध्छे यो फुचुंग्री पनि !

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार