धर्मराज शर्मा, कोट्टयाम केरला, ८ मार्च २०२३ । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, कोट्टयाम नगर समिति अन्तर्गत महिला बिभागको आयोजनामा ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ ।
महिला विभागकी संयोजकको अध्यक्षता र बालिकादेवी शर्माको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, दक्षिण भारत क्षेत्रीय सह—सचिव तथा नगर अध्यक्ष धर्मराज शर्मा, धन कुमारी के.सी. र अखिल भारत नेपाली विद्यार्थी संघ दक्षिण भारत क्षेत्रीय सदस्य प्रदिप शर्मा, नगर सदस्य मनोज पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
ज्ञात—अज्ञात सहिदहरुको सम्झनामा एक मिनेट मौनधारण सहित सम्पन्न उक्त कार्यक्रममा धर्मराज शर्मा, धन कुमारी के.सी., मनोज पौडेल तथा प्रदिप शर्माले कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो । उहाँहरुले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको महत्वबारे प्रकाश पार्नुका साथै महिलाहरुको हक, हित र अधिकारको पक्षमा लड्न सबै महिलाहरु मूल प्रवाहको रक्त रञ्जित झन्डा मुनि गोलबन्द हुनुपर्ने कुरामा पनि जोड दिनुभएको थियो ।