मध्यमवर्ग कायर हुँदा क्रान्ति ढिलो हुन्छ : कार्ल मार्क्स (ऐतिहासिक अन्तर्वार्ता)

कार्ल माक्र्सले सन् १८७९ जुन ९ मा अमेरिकी रिपब्लिकनहरुले सञ्चालन गरेको एक पत्रिकाका लागि आफ्नो जीवनकालको सबै भन्दा लामो र महत्वपूर्ण अन्तर्वार्ता दिएका थिए । अमेरिकन पत्रिका chicagotribune.com का एक सम्वाददाताले कार्ल माक्र्ससँग उनको लण्डनस्थित आफ्नै घरमा यो अन्तर्वार्ता लिएका थिए । यस पत्रिकाले कार्ल माक्र्सका हरेक रचनाले उनलाई विश्व षड्यन्त्रको मास्टर माइण्ड, वौद्धिक, राजनीतिक क्षमतावान पात्रका रुपमा उभ्याएको भन्दै यो अन्तर्वार्तालाई महत्वका साथ प्रकाशन गरेको छ ।

‘षडयन्त्र’ तत्कालीन बुर्जुवाहरुले प्रयोग गरेको शब्द हो । माक्र्सले यस्तो अन्तर्वार्ता प्रायः दिएका थिएनन्, तसर्थ यो उनको जीवनकालकै महत्वपूर्ण अन्तवार्ता हो । यो हामीले chicagotribune.com को अनुवादित सामग्रीको रुपमा यहाँ राखेका छौं, पढ्नुस् कार्ल मार्क्सको महत्वपूर्ण अन्तर्वार्ता।

१. समाजवादी आन्दोलनको अन्तिम उद्देश्य श्रमका साधनहरुलाई सार्वजनिक सम्पत्तिको रुपमा फेर्नु नै त हो ?

हो, पक्कै हो, हामी के भन्छौं भने आन्दोलनको परिणाम यस्तै हुनेछ । तर त्यसका लागि समय, शिक्षा र उच्चस्तर भएका सामाजिक संस्थाहरुको जरुरत हुनेछ ।

२. जर्मनी वा केही एक–दुईवटा देशहरुका लागि मात्र तपाईंहरुको यो घोषणापत्र र मोर्चा उपयोगी हुनेछ वा के हो ?

वाह । यदि तपाईं यही घोषणापत्र मात्रै पढेर हाम्रो बारेमा नतिजा निकाल्ने प्रयास गर्नुहुन्छ भने म भन्छु, तपाईं हाम्रो संगठनका गतिविधिहरुका बारेमा केही पनि जान्न सक्नुहुन्न । स्पष्ट छ– यस घोषणापत्रका कैयौं कुराहरुको जर्मनीभन्दा बाहिर कुनै महत्व छैन । स्पेन, रुस, बेलायत र अमेरिकामा ती देशका आ–आफ्ना विशेष कठिनाइअनुरुप मोर्चा र संगठनहरु बनेका छन् । ती सबै संगठनहरुबीच समानता भनेको केवल साझा उद्देश्य मात्रै हो, जुन हामी सबै प्राप्त गर्न चाहन्छौं ।

३. तपाईहरुको त्यो उद्देश्य के हो ? मजदुर वर्गको प्रभुत्व कायम गर्नु हो वा अरु पनि ?

त्यति मात्र होइन । त्यो उद्देश्य हो, संसारभरका मजदुर वर्गको मुक्ति । मजदुर वर्गको अधिनायकत्व स्थापना ।

४. यूरोपका समाजवादीहरु के अमेरिकी मजदुर आन्दोलनलाई महत्वपूर्ण मान्दछन् त ?

