साम्राज्यवादीहरू राष्ट्रिय जनमोर्चालाई संसद्मा देख्न चाहान्नन् : केसी

  • "अखिल नेपाल किसान महासंघ (अप्फा) काठमाडौँको भेला सम्पन्न "
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादले राजमोलाई संसद्मा देख्न नचाहेको बताउनुभएको छ ।

    अखिल नेपाल किसान महासङ्घ (अप्फा) काठमाडौँको २०७९ भदौ २४ गते शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानको देवकोटा कक्षमा आयोजित जिल्ला भेलामा प्रमुख अतिथिको आसनबाट उद्घाटन मन्तव्य राख्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘तपाईंहरूलाई थाहै छ नि’ उहाँले अगाडि भन्नुभयो– ‘अमेरिकी साम्राज्यवाद सिंहदरबारमा राजमो र चित्रबहादुर केसीलाई प्रवेश दिनै चाहान्न ।’

    उहाँले राष्ट्रिय जनमोर्चाको संसद्मा प्रतिनिधित्व हुनु भनेको साम्राज्यवादीहरूको विरोधका लागि भएकाले उनीहरूको यस्तो विरोध आइरहेको बताउनुभयो ।

    उहाँले राजमोलाई प्रचण्ड र माधव नेपालहरू पनि राजमोलाई संसद्मा छिर्न नदिने पक्षमा रहेको दाबी गर्नुभयो ।

    ‘काङ्ग्रेसले बरु हाम्रो विरोधै गर्नका लागि भए पनि चित्रबहादुर सिंहदरबारमा चाहिन्छ भन्छ’ अध्यक्ष केसीले भन्नुभयो– ‘तर त्यही कुरा प्रचण्ड र माधवहरूले भन्न सक्दैनन् किनकि राजमोले उनीहरूको कथित कम्युनिस्टसम्बन्धी भ्रमको पर्दाफास गर्दछ ।’

    विदेशीको प्रायोजनमा प्रतिगमन ?
    सम्बोधनको क्रममा अध्यक्ष केसीले अहिले विदेशी प्रतिक्रियावादीहरू, खासगरी भारतीय साम्राज्यवादको प्रायोजनमा नेपालमा प्रतिगमन निम्त्याउने प्रयास भइरहेको बताउनुभयो ।

    ‘भारत पहिलेको जस्तो छ र ? २०१७ साल र २०५९ सालमा कू हुँदा भारतमा काङ्ग्रेस आईको सरकार थियो । त्यतिखेरका प्रधानमन्त्रीले संसद्मै नेपालमा भएको कूको विरोधमा बोलेका थिए’ उहाँले भन्नुभयो– ‘अहिले भारतमा त भारतीय जनता पार्टीको हिन्दु कट्टरपन्थीको सरकार छ । उसले नेपालमा हिन्दु राष्ट्र र राजतन्त्रको पुनस्र्थापना चाहान्छ ।’

    म्यान्मारको उदाहरण दिँदै अध्यक्ष केसीले एकपटक प्रजातन्त्र समाप्त भयो भने त्यसलाई फिर्ता ल्याउन कति अप्ठेरो हुन्छ भन्ने कुरा समयमै बुझ्न सबैलाई आग्रह गर्नुभयो ।

    ‘तपाईंहरूले देखिरहनुभएको छ नि म्यानमारमा’ उहाँले अगाडि भन्नुभयो– ‘चुनावबाटै त्यत्रो बहुमत ल्याएको आङ साङ सूकीको पार्टीको अवस्था के छ ?’

    उहाँले भन्नुभयो– ‘नेपालमा फेरि प्रतिगमन भयो भने हामीले म्यान्मारको जस्तै स्थिति ब्यहोर्नुपर्ने छ ।’

    भाग कतिलाई पुर्याउने ?
    पाँच दलको माझमा चुनावी तालमेल अझैसम्म टुङ्गो लागिनसकेको उहाँको भनाइ थियो । सबैले आफ्नो यथार्थ स्थितिभन्दा बढी दाबी गरेकाले अहिलेसम्म कुरा मिल्न नसकेको उहाँले बताउनुभयो ।

    ‘गोठ बस्ने गोठालो दाइ, खै मलाई कुराउनी ? एउटालाई होइन, दुईटालाई होइन कतिलाई पुराउनी’ लोक प्रचलित टुक्का प्रस्तुत गर्दै अध्यक्ष केसीले बाँकी चार दलमाझ नै कुरा नमिलेको बताउनुभयो ।

    ‘हामीले त पहिलो बैठकमै स्पष्ट भनेका थियौँ’ उहाँले भन्नुभयो– ‘हाम्रो जित्ने गरी सङ्गठन भएको बागलुङ र प्युठानमा हो । त्यहाँबाट हामीलाई दुईओटा प्रतिनिधि सभाको सिट चाहिन्छ । त्यहाँभन्दा बढाइचढाइ दाबी हामी गर्दैनौँ ।’

    नेता केसीले राजमोलाई एक सिटमा खुम्च्याउन खोजे चुनावी तालमेल नगरेर एकल रूपमा नै चुनाव लड्न आफूहरू तयार रहेको बताउनुभयो ।

    किसान देशभित्रै उपेक्षित
    अध्यक्ष केसीले नेपालका किसानहरू देशभित्रै उपेक्षित भइरहेको बताउनुभयो । सरकारको बेवास्ताका कारण यस्तो स्थिति आइपरेको उहाँको भनाइ थियो ।

    ‘भक्तपुरका किसानका उत्पादन महङ्गो, भारतबाट आएको उत्पादन सस्तो । यस्तो किन हुन्छ ?’ उहाँले भन्नुभयो– ‘सबैलाई थाहा छ, नेपाल सरकारले किसानलाई सहुलियत नदिँदा यस्तो स्थिति निर्माण भइरहेको छ ।’

    नेपालमा लसुन, प्याज जस्ता तरकारी जतासुकै उत्पादन हुन सक्ने भए पनि नेपाली जनताले तिब्बतको लसुन, प्याज खान बाध्य हुनुका पछाडि सरकारको यस्तै गलत नीति जिम्मेवार रहेको उहाँको भनाइ थियो ।

    जनताको हित गर्न भनेर संसद्मा गएका सांसदहरू नै आफ्नो निजी हितलाई केन्द्रमा राखेर काम गर्ने भएकाले यस्तो स्थिति आएको बताउँदै अध्यक्ष केसीले आगामी चुनावमा राजमोका उम्मेदवारलाई जिताउन आग्रहसमेत गर्नुभयो ।

    किसान महासंघको अध्यक्षमा पुनः घले
    भेलाले अखिल नेपाल किसान महासङ्घ (अप्फा) को अध्यक्ष पुनः केबी घलेलाई चयन गरेको छ । त्यस्तै, समितिको सचिवमा मोहन जिसी, कोषाध्यक्षमा बेगबहादुर खड्का र सदस्यहरूमा तिलक गुरुङ, दयाराम लामा, मदन तामाङ, कृष्ण केसी, ज्ञानेन्द्र शेरचन, कृष्ण सिउठानी मगर, अनिता श्रेष्ठ, नकुलराज गिरी, हरिराम पुरी र सुदीप सापकोटा रहनुभएको छ ।

    भेलामा अप्फाका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मी, राष्ट्रियसभामा राजमोका सांसद राजेश विश्वकर्मा, अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंह, राजमो केन्द्रीय सदस्य लालबहादुर थापा, अप्फाका केन्द्रीय सदस्य बी.बी. विष्ट, सल्लाहकार अधिवक्ता रामप्रसाद भुसाल र नीलगोविन्द महर्जन तथा नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीले सम्बोधन गर्नुभएको थियो ।

    सो अवसरमा राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, जातीय समता समाजका महासचिव भक्त विश्वकर्मा, अखिल नेपाल कानुन व्यवसायी सङ्घ (अन्ला) का महासचिव अधिवक्ता लक्ष्मणदेव पाण्डे, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका राजेश गोसाईं, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सचिव प्रकाश थापामगर, अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य प्रेम मोक्तान, अखिल (छैठौं) का केन्द्रीय सचिव सरोजमान सिंह, सुदूर पश्चिम–काठमाडौँ सम्पर्क समितिका अध्यक्ष भीष्म जोशी र भूमि आयोग भक्तपुरका सदस्य शारदा गोसाईंको आतिथ्य रहेको थियो ।

    केबी घलेको अध्यक्षता तथा छवि खनालको सञ्चालनमा अघि बढेको उक्त भेलामा मोहन जिसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार