ऐतिहासिक तीन अभियानलाई सफल पारौँ ।
कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गरौँ ।
नेकपा (मसाल) को ऐतिहासिक तीन अभियानसम्बन्धी प्रस्ताव
(२०८० साल वैशाख १२ गते सम्पन्न नेकपा (मसाल) को पी.बी. को बैठकद्वारा पारित तथा १३ र १४ गते सम्पन्न राष्ट्रिय प्रशिक्षण भेलामा प्रस्तुत र परिमार्जित प्रस्ताव)
(क)
१. नेकपा (मसाल) ले आगामी मे १ देखि अर्काे सालको मे १ का बिच अर्थात् २०८० साल वैशाख १८ गतेदेखि २०८१ साल वैशाख १९ गतेसम्म “ऐतिहासिक तीन अभियान” सञ्चालन गर्ने निर्णय गरेको छ । ती तीन अभियान यस प्रकार हुने छन् : प्रथम– लेनिनको शताब्दी स्मृतिदिवस† द्वितीय– पार्टीको हीरक जयन्तीको वर्ष र तृतीय– नेकपा (मसाल) को नवौँ महाधिवेशन । उक्त तीनओटै अभियानअन्तर्गत हामीले एक वर्षसम्म भव्य रूपले विभिन्न कार्यक्रम सञ्चालन गर्ने छौँ । त्यस प्रकारको अभियानको खास गरेर तीनओटा उद्देश्यहरू हुने छन् : पार्टीको गौरवमय परम्परालाई अरू उच्च स्तरमा अगाडि बढाउने, पार्टी कार्यकर्तालाई मार्क्सवादी–लेनिनवादी सिद्धान्तले दीक्षित गर्ने, पार्टीको सङ्गठनात्मक अवस्थालाई विस्तार र सुदृढीकरण गर्ने तथा कम्युनिस्ट आन्दोलनलाई अरू उच्च स्तरमा अगाडि बढाउने । हामीलाई विश्वास छ : त्यसरी हामीले नेपालको कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी रूपान्तरण गर्न सक्ने छौँ र त्यो अहिलेको ऐतिहासिक आवश्यकता पनि भएको छ ।
२. आज विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक र अत्यन्त कमजोर अवस्थामा छ । कम्युनिस्ट आन्दोलन खालि भौतिक रूपले मात्र कमजोर भएको छैन, सैद्धान्तिक दृष्टिकोणले पनि धेरै कमजोर भएको छ । अर्का शब्दमा, कम्युनिस्ट आन्दोलन खालि सङ्गठनात्मक रूपले मात्र पहिलेको तुलनामा सीमित रहेको छैन, सैद्धान्तिक रूपले पनि संसारका कम्युनिस्ट पार्टीको स्तर धेरै तल्लो अवस्थामा पुगेको छ । त्यो कुरा नेपालको बारेमा पनि सत्य हो । बाह्य प्रकारले हेर्दा नेपालको कम्युनिस्ट आन्दोलन अन्तर्राष्ट्रिय स्तरमा नै धेरै शक्तिशाली जस्तो देखिन्छ तर त्यो कुरामा सत्यता छैन । नेपालमा जे जति कम्युनिस्ट सङ्गठन छन्, चिन्तन, दृष्टिकोण, क्रान्तिकारी स्प्रिट वा समग्र रूपमा भन्नुपर्दा सैद्धान्तिक दृष्टिकोणले उनीहरूको अवस्थामा धेरै नै ह्रास आएको छ । बाहिरबाट हेर्दा उनीहरू कम्युनिस्ट पार्टी जस्ता देखिन्छन् किनभने उनीहरूले हँसिया–हथौडाअङ्कित रातो झन्डा बोकिरहेका हुन्छन् र उनीहरूको नाममा पनि कम्युनिस्ट शब्द जोडिएको हुन्छ । त्यो कुरा रूपका दृष्टिकोणले नै सत्य हो । सारका दृष्टिकोणले उनीहरूमा कम्युनिस्ट चरित्रको पक्ष अत्यन्त न्यून हुन्छ । त्यसको असर हाम्रो पार्टी नेकपा (मसाल) मा पनि परेको छ ।
हामीले हाम्रो पार्टीको कम्युनिस्ट चरित्रमा विचलन आउन नदिन धेरै नै सङ्घर्ष गरिरहेका छौँ । दसकौँदेखि सैद्धान्तिक, राजनीतिक र सङ्गठनात्मक रूपले पनि त्यसका लागि सङ्घर्ष गर्दै आएका छौँ । त्यसको परिणामस्वरूप हामी हाम्रो पार्टीको कम्युनिस्ट चरित्रको रक्षा गर्न धेरै नै सफल भएका छौँ तर त्यसका बाबजुद कम्युनिस्ट आन्दोलनमा विश्वव्यापी रूपमा र नेपालमा पनि कम्युनिस्टमा देखा परेको विचलनका प्रवृत्ति हाम्रो पार्टीमा पनि देखा पर्दै वा बढ्दै पनि गइरहेका छन् । त्यसकारण पार्टीको कम्युनिस्ट चरित्रको रक्षाका लागि अब हामीले निर्णायात्मक प्रकारको सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ । हामीलाई विश्वास छ : ऐतिहासिक तीन अभियानले त्यो सङ्घर्षमा धेरै मदत पु¥याउने छ । हामीले ती तीन अभियानलाई सञ्चालन गर्ने जुन निर्णय गरेका छौँ, त्यसलाई हामीले खालि औपचारिकताको रूपमा मात्र होइन, अहिलेको पार्टीको अवस्थामा परिवर्तन गर्ने दृष्टिकोणले नै लिनुपर्दछ । त्यही नै हाम्रा तीन अभियानको सफलता हुने छ ।
३. अहिले पार्टी वा पार्टीका सदस्यहरूको अवस्थामा सर्सरी प्रकारले मात्र विचार गर्ने हो भने पनि यो कुरामा कुनै शङ्का रहँदैन कि हाम्रो सर्वहारा चरित्रमा धेरै नै ह्रास भएर गएको छ । पार्टीको करिब आधा शताब्दी पहिलेको र अहिलेको अवस्थामा तुलनात्मक रूपले विचार गर्ने हो भने त्यो कुरा प्रष्ट हुने छ । दुःखको कुरा यो छ कि जुन साथीहरूले आधा शताब्दीपहिले पार्टीमा प्रवेश गरेर काम गर्न थाल्नुभएको थियो उहाँहरूमध्ये धेरै जनाको निधन हुँदै गइरहेको छ । त्यो बेला हाम्रो पार्टी अविभाजित थियो । अब त्यो पार्टी कैयौँ टुक्रामा विभाजित छ । त्यसको असर खालि हाम्रो भौतिक स्वरूपमा मात्र परेको छैन, सैद्धान्तिक दृष्टिकोणले पनि हाम्रो पार्टीमा त्यो बेलाको तुलनामा धेरै ह्रास आएको छ । कम्युनिस्ट पार्टीको सर्वहारा दृष्टिकोणले यो कुरामा जोड दिन्छ कि एउटा कम्युनिस्ट कार्यकर्ताले व्यक्तिगत फाइदा वा महत्त्वाकाङ्क्षा पूरा गर्ने कुरा नसोचिकन पार्टी र क्रान्ति वा सम्पूर्ण शोषित जनताको हित पूरा गर्ने कुरामाथि ध्यान दिएर नै काम गर्नुपर्दछ तर त्यो सर्वहारा दृष्टिकोणको सट्टामा व्यक्तिगत फाइदा वा महत्त्वाकाङ्क्षाका लागि काम गर्ने प्रवृत्ति पार्टीमा बढ्दै गइरहेको छ । त्यसले गर्दाखेरि पार्टीको सम्पूर्ण क्रान्तिकारी चरित्रमा काफी हदसम्म ह्रास हुँदै गएको छ । त्यो अवस्थामा हामीले रूपान्तरण गर्नुपर्ने आवश्यकता छ । त्यसपछि नै हाम्रो पार्टी वास्तवमा एउटा कम्युनिस्ट पार्टी बन्ने छ । पार्टीलाई त्यस रूपमा रूपान्तरण गर्नु नै हाम्रा तीन अभियानको मुख्य उद्देश्य हो तर त्यो उद्देश्य त्यो बेला नै सफल हुने छ, जब त्यो उद्देश्यलाई पार्टीका सबै सदस्यले आत्मसात गर्ने छन् । खास गरेर सम्पूर्ण संसारमा र विश्व कम्युनिस्ट आन्दोलनमा नै व्यक्तिगत फाइदाका लागि काम गर्ने प्रवृत्ति हावी हुँदै गएको अवस्थामा पार्टीको त्यसरी रूपान्तरण गर्ने कार्य सजिलो हुने छैन तर त्यसभित्र जोडिएको अर्काे समस्या यो हो कि त्यस प्रकारको क्रान्तिकारी रूपान्तरणबिना कम्युनिस्ट पार्टीलाई वास्तविक अर्थमा कम्युनिस्ट पार्टी बनाउने र त्यसका उद्देश्य सफल पार्नु पनि सम्भव हुने छैन । त्यसैले त्यो कार्य जति कठिन भए पनि त्यो उद्देश्य पूरा गर्नुपर्दछ ।
४. पार्टीको क्रान्तिकारी रूपान्तरणको सन्दर्भमा त्यससँग जोडिएको एउटा अर्को आधारभूत र दीर्घकालीन महत्त्वको पक्षप्रति पनि हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । पार्टीको क्रान्तिकारी रूपान्तरण, क्रान्तिकारी आन्दोलनको विकास, विद्यमान व्यवस्थामा आमूल परिवर्तनको लागि आधार तयार पार्न नयाँ पिँढीलाई पनि क्रान्तिकारी रूपमा प्रशिक्षित र दीक्षित पार्ने कुराले निर्णयात्मक महत्त्व राख्दछ । प्रकृतिको नियमअनुसार नै वर्तमान पिँढीको क्रमशः अवसान र अन्त हुँदै जानु अवश्यम्भावी छ । त्यसको ठाउँ नयाँ पिँढीले लिँदै गयो भने मात्र क्रान्तिकारी आन्दोलनमा निरन्तरता आउने छ र पार्टी आफ्नो उद्देश्य पूरा गर्न सफल हुन सक्ने छ । समाजका सचेत र अग्रगामी तत्त्व समावेश भएर नै कम्युनिस्ट पार्टीको, अझ स्पष्ट शब्दमा भन्ने हो भने क्रान्तिकारी कम्युनिस्ट पार्टीको निर्माण हुन सक्दछ । मार्क्सवादी–लेनिनवादी दर्शनले हामीलाई त्यही शिक्षा दिन्छ । निश्चय नै नयाँ पिँढी कम्युनिस्ट पार्टीको लागि आधारभूमि हो तर नयाँ पिँढी भएकाले मात्र होइन, उनीहरूमध्येबाट क्रान्तिकारी सिद्धान्त र दृष्टिकोणबाट लैस, लेनिनवादी सङ्गठनात्मक सिद्धान्तका आधारमा अनुशासित, पार्टी र क्रान्तिका लागि समर्पणको भावनाबाट ओतप्रोत तथा देश, जनता र समाजको सेवाको लागि तत्पर नयाँ पिँढीले नै क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने क्षमता राख्दछ । हामीले त्यस प्रकारको नयाँ पिँढी तयार पार्ने प्रयत्न गर्नुपर्दछ । त्यसरी क्रान्तिकारी कम्युनिस्ट आन्दोलन लगातार अगाडि बढिरहन सक्दछ ।
५. लेनिनको शताब्दी स्मृतिदिवसलाई हामीले यो वर्षभरि नै मनाउने निर्णय गरेका छौँ । मार्क्स–एङ्गेल्सका दार्शनिक सिद्धान्तलाई व्यावहारिक रूप दिने प्रश्नमा लेनिनको नै सबैभन्दा महत्त्वपूर्ण भूमिका रहेको छ । खास गरेर कम्युनिस्ट पार्टीलाई क्रान्तिकारी रूपमा सङ्गठन गर्ने तथा आन्दोलनका रणनीति र कार्यनीतिलाई द्वन्द्ववादी तरिकाले निर्धारित गर्ने कार्यमा उनको नै निर्णयात्मक योगदान रहेको छ । उनले कायम गरेको पार्टीको सङ्गठनात्मक प्रणाली, खास गरेर जनवादी केन्द्रीयताको सिद्धान्त नै कम्युनिस्ट पार्टीको सङ्गठनात्मक आधारस्तम्भ हो तर गत दसकमा दर्शन र राजनीतिको क्षेत्रमा जस्तै लेनिनवादी सङ्गठनात्मक सिद्धान्तमा पनि संशोधनवाद हावी हुँदै गएको छ र त्यसको परिणामस्वरूप पार्टीको सङ्गठनमा अराजकता वा अनुशासनविहीनताका प्रवृत्ति बढ्दै गएका छन् । अर्काे शब्दमा, लेनिनवादी सङ्गठनात्मक सिद्धान्तमा पनि संशोधनवादी प्रवृत्ति बढ्दै गएका छन् । लेनिनले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तको स्थापना गर्दा एकातिर, पुँजीवादी वा सामाजिक प्रजातन्त्रवादी दृष्टिकोण र अर्कातिर, स्वयम् आफ्नै पार्टीमा विद्यमान अराजकतावादी दृष्टिकोणका विरुद्ध पनि कडा र लामो सङ्घर्ष गर्नुपरेको थियो । अराजकतावादी प्रवृत्तिका विरुद्ध ता मार्क्सवादी–लेनिनवादीले मार्क्स–ऐङ्गेल्सको कालदेखि नै सङ्घर्ष गर्दै आउनुपरेको थियो र त्यो प्रवृत्तिका विरुद्ध अहिले पनि हामीले बारम्बार सङ्घर्ष गरिरहनु परेको छ ।
द्वितीय अन्तर्राष्ट्रियको समयमा सामाजिक प्रजातन्त्रवादीको धार मार्क्सवादी–लेनिनवादीबाट अलग भएको थियो र त्यो सामाजिक प्रजातन्त्रवादी धार हाम्रो देशमा अहिले नेपाली काङ्ग्रेसको रूपमा कायम छ । त्योबाहेक पुँजीवादीले सधैँ लेनिनको सङ्गठनात्मक सिद्धान्तलाई तानाशाही प्रवृत्ति भनेर आलोचना गर्दै आएका छन् । हाम्रो जस्तो देशमा निम्न पुँजीवादी प्रवृत्ति ता जरो गाडेर नै बसेको छ । यस प्रकारका विभिन्न प्रवृत्तिले हाम्रो पार्टीमा पनि असर पार्दछन् र त्यसको परिणामस्वरूप लेनिनको सङ्गठनात्मक सिद्धान्तलाई एक वा अर्काे प्रकारले संशोधन गर्ने वा खण्डन गर्ने प्रवृत्ति पनि पार्टीमा देखा पर्ने गरेका छन् । अहिलेको तीन अभियानअन्तर्गत लेनिनको शताब्दी स्मृतिदिवसको सन्दर्भमा हामीले लेनिनका सिद्धान्तद्वारा पार्टीका कार्यकर्तालाई प्रशिक्षित गर्ने कुरामा पनि विशेष जोड दिने छौँ । त्यसरी पार्टीको सङ्गठनात्मक संरचनालाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्त वा जनवादी केन्द्रीयताको स्तरमा उठाउने हाम्रो प्रयत्न हुने छ । त्यसका लागि हामीले देशव्यापी रूपमा लेनिनका सङ्गठनात्मक सिद्धान्तको प्रशिक्षण दिने वा विभिन्न प्रकाशन गर्ने प्रयत्न गर्ने छौँ । त्यस सन्दर्भमा लेनिन स्मृतिदिवस अर्थात् २०८० को माघ ७ गते लेनिनसम्बन्धी पुस्तक प्रकाशित गर्ने पनि हाम्रो प्रयत्न हुने छ ।
६. १९४९ अप्रिल २२ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो र अप्रिल २२ अर्थात २०८० वैशाख ९ गतेबाट पार्टीको स्थापना भएको ७५ वर्ष लागेको छ । त्यसरी त्यो पार्टीको हीरक जयन्ती हो । यस सन्दर्भमा हामीले सुरुमा नै दुईओटा कुरामाथि प्रकाश हाल्न चाहान्छौँ । हामीले ७५ वर्ष सुरु भएको दिनलाई हीरक जयन्ती मानेका छौँ तर यसबारे कतिपय लेखक वा शब्दकोशको के सोचाइ छ भने ७५ वर्ष सुरु भएको दिनलाई ‘प्लेटिनियम’ भन्नुपर्दछ तर कतिपय शब्दकोशमा त्यसलाई हीरक जयन्ती पनि भनेर उल्लेख गरिएको छ । यहाँ हामीले त्यो मान्यतालाई आधार बनाएर ७५ वर्ष सुरु भएको दिनलाई हीरक जयन्ती नै मानेका छौँ र त्यसअनुसार पार्टीको ७५ वर्ष सुरु भएको दिनलाई हीरक जयन्तीका रूपमा मनाउने निर्णय गरेका छौँ । अब हामीले यो वर्षभरि नै हीरक जयन्ती मनाउने छौँ र त्यसको समापनको दिनमा भव्य कार्यक्रमको आयोजना गर्ने छौँ ।
७. गत ७५ वर्षको इतिहास अन्तर्राष्ट्रिय र राष्ट्रिय दुबै रूपले अत्यन्त महत्त्वपूर्ण र गौरवपूर्ण रहेको छ । त्यो कालमा नै विश्व समाजवादी व्यवस्थाको निर्माण भयो । साम्राज्यवादका विरुद्ध पनि विश्वव्यापी रूपमा ठुला ठुला आन्दोलन उठे र साम्राज्यवादको शक्तिमा धेरै ह्रास आयो । नेपालमा पनि त्यो कालमा राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र राजतन्त्रका विरुद्ध पनि ठुला ठुला आन्दोलन भए र ती व्यवस्थाको अन्त भयो । ती आन्दोलनमा कम्युनिस्ट पार्टीको पनि महत्त्वपूर्ण र अग्रगामी भूमिका रह्यो । नेपालको सामन्ती आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि कम्युनिस्ट पार्टीले महत्त्वपूर्ण भूमिका खेल्यो र त्यसको परिणामस्वरूप कानुन र जनजीवनमा कैयौँ महत्त्वपूर्ण सुधार भए । देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका लागि साम्राज्यवादी शक्तिहरू, विशेषतः भारतीय साम्राज्यवादका विरुद्ध कम्युनिस्ट पार्टीले ऐतिहासिक भूमिका खेल्दै आएको छ । पछिल्ला दिनमा अमेरिकी साम्राज्यवादका विरुद्ध पनि हाम्रो पार्टीले आफ्नो पहलकदमी वा अन्य वामपन्थी शक्तिसित गठबन्धन गरेर महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । त्यसरी समग्र रूपमा पार्टीको स्थापना भएदेखि अहिलेसम्म हाम्रो पार्टीको भूमिका अत्यन्त गौरवपूर्ण रहेको छ ।
८. गत ७५ वर्षको इतिहासमा अन्तर्राष्ट्रिय र राष्ट्रिय रूपमा कम्युनिस्ट आन्दोलनमा धेरै नै क्षति पनि भएको छ । त्यो अवधिको सबैभन्दा प्रमुख क्षति ता विश्व समाजवादी व्यवस्थाको पतन, विश्वका कैयौँ ठुला कम्युनिस्ट पार्टीको विघटन वा पलायन र समग्र रूपमा विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक वा अत्यन्त कमजोर अवस्थामा पुग्नु नै हो यद्यपि यो अस्थायी कुरा हो । जस्तै कि हामी सबैलाई थाहा छ, द्वितीय अन्तर्राष्ट्रिय काल र पछि पनि विश्वको कम्युनिस्ट आन्दोलनको स्थिति धेरै कमजोर भएको थियो तर पछि लेनिन, स्तालिन र माओको नेतृत्वमा विश्व कम्युनिस्ट आन्दोलनमा उभार आएको थियो । ठुला ठुला क्रान्तिकारी आन्दोलन सफल भएका थिए । त्यसबाट कुनै खास बेलाको वा अहिलेको कमजोर अवस्थालाई स्थायी ठान्नु सही सोचाइ होइन । गत कालमा विभिन्न दक्षिणपन्थी, उग्रवामपन्थी वा मध्यपन्थी अवसरवादी धाराका कारणले नेपालको कम्युनिस्ट आन्दोलनलाई पनि धेरै क्षति पुगेको छ र त्यो अत्यन्त कमजोर भएको छ तैपनि त्यो एउटा अस्थायी अवस्था हो र त्यसको भविष्य उज्ज्वल छ भन्ने कुरामाथि हामीलाई पूरा विश्वास छ ।
९. संसारभरिका माक्र्सवादी–लेनिनवादीले कम्युनिस्ट आन्दोलनको गौरवपूर्ण र क्रान्तिकारी परम्परालाई अगाडि बढाउन कडा सङ्घर्ष गरिरहेका छन् । चीनमा प्रतिक्रान्ति भएपछि रिमले मार्क्सवाद लेनिनवाद र माओ विचारधाराका आधारमा महत्त्वपूर्ण भूमिका खेलेको थियो तर पछि त्यसले नवट्राटस्कीवादी बाटो लियो र त्यसको विघटन जस्तै भयो । सन् २०१० मा आइसिओआर गठन भएपछि त्यसले विश्व क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउने महत्त्वपूर्ण भूमिका खेलेको थियो । त्यही कुरा नेपालको कम्युनिस्ट आन्दोलनबारे पनि सत्य हो । हाम्रो देशको गत ७४ वर्षको इतिहास पनि पार्टीभित्र विभिन्न प्रकारका अवसरवादी र संशोधनवादी धारा तथा क्रान्तिकारी मार्क्सवादी–लेनिनवादी धाराका बिचको सङ्घर्षको इतिहास हो तैपनि विश्वका विभिन्न संशोधनवादी वा गैरक्रान्तिकारी तथा नेपालका पनि त्यही प्रकारका विभिन्न अवसरवादी प्रवृत्तिको असर हाम्रो पार्टीमा निकै परेको छ र त्यसैले, तिनीहरूका विरुद्ध पनि हामीले लामो र कडा सङ्घर्ष गर्नुपरेको छ । यही प्रकारको अवस्थामा संसारमा धेरै कम्युनिस्ट पार्टीको या त विघटन भएको छ या उनीहरूले पलायनको बाटो समातेका छन् तर यो हाम्रो लागि धेरै नै प्रशन्नता र गौरवको कुरा हो कि त्यस प्रकारको अन्तर्राष्ट्रिय वा राष्ट्रिय परिस्थितिमा पनि हामीले पार्टीको क्रान्तिकारी चरित्रलाई पूरै भनेर दाबी त नगरौँ, काफी हदसम्म बचाउन सफल भएका छौँ । हामीले आशा गर्नुपर्दछ र प्रयत्न पनि गर्नुपर्दछ कि हामी माक्र्सवादी–लेनिनवादी सिद्धान्तअनुरूप पार्टीको क्रान्तिकारी चरित्रको रक्षा वा निर्माण गर्न सफल हुने छौँ ।
१०. ऐतिहासिक तीन अभियानअन्तर्गत सालभरि नै पार्टीका कैयौँ कार्यक्रमहरू, जसमध्ये प्रशिक्षण र सङ्गठन विस्तार तथा सुदृढीकरणका कार्यक्रम पनि हुने छन्, सञ्चालन गरिने छन् । त्यस सिलसिलामा २०८१ सालको लेनिन जयन्ती र पार्टीको हीरक जयन्तीको समापनको अवसरमा मसाललाई पार्टीको “इतिहास विशेषाङ्क” को रूपमा प्रकाशन गरिने छ । निश्चय नै त्यसभन्दा पहिले ७५ वर्षको लामो इतिहासमा पार्टीसित जोडिएका विभिन्न वामपन्थी शक्तिलाई सामेल गरेर पार्टीको सम्पूर्ण इतिहासमाथि छलफल वा विवेचना गर्ने एउटा विचारगोष्ठीको पनि आयोजना गरिने छ, जसबाट पार्टी इतिहाससित सम्बन्धित विभिन्न पक्षको दृष्टिकोणबारे जानकारी हुन सकोस् ।
११. २०७६ सालको जेठमा हाम्रो पार्टीको आठौँ महाधिवेशन सम्पन्न भएको थियो । पार्टी विधानमा पाँच-पाँच सालमा वा कुनै खास अवस्थामा एक सालपहिले वा एक सालपछि महाधिवेशन गर्न सकिने व्यवस्थाअनुसार यही २०८० वा २०८१ सालमा हामीले हाम्रो पार्टीको नवौँ महाधिवेशन गर्न सक्ने छौँ । हामीले ऐतिहासिक तीन अभियानअन्तर्गत आठौँ महाधिवेशनको कार्यक्रमलाई पनि सामेल गरेका छौँ र त्यही अवधिभित्र हामीले महाधिवेशन गर्ने छौँ । त्यो अवधिभित्र हामीले महाधिवेशन कहिले गर्ने छौँ ? त्यसको मिति ता पछि वा महाधिवेशन सम्पन्न भइसकेपछि सार्वजनिक गरिने छ तैपनि त्यो एक सालको अवधिभित्र नै महाधिवेशन सम्पन्न हुने छ । महाधिवेशन स्वयम्को एउटा लामो प्रक्रिया हुने छ, जसभित्र गत पाँच वर्षको इतिहासको मूल्याङ्कन, राजनीतिक वा सङ्गठनात्मक दस्तावेजको तयारी, सदस्यको अध्यावधीकरण, जिल्ला सम्मेलन र प्रतिनिधिको चुनाव, फोरम वा पार्टी दस्तावेजमाथिको छलफल र अन्तमा महाधिवेशनमा दस्तावेजमाथि छलफल र केन्द्रीय समितिको चुनाव आदि कार्य हुने छन् । उक्त विभिन्न कार्यक्रम पूरा गर्न कैयौँ महिनाको समय लाग्न सक्ने छ । बताइरहनुपर्ने आवश्यकता छैन कि तिनीहरूमध्ये कैयौँ कार्यक्रम गोप्य वा भूमिगत प्रकारले सम्पन्न गरिने छन् ।
१२. हामीले आशा गर्नुपर्दछ, ऐतिहासिक तीनओटा अभियानअन्तर्गत नवौँ महाधिवेशन सम्पन्न हुनुका साथै पार्टीले एउटा नयाँ र उच्च अवस्थामा प्रवेश गर्ने छ र त्यसले नेपालको कम्युनिस्ट आन्दोलनलाई शक्तिशाली बनाउन महत्त्वपूर्ण योग्दान दिने छ ।
१३. माथि ऐतिहासिक तीन अभियानबारे सर्सरी विचार गरियो तर ती अभियानअन्तर्गत कैयौँ ठोस र घनीभूत कार्यक्रम सम्पन्न गरिने छ । ती अभियानको उद्घाटन यही २०८० साल वैशाख १८ गते देशव्यापी रूपमा गरिने छ । त्यसपछि वर्षभरिका लागि नै विभिन्न महिनामा विभिन्न कार्यक्रम निश्चित गरिने छन् । ती कार्यक्रम सम्पन्न गर्न पूरै पार्टी, पार्टीका सबै कमिटी र सदस्य वा वैधानिक मोर्चा र जनवर्गीय सङ्गठनलाई पनि परिचालन गरिने छ ।
१४. जस्तो कि माथि उल्लेख गरियो, ऐतिहासिक तीन कार्यक्रमलाई सम्पन्न गर्नको लागि ठुलो आर्थिक सहयोग आवश्यक पर्ने छ । उक्त अभियानलाई सम्पन्न गर्ने सिलसिलामा ठुलो पैमानामा प्रकाशन, अन्तक्र्रिया र विचारगोष्ठी, प्रशिक्षण कार्यक्रम, कार्यकर्ताको खटनपटन आदि कार्य गर्नुपर्ने छ । हाम्रा तीनओटै अभियान वा तीनओटा उद्देश्य कागजमा मात्र सीमित नरहुन् भन्नका लागि हामीले ठुलो पैमानामा आर्थिक सङ्कलन पनि गर्नुपर्ने छ । त्यसको अर्थ यो हुने छ : “ऐतिहासिक तीन अभियान” अन्तर्गत हामीले व्यापक रूपमा आर्थिक सङ्कलनको लागि अभियान चलाउनुपर्दछ । त्यसका लागि सम्पूर्ण पार्टीयन्त्र मात्र होइन, पार्टीबाहिर पनि आर्थिक सङ्कलनको लागि अभियान चलाउनुपर्ने छ । हामी कुन हदसम्म आर्थिक सङ्कलन गर्न सफल हुन्छाँै, त्यसमाथि नै तीन अभियानको सफलता निर्भर गर्ने छ । ती अभियानको सफलतामाथि नै हामी देशमा कुन अवस्थामा पार्टीको सङ्गठन र जनआधारको निर्वाह गर्न सफल हुने छौँ ? त्यो कुरा निर्भर गर्ने छ । हामी कुन हदसम्म पार्टीको सङ्गठन र जनआधार निर्माण गर्न सफल हुने छौँ ? त्यसमाथि नै प्रतिगमन र साम्राज्यवादका विरुद्धको सङ्घर्षलाई सफल पार्नु र त्यसरी गणतन्त्रसहित ऐतिहासिक उपलब्धि तथा देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतासमेतको रक्षा गर्नु सम्भव हुने छ । त्यसैले अहिले हामीले सञ्चालन गर्न थालेको ऐतिहासिक तीन अभियानलाई अत्यन्त गम्भीर रूपमा लिनुपर्ने आवश्यकता छ ।
१५. उक्त अभियानको उद्घाटन यही वैशाख १८ गते हुने छ तर ती अभियानलाई प्रभावशाली रूपले सञ्चालन गर्नका लागि हामीले त्यसभन्दा पहिले प्रशिक्षण भेलाको आयोजना गर्दै छौँ । त्यो भेलामा सम्पूर्ण वर्षभरिको कार्यक्रम निश्चित गरिने छ र त्यसका लागि कार्यविभाजन पनि गरिने छ (त्यो प्रशिक्षण भेला सम्पन्न भइसकेको छ) ।
(ख)
१६. माथिका अभियानलाई एक वर्षसम्म सञ्चालन गर्ने हाम्रो योजनाको उद्देश्य उक्त अभियानअन्तर्गत पार्टीका कार्यकर्ताको चेतनालाई माथिल्लो तहमा अर्थात बोल्सेभिक स्प्रिटको तहसम्म माथि उठाउनु, पार्टीको सङ्गठनात्मक प्रणाली र अनुशासनलाई लेनिनवादी सङ्गठनात्मक सिद्धान्त वा जनवादी केन्द्रीयताको तहसम्म पु¥याउनु र पार्टी सङ्गठनको विस्तार र सुदृढीकरण गर्नुसमेत हो । त्यसरी पार्टीको अर्काे स्थापना दिवसको बेलासम्म हामीले ती सबै उद्देश्यलाई अधिकतम हदसम्म पूरा गर्ने प्रयत्न गर्नुपर्दछ । त्यसरी नै हामी देशको ठुलो भागमा पार्टी सङ्गठनको विस्तार गर्न तथा हाम्रो पार्टी शक्तिशाली आन्दोलनको नेतृत्व गर्न सफल हुने छ तर त्यस प्रकारका उद्देश्य पूरा गर्न हामीले दुईओटा शर्तहरू पूरा गर्नुपर्ने छ : प्रथम– पार्टीयन्त्रको भन्नुको अर्थ पार्टीका सबै सदस्य र पार्टी समिति, वैधानिक मोर्चा तथा पार्टीका सबै जनवर्गीय सङ्गठनको व्यापक परिचालन तथा बलियो आर्थिक आधार निर्माण द्वितीय– पार्टी, वैधानिक मोर्चा र जनवर्गीय सङ्गठनका सदस्यसमेतको उच्च स्तरमा सैद्धान्तिक प्रशिक्षण र जनतामा समेत व्यापक राजनीतिक प्रचार । ऐतिहासिक तीन अभियान पूरा गर्नको लागि ती दुवै शर्तले निर्णायात्मक महत्त्व राख्दछन् ।
१७. पार्टीको स्थापना भएको ७४ वर्ष अर्थात् करिब साढे सात दसकको लामो अवधि बित्यो । यो प्रश्न प्रायशः उठाउने गरिन्छ—पार्टीका विरोधी र हाम्रा आफ्नै साथीहरूबाट पनि—यति लामो अवधिमा पनि पार्टीको अपेक्षाकृत विकास किन हुन सकेन ? कुनै चिजको विकास वा पतनमा वस्तुगत र आत्मगत दुवै पक्षले प्रभाव पारेका हुन्छन् । यति लामो अवधिसम्म पनि हाम्रो पार्टीको सन्तोषजनक विकास हुन नसक्नुको पछाडि पनि ती दुवै पक्षले काम गरेका छन् । हाम्रो पार्टीको स्थापना कालमा सोभियत सङ्घ र चीनसहित संसारका अन्य कैयौँ देशमा समाजवादी व्यवस्था थियो र त्यसले विश्वभरको कम्युनिस्ट आन्दोलनमा सकारात्मक र उत्साहप्रदः प्रभाव पारेको थियो । हाम्रो पार्टीको चौथो महाधिवेशन भएको बेलामा विश्वमा समाजवादी व्यवस्था बलियो रूपमा उभिएको थियो तर सोभियत सङ्घमा प्रतिक्रान्ति भएपछि विश्व समाजवादी व्यवस्थाको पतन हुँदै गयो ।
१८. विश्व कम्युनिस्ट आन्दोलनको त्यस प्रकारको घटनाक्रमको हाम्रो देशको कम्युनिस्ट आन्दोलनमा पनि असर पर्यो । विश्व कम्युनिस्ट आन्दोलनमा विभिन्न प्रकारका उग्र ‘वामपन्थी’ र दक्षिणपन्थी भड्काव बढ्दै गए । तिनीहरूबाट हाम्रो देशको कम्युनिस्ट आन्दोलन पनि अछुत रहेन । हाम्रो पार्टीले एकातिर, सोभियत संशोधनवाद र चिनियाँ संशोधनवाद र अर्कातिर देशभित्र देखा परेका विभिन्न उग्र ‘वामपन्थी’ र दक्षिणपन्थी वा “मध्यपन्थी” भड्कावका विरुद्ध सम्झौताहीन प्रकारले सैद्धान्तिक र सङ्गठनात्मक दुवै प्रकारले सङ्घर्ष ग¥यो । हाम्रो पार्टीमा सोभियत संशोधनवाद, चिनियाँ संशोधनवाद वा नेपालभित्र देखा परेका विभिन्न उग्र ‘वामपन्थी’ र दक्षिणपन्थी भड्कावका पछि लाग्ने प्रवृत्ति निकै देखा पर्यो । त्यो कारणले हाम्रो पार्टीका साथीहरू पनि ठुलो सङ्ख्यामा फुटेर अन्य पक्षमा मिल्न गए । विभिन्न विदेशी साम्राज्यवादी शक्ति वा देशभित्रका प्रतिगामी शक्तिले पनि हाम्रो पार्टीमाथि हमला गर्दै गए । २०१७ सालमा पञ्चायती तानाशाही व्यवस्था कायम भएपछि हाम्रा हजारौँ कार्यकर्ता पञ्चायती व्यवस्थामा आत्मसमर्पण गर्न पुगे । बताइरहनुपर्ने आवश्यकता छैन कि पार्टीका साथीहरूको निम्न पुँजीवादी चरित्र, निम्न सैद्धान्तिक स्तर, क्रान्तिकारी स्प्रिटको कमी, प्रशासनबाट देखाइएका त्रास र प्रलोभनसमेतका कारणले ठुलो पैमानामा पलायनका प्रवृत्ति देखा पर्दै गए । त्यस प्रकारको पृष्ठभूमिमा नै हाम्रो पार्टी कमजोर हुँदै गयो तर हामीले दसकौँदेखि त्यस प्रकारका सबै प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै आएका छौँ । त्यसैको परिणाम हो कि हाम्रो पार्टी उग्र ‘वामपन्थी’ वा दक्षिणपन्थी भड्कावको शिकार भएको छैन र अहिले पनि आफ्नो क्रान्तिकारी मार्क्सवादी–लेनिनवादी चरित्र वा क्रान्तिकारी दिशा कायम राख्न सफल भएको छ । अब हाम्रा अगाडि पार्टीका कार्यकर्ताको सैद्धान्तिक स्तर उठाउने, जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार पार्टीको अनुशासनलाई सुदृढ पार्ने तथा पार्टीको सङ्गठनात्मक विस्तार र सुदृढीकरण गर्ने गम्भीर जिम्मेवारी अगाडि छ ।
१९. पार्टीको नीति र कार्यक्रम सही भएर पनि सङ्गठन बलियो भएन भने हामीले आफ्ना सही नीति र कार्यक्रमलाई पनि प्रभावशाली प्रकारले कार्यान्वयन गर्न सक्दैनौं । सङ्गठन बलियो हुनुको अर्थ हुन्छ : प्रथम– स्वयम् पार्टीको सदस्य र सदस्यको देशको ठुलो भागमा विस्तार दोस्रो– व्यापक जनाधार । त्यो दृष्टिकोणबाट विचार गर्दा हाम्रो पार्टीको सङ्गठन देशको सीमित भागमा मात्र भएको अर्थात् थोरै जिल्लामा मात्र भएको, कतिपय जिल्लामा केही सङ्गठन भए पनि बलियो आधार नभएको नै देखिन्छ । स्थानीय, प्रदेश वा प्रतिनिधि सभाको चुनावको परिणामबाट पनि त्यो कुरामा कुनै शङ्का रहन्न । त्यो अवस्थामा पार्टी सङ्गठन र जनाधारलाई बलियो र व्यापक पार्नुपर्ने कति धेरै आवश्यकता छ ? त्यो कुरामा कुनै शङ्का रहन्न तर त्यो कार्य सजिलो छैन् । त्यसका लागि व्यापक रूपमा सक्रियताको ता आवश्यकता छ नै, त्योभन्दा बढी सैद्धान्तिक कार्यको आवश्यकता छ । जनतामा कैयाँै प्रकारका पिछडिएका वा प्रतिक्रियावादी विचारको प्रभाव छ । त्यसैले उनीहरू कैयौँ प्रतिक्रियावादी, पुँजीवादी वा विभिन्न प्रकारका संशोधनवादी वा अवसरवादी सङ्गठनमा पनि आबद्ध भएका छन् । जनतालाई त्यस प्रकारको गलत मानसिकताबाट जागृत नगरिकन उनीहरूलाई सङ्गठित गर्नु सम्भव हुने छैन । त्यो कार्य सम्पन्न गर्न पहिले पार्टीका कार्यकर्तालाई क्रान्तिकारी विचारमा व्यापक सङ्गठित र योजनाबद्ध प्रकारले प्रशिक्षित गर्नुपर्ने आवश्यकता छ ।
२०. सङ्गठन विस्तारका लागि हामीले ठोस योजना बनाउनुपर्दछ । हामीले पार्टी, वैधानिक मोर्चा वा जनवर्गीय सङ्गठनका सबै स्तरका कार्यकर्तालाई देशव्यापी रूपमा नै लगाउनुपर्ने आवश्यकता छ ।
२१. ऐतिहासिक तीन अभियानअन्तर्गत हामीले नेपालमा शक्तिशाली कम्युनिस्ट आन्दोलन निर्माण गर्ने जुन योजना बनाएका छौँ, त्यसको उद्देश्य कार्यनीतिक रूपमा, देशभित्र साम्राज्यवादी र प्रतिगामी शक्तिका विरुद्ध सशक्त आन्दोलन उठाउनु र अन्तर्राष्ट्रिय स्तरमा पनि साम्राज्यवाद वा फासिवादका विरुद्ध शक्तिशाली संयुक्तमोर्चाको निर्माणमा योगदान पु¥याउनु हुने छ भने रणनीतिक रूपमा नयाँ जनवादी क्रान्तिको पक्षमा परिस्थिति निर्माण गर्नु नै हुने छ । त्यसका साथै सामान्यतः जनजीवनसित जोडिएका प्रश्नमा देशमा शक्तिशाली आन्दोलन उठाउन तथा विशेषतः ग्रामीण वर्गसङ्घर्षलाई उठाउनेतर्फ पनि हामीले विशेष जोड दिने छौँ ।
२२. यो आम रूपमा थाहा भएको कुरा हो कि देशमा प्रतिगमनको खतरा ता अत्यन्त गम्भीर रूपमा छ । त्यसका साथै अमेरिकी साम्राज्यवादले पनि देशमा प्रत्यक्ष रूपले आफ्नो गतिविधि बढाउदै लगिरहेको छ । त्यस प्रकारको खतरालाई रोक्नका लागि देशमा शक्तिशाली आन्दोलन उठाउनुपर्ने आवश्यकता छ । त्यसका लागि हामीले समान समझदारी कायम हुन सक्ने अन्य शक्तिसित पनि सम्भव भएसम्म कार्यगत एकता वा सहकार्य गर्दै जानुपर्ने छ । देशमा प्रतिगमनका विरुद्धका र गणतन्त्र र धर्म निरपेक्षता ल्याउनका लागि महत्त्वपूर्ण भूमिका खेलेका कतिपय पक्षले देखाएको सम्झौतापरस्त दृष्टिकोण वा राष्ट्रियताका प्रश्नमा उनीहरूले बारम्बार अपनाउने गरेका ढुलमुल र सम्झौतापरस्त दृष्टिकोण, खास गरेर गत कालमा बढेको अमेरिकी साम्राज्यवादको प्रत्यक्ष भूमिकाप्रति उनीहरूले अपनाएको मौनतासमेत माथि विचार गर्दा प्रतिगमन वा साम्राज्यवादका विरुद्ध देशका अन्य राजनीतिक शक्तिहरूले, यहाँसम्म कि वामपन्थी शक्तिहरूले पनि स्पष्ट र दृढ नीति अपनाउन नसकेको वास्तविकताप्रति हाम्रो ध्यान छ वा ध्यान जानुपर्दछ ।
२३. उक्त प्रश्नमा हाम्रो पार्टीले अग्रगामी भूमिका खेल्दै आएको आम रूपमा थाहा भएको कुरा हो तैपनि गत कालमा अन्य पक्षसित भएको गठबन्धनबाट प्रतिगमनका विरुद्धको सङ्घर्षमा महत्त्वपूर्ण मदत पुगेको छ । त्यसै गरेर कतिपय राष्ट्रिय प्रश्नमा हाम्रो पार्टीले विभिन्न वामपन्थी शक्तिसित कार्यगत एकता गरेर संयुक्त आन्दोलन पनि गर्दै आएको छ यद्यपि उनीहरूको गणतन्त्रप्रतिको विरोध तथा प्रतिगमनप्रति अस्पष्ट दृष्टिकोणका कारणले उनीहरूसितको कार्यगत एकता वा संयुक्त आन्दोलनमा बारम्बार बाधा पनि पुग्दै आएको छ तैपनि हामीले अन्य पक्षका ढुलमुल वा अस्पष्ट नीतिको आलोचन गर्दै परस्परमा समझदारी हुन सकेका विषयमा उनीहरूसित कार्यगत एकता गरेर संयुक्त आन्दोलनलाई अगाडि बढाउने हाम्रो नीति हुने छ । निश्चय नै प्रतिगमन वा विभिन्न साम्राज्यवादी शक्तिका विरुद्धको सङ्घर्षलाई अगाडि बढाउन हामीले आफ्नै स्वतन्त्र भूमिका तथा हाम्रो सङ्गठन र जनाधारलाई बलियो पार्ने कुरामा नै मुख्य जोड दिनुपर्दछ । हाम्रो पार्टी मात्र होइन, पार्टीसित सम्बन्धित सबै वैधानिक मोर्चा र जनवर्गीय सङ्गठन र जनआधारलाई बलियो बनाएपछि नै हामीले त्यस प्रकारको भूमिका खेल्न सक्ने छौँ र ऐतिहासिक तीन अभियानको दौरानमा त्यो नै हाम्रो प्रधान पक्ष हुने छ ।
नेपाल कम्युनिस्ट पार्टी (मसाल)
केन्द्रीय कार्यालय