भारतको कुल सम्पत्तिको ४० प्रतिशतभन्दा बढी धनीहरूसँग

नयाँ दिल्ली । विश्वमा धनी र गरिब नागरिकबीचको खाडल बढ्दै गएको छ । भारतका २१ अर्बपतिसँग देशका ७० करोड भारतीयभन्दा बढी सम्पत्ति रहेको अक्सफामको प्रतिवेदनले खुलासा गरेको छ ।

अक्सफामको रिपोर्टका अनुसार सन् २०२० मा कोरोना महामारी सुरु भएपछि नोभेम्बर २०२१ सम्म धेरै भारतीयहरूले रोजगारीको समस्याको सामना गर्नु परेको थियो । यस दौरानमा कैयौंले आफ्नो जागिर पनि गुमाउँदा धेरैले आफ्नो वर्षौंको बचत गुमाए । तर, अर्कातिर पुँजीपतिहरूको सम्पत्ति दिनप्रतिदिन बढ्दै गयो । यो वृद्धि साधारण होइन, यो १२१ प्रतिशत जति हो । कोरोना महामारीका बेला भारतीय पुँजीपतिको सम्पत्ति दैनिक ३ हजार ६०८ करोड रुपैयाँले बढिरहेको थियो ।

अक्सफामको प्रतिवेदनमा यो पनि भनिएको छ कि सन् २०२१ मा भारतको पाँच प्रतिशत जनसंख्यासँग मात्रै देशको कुल सम्पत्तिको ६२ प्रतिशत थियो । अर्कोतर्फ, भारतको ५० प्रतिशत जनसंख्यासँग देशको सम्पत्तिको ३ प्रतिशत मात्रै । अक्सफामको यो प्रतिवेदन ‘सर्भाइभल अफ द रिचेस्टः द इन्डिया स्टोरी’ शीर्षकमा प्रकाशित भएको छ । यस रिपोर्टका अनुसार भारतमा अर्बपतिको संख्या २०२० मा १०२ बाट बढेर २०२२ मा १६६ पुग्ने लक्ष्य छ । यो प्रतिवेदन अब स्विट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चमा प्रस्तुत हुने बताइएको छ ।

(हिन्दी पत्रिका संडे पोष्टबाट साभार)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार