
काठमाडौँ । नेकपा (मसाल) ले ललितपुर जिल्ला अदालतद्वारा नेकपा विप्लव पक्षका नेता, कार्यकर्ताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा विरोध गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०७९ साउन १६ गते जारी प्रेसवक्तव्यमा पक्राउ पुर्जीको विरोध गरिएको हो ।
गत २०७७ फागुन २० गते विप्लव पक्षसित सरकारको तीन बुँदे सम्झौता भएको स्मरण गराउँदै पार्टीले त्यसमा कारागारमा रहेका विप्लव पक्षका नेता, कार्यकर्ताको रिहाइ तथा मुद्दाहरू फिर्ता लिने भनिएकोमा अहिले पक्राउ पुर्जी जारी गर्नुलाई सरकारद्वारा सम्झौताको उल्लङ्घन बताइएको छ ।
तत्कालै विप्लव पक्षका कार्यकर्ताको रिहाइ र मुद्दा फिर्ताको माग गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“ललितपुर जिल्ला अदालतले २०७९ साउन १६ गते सोमबार नेकपा विप्लव पक्षका नेताहरूका विरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको घटनाप्रति नेकपा (मसाल) को ध्यानाकर्षण भएको छ ।
नेपाल सरकार र नेकपा विप्लव पक्षमाझ २०७७ साल फागुन २० गते तीन बुँदे लिखित सम्झौता भएको थियो । उक्त सम्झौताको तेस्रो बुँदामा विप्लव पक्षका कारागारमा रहेका कार्यकर्ताको रिहाइ तथा उनीहरूमाथि लगाइएका मुद्दाहरू खारेज गर्ने उल्लेख थियो । सो सम्झौताअनुसार विप्लव पक्ष सशस्त्र गतिविधि परित्याग गरेर शान्तिपूर्ण गतिविधिमा आइसकेको छ । सम्झौताअनुसार कारागारमा रहेका विप्लव पक्षका कार्यकर्ताको रिहाइ तथा मुद्दाहरू फिर्ता लिइनुपर्नेमा हाल ललितपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुनु सरकार र सो पक्षमाझ भएको लिखित सम्झौताको उल्लङ्घन भएको प्रष्टै छ ।
हामी नेपाल सरकार र विप्लव पक्षमाझ भएको उक्त सम्झौताको पालना हुनुपर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यस क्रममा आज जारी गरिएको पक्राउ पुर्जी फिर्ता लिन तथा सो पक्षका कारागारमा रहेका कार्यकर्ताको रिहाइ गर्न र उनीहरूमाथिका मुद्दा फिर्ता लिन आग्रह गर्दछौँ ।”
