ठीक हो । अमेरिकी मजदुर आन्दोलन त्यो देशको विकासको स्वाभाविक परिणाम हो । त्यहाँ विदेशीहरुद्वारा बाहिरबाट आन्दोलन ल्याइएको हो पनि भन्ने गरिन्छ । तर, त्यसो होइन । आजभन्दा ५० वर्षअगाडि जब बेलायतमा मजदुर आन्दोलनको रुप जुझारु हुन थालेको थियो, तब यहाँ पनि त्यस्तै भनिएको थियो र यो समाजवादको चर्चा हुन थाल्नुभन्दा अगावैको कुरा हो । अमेरिकामा सन् १८५७ देखि नै मजदुर आन्दोलन प्रभावशाली हुन लागेको हो । त्यसपछि मजदुर यूनियनहरु फल्न–फुल्न थाले । त्यसपछि त्यस्ता मजदुर सभाहरुको निर्माण हुन थाल्यो, जसबाट विभिन्न उद्योगहरुमा काम गर्ने मजदुरहरुबीच एकता कायम भयो । र, अन्त्यमा राष्ट्रिय मजदुर संघको स्थापना भयो । यदि तपाईंले यो क्रमिक विकासमाथि ध्यान दिनुभयो भने तपाईंलाई थाहा हुनेछ– विदेशीहरुको मद्दतविना नै अमेरिकामा समाजवादी आन्दोलन पैदा भयो र त्यो पूँजीको केन्द्रीकरण तथा मजदुर एवं मालिकको बदलिँदो सम्बन्धका कारण सम्भव भयो ।

५. हामीसँग यो बताइदिनुस् कि तपाईंको समाजवादले अहिलेसम्म के–के गर्यो ?

यहाँ दुईवटै कुरा भएका छन् । समाजवादीहरुले पूँजी र श्रमको व्यापक सङ्घर्षको बाटो देखाएका छन् । अर्थात् त्यसलाई विश्वव्यापी बनाएका छन् । यसैको फलस्वरुप संसारभरका मजदुरहरुबीच एकताको विचार जन्मिएको छ । र, विचार अहिले अरु बेसी आवश्यक भएको छ, किनकि पूँजीपतिहरुले मजदुरको बहालीका लागि संसारभरका मजदुरहरुमाथि आँखा लाउन थालेका छन् । अमेरिकामा मात्रै होइन, बेलायत, फ्रान्स, र जर्मनीका पुँजीपतिहरुले समेत स्वदेशी मजदुरहरुविरुद्ध विदेशी मजदुरहरुलाई उपयोग गर्न थालेका छन् । यसबाट के सावित भयो भने समाजवाद कुनै स्थानीय समस्या होइन रहेछ । र, यसको समाधान त संसारभरका मजदुरहरु एक भएर गर्नुपर्ने रहेछ । मजदुरवर्ग आफ्नो आन्दोलनका उद्देश्यहरुको बारेमा ज्ञान नहुँदा नहुँदै पनि आफसेआफ लगातार अगाडि बढिरहेको छ । समाजवादीहरुले त आन्दोलनको चरित्र र उद्देश्य बताउने काम गरेका हुन् ।

६. मलाई लाग्छ, यसको मतलब वर्तमान समाज व्यवस्थालाई उखेलेर फ्याँक्नु हो ?

यसमा हाम्रो विचार के छ भने वर्तमान व्यवस्थामा एकातिर पूँजीपतिहरुको हातमा पूँजी र भूमि छ, अनि अर्कोतिर मजदुरहरुसँग एउटा बजारको वस्तुको रुपमा बेच्नका लागि श्रमशक्ति मात्रै छ । यो व्यवस्था पनि एउटा त्यस्तो ऐतिहासिक अवस्था हो, जुन समाप्त हुनैपर्छ र त्यसको ठाउँमा योभन्दा बेसी उन्नत सामाजिक व्यवस्था कायम हुनैपर्छ । हामीलाई थाहा छ– सबै ठाउँमा समाज वर्गहरुमा विभाजित छ । आधुनिक औद्योगिक देशहरुमा औद्योगिक साधनहरुको विकास सँगसँगै पूँजीपति र मजदुरवर्ग बीचको आपसी वैमनस्य पनि बढिरहेको छ । समाजवादीहरुको दृष्टिकोणमा वर्तमान ऐतिहासिक अवस्थामा क्रान्तिको तत्व विद्यमान छ । कैयौं देशहरुमा मजदुर यूनियनहरुका आधारमा राजनीतिक संगठनहरु पनि निर्माण भएका छन् ।

अमेरिकामा पनि मजदुरवर्गको आफ्नै एउटा पार्टी बनाउनु जरुरी छ । मजदुरहरुले अब पेशेवर राजनीतिज्ञहरुमाथि अरु बेसी भरोसा गर्न सक्दैनन् । सांसदहरु गुटबाजीको शिकार भएका छन् र संसद त्यस्तैको अखडा भएको छ । राजनीति व्यवसाय भएको छ । यो दशा अमेरिकामा मात्र होइन, बरु यूरोपको पनि यस्तै हालत छ । फरक के मात्रै हो भने यूरोपबासीहरुको तुलनामा अमेरिकी जनता केही बेसी सावधान र दृढ निश्चय भएका मानिसहरु हुन् । अमेरिकामा सबैको रहस्य तुरुन्तै खुल्छ । महासागरको वारि जति शब्द–आडम्वर र मारकाट छ, त्यति उता पारितिर छैन ।

७. जर्मनीमा समाजवादी पार्टीको तीब्रतापूर्वक विकास भएको छ, यसको कारण के हो ?

त्यहाँको वर्तमान समाजवादी पार्टी धेरै नै नयाँ पार्टी हो । बेलायत र फ्रान्समा झैं जर्मनीमा काल्पनिक समाजवादीहरुको विचारधाराको कुनै प्रभाव पहिलेदेखि विद्यमान थिएन । जर्मनीवालाहरु सिद्धान्त रचना गर्ने कार्यमा अरुभन्दा अलि बेसी नै कुशल छन् । विगतका अनुभवहरुबाट सिकेर जर्मनीवालाहरुले केही निर्णय गरे । तपाईंलाई थाहा छ होला– यूरोपका अरु देशहरुको तुलनामा यो पूँजीवादी व्यवस्था जर्मनीका लागि धेरै नै नयाँ व्यवस्था हो । जब जर्मनीका मजदुरहरुले समाजवादी विचारलाई अंगीकार गरे, तब बेलायत र फ्रान्समा पूराना भइसकेका प्रश्नहरु जर्मनीमा नयाँ–नयाँ रुपमा उठ्न थाले । अनि ती देशहरुमा उत्पन्न भएका राजनीतिक प्रभावहरुको असर जर्मनीका मजदुरहरुको जीवनमाथि पनि पर्यो ।

त्यसैले आधुनिक औद्योगिक विकासको शुरुवातसँगसँगै त्यहाँका मजदुरहरुले आफ्नै स्वतन्त्र राजनीतिक पार्टी बनाए । जर्मनीको संसदमा उनीहरुका आफ्नै प्रतिनिधि थिए । सरकारका नीतिहरुको विरोध गर्ने अर्को कुनै दल थिएन, त्यसैले त्यो जिम्मेवारी पनि मजदुरहरुकै प्रतिनिधिहरुको काँधमाथि आइपरेको थियो । यस पार्टीको रुपरेखाबारे बताउन धेरै समय लाग्नेछ । तर, म यति चाहिँ भन्नसक्छु– यदि जर्मनीको मध्यम वर्गमा घनघोर कायरता नभएको भए उनीहरु बेलायत र अमेरिकाको मध्यम वर्गको समान भएका भए सरकारविरुद्ध गर्नुपर्ने सबै राजनीतिक काम उनीहरुले नै गर्नुपर्दथ्यो ।

८. त्यसो भए भनिदिनुस्, इन्टरनेशनलवादीहरुबीच लासालवादीहरुको संख्या कति होला ?

वास्तवमा लासालको कुनै पार्टी छैन । हाम्रो संगठनमा लासालको सिद्धान्तमाथि विश्वास गर्ने केही मानिसहरु छन्, तर उनीहरुको संख्या धेरै नै कम छ । लासाललाई हाम्रा सामान्य सिद्धान्तहरुको अनुमान थियो । त्यसैले जब उनले सन् १८४८ का घटनाहरुपछि जगैदेखि आफ्ना गतिविधिहरु शुरु गर्दा कल्पना गरेका थिए– औद्योगिक प्रतिष्ठानहरुमा मजदुरहरुको सहयोगको वकालत गरेर आफ्नो आन्दोलनलाई फेरि एकपटक धेरै सफलतापूर्वक चलाउन सकिनेछ । यो चाहिँ मजदुरहरुलाई फेरि सक्रिय पार्ने उनको कोशिश थियो । यसलाई उनी आन्दोलनको वास्तविक उद्देश्य पूरा गर्ने साधन नै सम्झन्थे । उनको यस्तो आशयको चिठ्ठी मसँग छ ।

९. यसलाई तपाई उनको रामवाण भन्न चाहनुहुन्छ ?

अवश्य, निश्चित रुपले । उनले बिस्मार्कसँग भेटे, आफ्नो योजनाको बारेमा उनीसँग चर्चा गरे । अनि बिस्मार्कले त्यसबेला हरतरहले लासालका गतिविधिहरुलाई बढावा दिए ।

१०. बिस्मार्कको यस्तो गर्नुको पछाडि खास उद्देश्य के थियो होला ?

वास्तवमा उनी १८४८ को बिद्रोह भड्काउने मध्यम वर्गविरुद्ध मजदुर वर्गलाई प्रयोग गर्न चाहन्थे ।

११. तपाईं समाजवादका अध्यक्ष र नेता हुनुहुन्छ र तपाईं यहाँबाट, आफ्नो घरबाट, आजभोलिका सबै प्रकारका संगठनहरु र क्रान्तिहरुको सञ्चालन गर्नुहुन्छ भन्ने गरिन्छ । यस सम्वन्धमा तपाईं केही भन्न चाहनुहुन्छ कि ?

(हलुका मुस्कानसहित)। मलाई यस सम्बन्धमा जानकारी छ । मलाई लाग्छ– यो एकदम अर्थहीन कुरा हो । तर, यसमा एउटा मनोरञ्जक पक्ष पनि छ । होदेतको प्रयासभन्दा दुई महिनाअगाडि बिस्मार्कले आफ्नो पत्रिका ‘नर्थ जर्मन गजेट’ मा मेराविरुद्ध गुनासो गरेका थिए– मैले जेसुइट आन्दोलनका नेता फादर बैंकसँग मिलिभगत गरिरहेको छु । अनि हामी दुवैले मिलेर समाजवादी आन्दोलनलाई यस्तो रुप दिइरहेका हौं, ताकि बिस्मार्कले यो आन्दोलनसँग कुनै सम्बन्ध राख्न नसकून् ।

१२. तर लण्डनबाट तपाईंको अन्तर्राष्ट्रिय समाजले आन्दोलन त सञ्चालन गरिरहेकै छ नि ?

अन्तर्राष्ट्रिय समाजको उपयोगिता अब समाप्त भइसकेको छ र अब त्यसको कुनै अस्तित्व छैन । पहिले त्यसको अस्तित्व थियो र त्यसको माध्यमबाट आन्दोलनको सञ्चालन पनि हुन्थ्यो । तर, हालका केही वर्षहरुमा समाजवादको विकास यति धेरै भइसकेको छ कि अब इन्टरनेशनलको कुनै जरुरत नै रहेन । अहिले विभिन्न देशहरुमा अखवारहरु प्रकाशित भइरहेका छन् । तिनीहरुबीच आपसमा आदान–प्रदान पनि भइरहेका छन् । विभिन्न देशहरुमा काम गरिरहेका पार्टीहरुबीच आपसी सम्बन्धको यही नै एकमात्र माध्यम हो । अन्तर्राष्ट्रिय समाजको स्थापना केका लागि गरिएको थियो भने मजदुरहरुलाई संगठित गर्न सकियोस् र विभिन्न राष्ट्रका मजदुरका संगठनहरुमा आपसी एकता कायम गर्न सकियोस् । हरेक देशका मजदुर संगठनहरुको आ–आफ्नै खाले हितहरु छन्, जुन अरुसँग भिन्न छन् । त्यसैले लण्डनमा बसिरहेका इन्टरनेशनलका नेताहरुको कालो छायाँ हरेक ठाउँमा घुम्न थालेको कुरा मनगढन्ते छ ।

के कुरा सत्य हो भने– जब इन्टरनेशनलको स्थापना भएको थियो, तब हामी विदेशी संगठनहरुलाई सल्लाह दिन्थ्यौं । हामी न्यूयोर्कका केही समूहहरुलाई इन्टरनेशनलबाट अलग्याउनका लागि पनि विवश भएका थियौं । तीमध्ये म्याडम वुडहलको प्रभाव भएको एउटा गुट पनि थियो । यो सन् १८७१ को कुरा हो । त्यस्ता अमेरिकी राजनीतिज्ञहरु धेरै छन्, जो त्यस आन्दोलनबाट लाभ उठाउन चाहन्छन् । म उनीहरुको नाम लिन चाहन्नँ । तर, अमेरिकी समाजवादीहरु उनीहरुलाई राम्ररी नै चिन्दछन् ।

१३. तपाईलाई के पनि भनिन्छ भने, तपाईंका अनुयायीहरुका साथै तपाईंले धर्मको विरुद्ध आगो ओकल्ने खालको भाषण दिनुभएको छ । निश्चय नै तपाईं चाहनुहुन्छ– वर्तमान व्यवस्था सम्पूर्ण रुपमा समूल बर्बाद होस् ?

(एकै क्षण रोकिएर) हामीलाई थाहा छ– धर्मको विरुद्ध हिंसात्मक कारवाही गर्नु निरर्थक छ । समाजवादको विकास सँगसँगै धर्म गायब हुँदै जानेछ । र, धर्मको लोप सामाजिक विकासको कारणले हुनुपर्दछ । र यसमा शिक्षाको महत्वपूर्ण भूमिका हुनुपर्दछ ।

१४. बोस्टनका पादरी कुकलाई तपाईं चिन्नुहुन्छ ?

मैले उनको बारेमा केही सुनेको छु । समाजवादको सम्बन्धमा उनको जानकारी धेरै नै गलत किसिमको छ । हालैको आफ्नो भाषणमा उनले भनेका थिए– “डा. माक्र्स भन्छन्, अमेरिका, ग्रेट ब्रिटेन र शायद फ्रान्समा विना रक्तरञ्जित क्रान्ति नै मजदुरहरुको दशामा सुधार हुनेछ । तर, जर्मनी, इटली, रुस र अष्ट्रियामा अवश्य रक्तपात हुनेछ ।” (डा. माक्र्सले मुस्कुराउँदै भन्नुभयो, कुनै पनि समाजले के कुरा घोषणा गर्नु जरुरी छैन भने रुस, जर्मनी, अष्ट्रिया विशेषगरि इटलीमा यदि वर्तमान सरकारी नीतिहरु चलिरहे भने रक्तरञ्जित क्रान्ति अनिवार्य हुनेछ, फ्रान्सेली क्रान्तिका घटनाहरु ती देशहरुमा दोहोर्याइनेछन् । यो त राजनीतिका कुनै पनि विद्यार्थीले बुझ्न सक्छ । तर, क्रान्तिहरु बहुमतद्वारा हुनेछन् । क्रान्ति एउटा पार्टीले मात्र गर्न सक्दैन, बरु सिङ्गो राष्ट्रले क्रान्ति गर्दछ ।

१५. त्यस आदरणीय व्यक्तिले १८७१ मा पेरिसका कम्युनिष्टलाई लेखिएको एउटा पत्रको एक अंश उल्लेख गरेका छन्, जसमा तपाईंले लेख्नुभएको छ– “अहिले हामी केवल ३० लाख छौं, आउँदो २० वर्षमा ५ करोड वा १० करोड हुनेछौं, तब संसार हाम्रो हुनेछ, किनकि तब पेरिस, लियोंस, मारसेलिजमा मात्रै घृणित पूँजीको विरुद्ध विद्रोह हुने होइन, बरु बर्लिन, म्यूनिख, ड्रेसडेन, लण्डन, लिभरपूल, म्यान्चेस्टर, ब्रसेल्स, सेन्ट पीटर्सवर्ग, न्यूयोर्क अर्थात् सम्पूर्ण संसारमा त्यस्ता बिद्रोहहरु हुनेछन् । अहिलेसम्मको इतिहासको यस अभूतपूर्व विद्रोहको सामुन्ने अतीत भयानक नराम्रो सपना जस्तै गायब हुनेछ, किनकि अनेक ठाउँमा एक्कैचोटि लगाइएको यो आगोले अतीतको आगोलाई भष्म गर्नेछ ।” डा. माक्र्स, के यहाँले यस्तो पत्र लेख्नुभएको साँचो हो ?

यसको एउटा शब्द पनि मैले लेखेको होइन । म यस्तो अति नाटकीयताले भरिएका अनर्गल प्रलापहरु कहिले पनि लेख्दिनँ । म जे जति लेख्दछु, अति नै धेरै सोचविचार गरेर लेख्दछु । त्यसबेला यो पत्र ‘ल फिगरो’ (फ्रान्सको एउटा अखवार) मा मेरो जाली हस्ताक्षरका साथ छापिएको थियो । त्यसबेला यस्ता सयौं पत्रहरु हावामा उडाइएका थिए । मैले त्यसबेला ‘लण्डन टाइम्स’मा लेखेको थिएँ– “यी पत्रहरु जाली हुन् ।” तर मेरो बारेमा जति धेरै झूठो प्रचार गरियो र असत्य लेखियो, यदि मैले ती सबै झूठहरुको खण्डन गरिरहें भने त्यसको लागि मलाई बीस जना सहायकहरुको जरुरत हुनेछ ।

१६. तर, तपाईंले पेरिसका कम्युनिष्टहरुको समर्थनमा लेख्नु त भएको थियो नै, होइन र ?

हो त्यो हो । मैले पत्र लेखेको थिएँ । (बिस्तृत जानकारीको लागि माक्र्सको प्रसिद्ध किताब ‘फ्रान्समा गृहयुद्ध’ पढ्नुहोला) खासगरी उनीहरुको बारेमा प्रमूख अखवारहरुका मूख्य लेखहरुमा जुन झुठ लेखिएको थियो, त्यसको तुलनामा मैले उनीहरुप्रति सहानुभूतिसहित केही लेखेको थिएँ । ती अखवारहरुका सम्पादकीय लेखहरुमा पेरिस कम्युनको बारेमा जुन झुठ प्रचार गरिएको थियो, त्यसको खण्डनका लागि अंग्रेजी अखवारहरुमा छापिएका पेरिसबासीहरुका पत्रहरु नै काफी सक्षम छन् । कम्यूनको कारणले करीब ६० जनाको मृत्यु भएको थियो, जबकि मार्शल मेकमोहन र त्यसको हत्यारा सेनाले ६० हजारभन्दा बेसी मानिसहरुको हत्या गर्यो । कम्युनमाथि जति हिलो छ्यापियो, त्यति त आजसम्म कुनै पनि अरु आन्दोलनमाथि छ्यापिएको छैन ।

१७. त्यसो भए, के समाजवाद ल्याउनका लागि समाजवादीहरु हत्या र रक्तपातको वकालत नै गर्छन् ?

आजसम्म कुनै पनि महान आन्दोलन विना रक्तपात शुरु भएको छैन । अमेरिकाको स्वतन्त्रताका लागि रगत बग्यो । नेपोलियनले रक्तपातकै माध्यमबाट फ्रान्समाथि कब्जा गरे र त्यसरी नै उनको अन्त्य भयो । इटाली, बेलायत, जर्मनी र यहाँसम्म कि हरेक देशमा यस कुराको सबुत–प्रमाण फेला पर्नेछन् । यदि हत्याकै बारेमा विचार गर्ने हो भने पनि यो कुनै नयाँ चीज होइन । ओर्सिनीले नेपोलियनको हत्या गर्ने प्रयास गरे, इसाईहरुले हत्या गरे, क्रामबेलको जमानामा प्यूरिटनहरुले हत्या गरे । र वास्तविकता के हो भने राजाहरुले जति हत्या गरे, त्यति त अरु कसैले पनि गरेका छैनन् । यी सबै हत्याहरु वा हत्याका प्रयासहरु समाजवाद आउनुभन्दा अगावै भएका हुन् । आज यदि कसैले पनि राजकीय वा सरकारी व्यक्ति हत्याको प्रयास गरेमा त्यसको जिम्मेवारी समाजवादको टाउकोमा थोपरिदिने चलन बढेको छ । वर्तमान स्थितिमा जर्मन सम्राटको मृत्युबाट समाजवादीहरु धेरै नै दुःखित हुनेछन् । आफ्नो ठाउँमा उनी निकै उपयोगी व्यक्ति हुन् र अन्य राजनीतिज्ञहरुको तुलनामा बिस्मार्क आफ्ना अतिवादी कार्वाहीहरुका कारणले हाम्रा उद्देश्यहरुका लागि धेरै नै उपयोगी सावित भएका छन् ।

१८. बिस्मार्कको बारेमा तपाईंको आफ्नो मूल्याङ्कन के छ ?

जबसम्म नेपोलियनको पतन भएको थिएन, तबसम्म उनी एउटा प्रतिक्रियावादी व्यक्ति मानिन्थे । तर, जब नेपोलियनको पतन भयो, मानिसहरु उनलाई मूर्ख भन्न थाले । बिस्मार्कको पनि त्यही दशा हुनेछ । उनले एकीकरणको निहुँमा तानाशाहीको स्थापना गरे । तर, अहिले उनका काला कर्तूतहरुको रहस्य मानिसहरुलाई थाहा भइसकेको छ । उनको पछिल्लो चाल राज्य–विप्लव गर्ने एउटा प्रयास थियो । तर, त्यो पनि असफल हुनेछ । फ्रान्सका समाजवादीहरुले जस्तै जर्मनीका समाजवादीहरुले पनि १८७० को युद्धलाई दुई राजवंशहरुको कोरा युद्ध सम्झेर त्यसको विरोध गरे । उनीहरुले जर्मनीलाई सावधान गर्दै आफ्नो घोषणा–पत्रमा भने– यदि जनताले यस तथाकथित सुरक्षात्मक लडाइँलाई विजय–अभियानको रुपलिन दिएमा उनीहरु सैनिक तानाशाहीको दमनको शिकार हुनेछन् । र किसान–मजदुरहरुमाथि निर्मम अत्याचार हुनेछ ।

फ्रान्ससँग सम्मानजनक शान्तिको समर्थनमा सभाहरु गर्ने र घोषणापत्र निकाल्ने काम गरेवापत जर्मनीका सोशल डेमोक्रेटिक पार्टीमाथि जर्मन सरकारले दमन गर्यो र पार्टीका अनेक नेताहरुलाई कैद गर्यो । फेरि पनि त्यही पार्टीका प्रतिनिधिहरुले नै जर्मन संसदमा फ्रान्सका प्रान्तहरु जबर्जस्ती हडपेर जर्मनीमा मिलाएकोमा जोडदार विरोध गरिरहेका छन् ।

बिस्मार्कले शक्ति प्रयोग गरेर आफ्ना नीतिहरु लागू गरे । अनि मानिसहरुले उनको बुद्धिको तारिफ गरे । लडाइँ भयो, अनि जब बिस्मार्कको विजयका सम्भावनाहरु समाप्त भए, तब मात्र मानिसहरुले उनीबाट नयाँ विचारहरुको आशा गरे । तर, यस काममा उनी नराम्ररी असफल भए । उनीमाथि मानिसहरुको विश्वास कम हुन थाल्यो । उनको लोकप्रियता घट्न थाल्यो । उनलाई धन चाहिएको छ र राज्यलाई पनि धनको जरुरत छ । त्यसैले एउटा बनावटी संविधानको निहुँमा उनले एकीकरण र सेनासम्बन्धी आफ्ना योजनाहरुका लागि जनतामाथि कम्मरै भाँच्ने खालको कर लगाए । अनि अहिले उनी संविधानलाई नै रद्दीको टोकरीमा फ्याँकेर जनतामाथि अरु बेसी कर लगाउन चाहन्छन् । जनतामाथि मनपरी ढंगले कर लगाउनका लागि अब उनले समाजवादको हौवा खडा गरिरहेका छन् र दंगा–फसादको स्थिति सिर्जना गर्न सकभर प्रयास गरिरहेका छन् ।

१९. तपाईंलाई के बर्लिनबाट लगातार सूचना प्राप्त भइरहेको छ ?

हो हजुर, मेरा साथीहरुले मलाई बराबर सूचना पठाइरहेका छन् । जर्मनी आजभोलि पूरै शान्त छ र यसले गर्दा बिस्मार्क पूरै दुःखित भएका छन् । उनले हेसेलमन, राकोब र वाँमन आदि ४८ जना युवा नेताहरुलाई जर्मनीबाट निष्काशित गरेका छन् । (बाबेलको आत्मकथाअनुसार ६१ जना नेताहरुलाई देश–निकालाको सजाय दिइएको थियो । उनीहरुमध्ये अधिकांशले ४८ घण्टाभित्र जर्मनी छोड्नु पर्यो । यस्तो लाग्छ– संवाददाताले ४८ घण्टाको समयलाई निष्काशितहरुको संख्या ठान्न पुगे ।– अनु) ती नेताहरुले त्यसबेला जर्मनीका मजदुरहरुलाई शान्त पारिराखेका थिए ।

बिस्मार्कलाई यो कुरा थाहा थियो । उनलाई के पनि थाहा थियो भने त्यसबेला शहरमा करीब ७५ हजार मजदुरहरु भोकमरिको शिकार भइरहेका थिए । उनको अनुमान थियो– ती नेताहरु जर्मनीबाट बाहिर जानासाथ जनता बेचैन भएर विद्रोह गर्न थाल्नेछन् र आफूलाई रगतको होली खेल्ने सुवर्ण अवसर प्राप्त हुनेछ । सिङ्गो जर्मन साम्राज्यमा दमन–चक्र तीब्रतापूर्वक चल्नेछ र उनलाई आफ्नो ‘रक्तपात तथा दमन–चक्र’को प्रिय सिद्धान्तलाई सम्पूर्ण रुपमा व्यवहारमा लागू गर्ने मौका प्राप्त हुनेछ । त्यसपछि त जनतामाथि मनपरि ढंगले कर लगाउन पनि सजिलो हुनेछ । तर, अहिलेसम्म त्यहाँ कुनै दंगा–फसाद भएको छैन । बिस्मार्क यस्तो स्थिति देखेर हैरान भइरहेका छन् । र सबै राजनीतिज्ञहरु उनलाई हास्यपात्र बनाएर उडाइरहेका छन् ।

(यो अन्तर्वार्ता सवाल नेपाल नामक नेपाली अनलाइन पत्रिकाबाट साभार गरेका हौं ।लोकपाटी बाट साभार।)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार