मूल प्रवाहका नेता खिमराजको ‘संसार जित्ने अदम्य साहस’ (भिडिओ)

काठमाडौं । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता खिमराज चालिसेको जीवन आफैँमा संघर्षपूर्ण छ । चालिसेलाई नजिकबाट चिन्नेहरु उहाँको पारिवारिक अवस्था र समाजसेवाप्रतिको सक्रियता देखेर छक्क पर्छन् ।

गुल्मी अर्जैका खिमराज सानै उमेरमा मजदुरी गर्न भारततर्फ हान्निुभयो । भारतमा एकजना नेपाली मजदुरले जे जति संघर्ष गर्नुपर्छ, त्यो सबै खिमराजले ब्यहोर्नुभयो । त्यो सँगसँगै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा संगठित हुँदै भारतस्थित हजारौँ नेपालीलाई संगठित गर्दै र प्रशिक्षित बनाउन सक्रिय योगदान दिइरहनुभएको छ ।

सबैभन्दा महत्वपूर्ण कुरा खिमराज सपरिवार दीर्घरोगी छँदाछँदै पनि जुन उत्साह र आशाका साथ सामाजिक काममा खटिनुहुन्छ, आम मानिसलाई प्रभावित पार्ने विषय हो ।

खिमराज, उहाँकी पत्नी जुना र दुई छोरा कलेजोसम्बन्धी रोगबाट ग्रसित हुनुहुन्छ । पुरै परिवारले दैनिक औषधि सेवन गर्नुपर्छ । आर्थिक उपार्जनका लागि पसल सञ्चालन गर्नुहुन्छ । तैपनि मूल प्रवाहको संगठन विस्तार र नेपाली मजदुरहरुमा चेतना जगाउन रातदिन खटिनुहुन्छ । भारतमा ‘नेपाली एकता’ नामक पत्रिकाको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने खिमराजले ‘युगदर्शन’ मा पनि उत्तिकै योगदान दिइरहनुभएको छ ।

यिनै प्रेरणादायी खिमराज चालिसेले आफ्नै जीवनकथामा आधारित गीत ‘संसार जित्ने अदम्य साहस’ प्रस्तुत गर्नुभएको छ।

जनवादी गायक नवीन बस्यालको स्वरमा रहेको सो गीतको भिडियोमा खिमराज र जुनासँगै भारतस्थित मूल प्रवाहका साथीहरु देखिएका छन् । नवीन बस्यालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको सो भिडिओले खिमराजको जीवनी प्रस्तुत गर्नुका साथै मानिसलाई उत्साहका साथ जिउन र समाजका लागि केही योगदान गर्ने गरी अझ संघर्षपूर्ण जीवन जिउन प्रेरणा दिन्छ ।

खिमराज चालिसेको शब्द, नवीन बस्यालको स्वर, संगीत रहेको सो गितको एरेन्ज नारायण दंगालले गर्नुभएको हो । गीतले भावुक बनाउनुका साथै चेतना र उत्प्रेरणा जगाउन खोजेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार