प्रतिगमन परास्त गर्न र जनजीविकाको पक्षमा आवाज उठाउन संसदमा जाँदैछु : केसी

  • पटक पटक संसद भत्काउने एमालेलाई भोट माग्ने नैतिक अधिकार छैन ।- चित्र बहादुर के.सी
  • बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा (एमाले) लाई भोट माग्ने नैतिक अधिकार नभएको बताउनुभएको छ ।

    आज बागलुङमा आयोजित चुनावी अभियानलाई सम्बोधन गर्दै अध्यक्ष केसीले पटक–पटक संसद्लाई भत्काउनेलाई भोट दिन नहुने बताउनुभयो ।

    सत्ता गठबन्धनका तर्फदेखि प्रतिनिधिसभामा बागलुङ–१ का उम्मेदवारसमेत रहनुभएका केसीले अहिलेको पाँच दलीय गठबन्धन संविधानको रक्षाका लागि बनेको भन्दै मंसिर ४ गतेको निर्वाचनमा प्रतिगमन ढल्ने दाबी गर्नुभयो । केपी ओली नेतृत्वको एमाले सरकार बनेमा संविधान मासिने र राजतन्त्र फर्कने हुँदा यसलाई रोक्न जनता अग्रसर हुनु पर्नेमा उहाँको जोड थियो ।

    ‘एमालेलाई अब भोट माग्ने अधिकार छैन, केपीले नैतिक अधिकार गुमाइसके, पटकपटक संसद् भत्काउनेलाई अब जनताले सबक सिकाउने छन्’, अध्यक्ष केसीले भन्नुभयो, ‘गठबन्धन संविधानको रक्षा र लोकतन्त्र बचाउन बनेको हो, अहिले जति कराए पनि मङ्सिर ४ पछि प्रतिगमन टाउको उठाउन नसक्ने गरी ढल्नेछ, नेपाली जनताले ओलीलाई चिनिसके ।’

    उहाँले आगामी निर्वाचन प्रतिगमन र अग्रगमनका बीच प्रतिस्पर्धा हुने बताउनुभयो । प्रतिगमनको विरुद्धमा र राष्ट्रियताको पक्षमा देशलाई जोगाउने भूमिका खेलेको हुँदा सहजरूपमा चुनाव जित्ने केसीको दाबी छ । नेता केसीले संसद्मा नीति बनाउन जाने भए पनि नागरिकलाई विकाससँग जोड्न आफूले सक्दो पहल गर्ने बताउनुभयो । जनता विकासको पर्खाइमा रहेको आफूले महसुस गरेको भन्दै राष्ट्रिय योजनालाई पूरा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । आफू यसपटक प्रतिगमनलाई परास्त गर्न र जनजीविकाको पक्षमा संसदमा आवाज उठाउन चुनावमा होमिएको बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार