नक्कली नविनीकरण

        हेम बिजी

रातको एघार बज्दै थियो । गल्लीका कुकुरहरु भुकिरहेको आवाज आईरहेको थियो। फोन स्वीच अफ गरेर म सुत्न लाग्दै थिए तर फोनमा कालिङ टोन बज्यो। फोन उठाएर “हेलो” म बोले । “काका आरमै हुनुहुन्छ ?” उताबाट आवाज आयो। तर मेरो लागि त्यो परिचित आवाज थियो । छोरो प्रविन अर्थात मेरो दाजुको छोरा । मैले बोलीबाटै चिने । “नम्बर नयाँ छ नि ? अनि आरमै छौं बाबु ?” मैले सोधे । “बिलकुल आरम छु काका’ उसले भन्यो- “लगभग एक साल घर बसेर फेरी हैदारावाद फर्केर पुरानै जागिरमा छु । बिरामी भए । समयमै फर्किन सकिन । आज रातको डिउटीमा छु । पुरानो सिम नचल्ने भएछ । नयाँ सिमबाट बोल्दै छु । हजुरको नम्बर डायरीमा रहेछ ।” उसले बेलीविस्तार साथ बोल्यो । “रातको समयमा फोन गरेर डिस्टप भयो कि काका ? घर जाने बेलामा सम्पर्क गर्न सकिन । दुःख नमान्नु होला ।” म बोल्नु भन्दा पहिला उही नै फेरी बोल्यो ।

“दुःख पनि छैन । डिस्टप पनि छैन छोरा” मैले भने- म खुसी छु । “अनि केरलामा रहनु हुने आफन्त र साथीहरु आरमै हुनुहुन्छ ?” उसले जिज्ञासा राख्दै सोध्यो। “सम्पूर्ण ठिक छौं । आरम छौं । केरला राज्यमा यतिबेला निकै पानी परिरहेको छ बाबु” मैले भने। “भोली डिउटी के हो बाबु ? रातको कि दिनको ?” उ बोल्नु भन्दा पहिला मैले नै सोधे । “काका डिउटी त रातकै हो तर छुट्टी लिने विचारमा छु” किन ? मैले एक शब्दमा जिज्ञासा राख्दै प्रश्न गरे । “भोली एरिया सम्मेलन छ काका । जसरी पनि उपस्थित हुनु पर्छ भन्दै थिए । दिनमा सम्मेलन तिरै भुलिन्छ होला ।” फेरी उ आफै बोल्यो- “म शुरुमा नेपालबाट आउँदा साथ सदस्यता लिएको पनि एक बर्ष बितेछ । सम्मेलन अघि सदस्यताको नविनीकरण गर्नु पर्छ भन्दै अस्ति मेरो नविनीकरण गर्नु भयो । नविनीकरण गर्न आउनु भएको थियो नगर अध्यक्ष भ्रमराज ।”

“भ्रमराज” यो नाम सुन्दा साथ फुटपरस्त गन्ध आयो मलाई । एकता समाज विरुद्ध हैदारावादमा फुटपरस्त गतिविधि गर्ने तिनै व्यक्ति थिए भ्रमराज । संगठन विरुद्ध अनुशासनविहिन र अराजक गतिविधि सञ्चालन गरेको कारण क्षेत्रीय समितिका मान्छेहरु कारबाहीमा फालिदा उनी पनि संगै फालिएका थिए, नगर समितिबाट भ्रमराज । “काका किन बोल्नु हुन्न ? लाईनमा त हुनुहुन्छ ?” भ्रमराजबारे मैले साेंच्दा साेंच्दै छोरो प्रविन उताबाट बोल्यो। “म लाईनमै छु बाबु” मैले भने- “छोरो प्रविन यतिबेला एकता समाज विरुद्ध केही अनुशासनविहिन, अराजक र फुटपरस्त तत्वहरुले आफ्नो व्यक्तिगत स्वार्थको महत्वकांक्षा पुरा गर्न नयाँ, सोझा र वैचारिक स्तर कम भएका भारत प्रवासका नेपालीहरुलाई भ्रम छर्दै हिडेका छन् । तिनै मध्यका एक हुन् भ्रमराज ।” मैले भाषण शैलीमा भने- “तिमीलाई पनि भ्रममा पारेर नविनीकरण गरेछन् ।” “हो र काका” उसले भन्यो- “संगठनको नाम पनि एकता समाज नै छ, र झण्डा पनि हाम्रै पुरानो एकता समाजकै जस्तै छ ।” उ बोल्दा बोल्दै मैले सोधे- “केन्द्रीय अध्यक्षले हस्ताक्षर गरेको नाम के छ छोरा ?” मैले नबुझे झै सोधे । “फुटभक्त” उसले भन्यो । हाम्रो एकता समाजका केन्द्रीय अध्यक्ष नाम हो- नीतिराम । र उहाँकै हस्ताक्षर भएको नविनीकरण प्याड छ ।” फुटभक्तको हस्ताक्षर भएको नविनीकरण प्याड त फुटपरस्त समुहको हो । नक्कली प्याड ।” मैले यति भने पछि प्रविन बोल्यो- “म त भ्रममा परेछु काका । “हो बाबु” मैले भने- हैदारावादमा मात्र होईन चेन्नईमा पनि फुटपरस्त तत्वहरुले फुटपरस्त गतिविधि गरिरहेका थिए तर तिनीहरूलाई कारबाही गरेर फ्याँकी दिएको खबर आएको छ तर पनि केही भगौडाहरु चिच्याउन छोडेका छैनन्।” “अनि काका हजुर रहेको केरलामा फुटपरस्तहरुको गतिविधि के छ ?” उसले सोध्यो । मैले भने- “खासै केहि छैन बाबु । उनीहरूको भ्रम धेरै दिन टिक्दैन। तर एक दुई जनालाई तिमीलाई जस्तै नक्कली नविनीकरण गरेको हल्ला छ ।” मैले कुरा नटुङ्गिदै छोरो प्रविन बोल्यो- “काका भोली म नक्कल नविनीकरण त्याग्छु र फुटपरस्त तत्वहरुसँग मेरो कुनै संगठानिक सम्बन्ध नरहेेको घोषणा गर्छु । सामाजिक सञ्जालमा हेेर्नु होला मेरो लामो वक्तव्य ।” “हुन्छ” उनको भनाईलाई थप्दै “भोली नै नक्कली नविनीकरण विरुद्ध वक्तव्य दिनु अनि तुरुन्तै हैदारावादका हाम्रो नगर अध्यक्ष एकतामानसंग सम्पर्क गर्नु प्रविन।” मैले भने।

“हुन्छ काका” छोरो प्रविन बोल्यो- अब आरम गर्नुहोस् काका । “हुन्छ भोली कुरा गरौला” मैले भने । उसले फोन राख्यो । मैले पनि फोन राखेर स्वीच अफ गरेर सुत्नै लाग्दा रातको बाह्र बज्नै लागेको थियो । बाहिर सडकमा कुकुरहरुको आवाज कम हुँदै गएको थियो तर सडकमा गुडेका गाडीको आवाज र सडक बत्तीको उज्यालो भने कोठा भित्रसम्म आईरहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार