अमेरिकी साम्राज्यवाद विरुद्ध मेची–महाकाली अभियानको अपिल

गणतन्त्र र राष्ट्रियताको रक्षा गरौ“, सङ्घीयता खारेज गरौँ !
अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियानलाई सफल पारौँ !

अहिले अमेरिकी साम्राज्यवाद सम्पूर्ण विश्वको लागि नै गम्भीर खतरा बनेको छ । त्यसले संसारका विभिन्न देशको राष्ट्रियता र सार्वभौमिकतामाथि हमला गर्नुका साथै विभिन्न देशमा लोकतन्त्रलाई समाप्त गरेर फासिष्ट शासन कायम गर्ने नीति पनि अपनाइरहेको छ । त्यसकारण साम्राज्यवाद र फासिवादका विरुद्ध विश्वव्यापी रूपमा सङ्घर्षलाई अगाडि बढाउनुपर्ने आवश्यकता छ । अमेरिकी साम्राज्यवादबाट संसारभरि नै युद्धको खतरा पनि छ ।

अब नेपालमा पनि अमेरिकी साम्राज्यवादको हस्तक्षेप बढेर गएको छ । पहिले त्यसले नेपालका विभिन्न राजनीतिक पार्टीमा घुसपैठ गरेर सरकारमाथि दबाब दिएर वा भारतको माध्यमद्वारा नेपालमा आफ्ना साम्राज्यवादी उद्देश्य पूरा गर्ने प्रयत्न गर्दथ्यो । अब त्यसले प्रत्यक्ष रूपले नै नेपालमा हस्तक्षेप गर्ने नीति अपनाएको देखिन्छ । त्यसका लागि त्यसले नेपालमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष निर्देशनमा चल्ने पार्टी बनाएर संसद् र सरकारमा समेत आफ्नो प्रभुत्व कायम गर्न प्रयत्न गर्न थालेको देखिन्छ ।

अमेरिकाले नेपालमा एउटा दीर्घकालीन योजनाअनुसार काम गरिरहेको छ । अमेरिकाको अहिलेको मुख्य उद्देश्य नेपाललाई त्यसको इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत ल्याउनु नै हो । त्यो रणनीतिको उद्देश्य चीनलाई घेराबन्दी गर्नु र चीनका विरुद्धको युद्धमा नेपाललाई आफ्नो युद्धको अखडा बनाउनु हो । त्यसको परिणामस्वरूप नेपालमा ठुलो धनजनको क्षति हुने छ । नेपालको तटस्थ परराष्ट्र नीति समाप्त हुने छ र नेपाल पूरै अमेरिकी सैन्य क्याम्पमा जाने छ । त्यसैको लागि अमेरिकाले नेपालका राजनीतिक पार्टी र सरकारसमेत माथि दबाब दिएर संसद्द्वारा एम.सी.सी. पारित गर्न लगायो । त्यसले एस.पी.पी. पनि संसद्द्वारा पारित गराउन खोजेको थियो । त्यो पारित भएको भए चीनको सीमासम्म अमेरिकी सेना जान पाउ“थे र नेपालमा सिधै“ चीनसित युद्धको स्थिति तयार हुने थियो । एस.पी.पी. पारित गराउन नसकेपछि अमेरिकाले नेपालमा आफ्नो प्रत्यक्ष निर्देशनमा चल्ने सरकार बनाउन खोजेको छ । त्यसको लागि अहिले त्यसले अमेरिकी निर्देशनमा चल्ने राजनीतिक पार्टी बनाएर चुनावमा पनि उतारेको छ । त्यो रणनीतिका पछाडिको उद्देश्य सम्पूर्ण संसद् र सरकारमा समेत अमेरिकाको प्रभुत्व कायम गर्नु हो । त्यसरी अहिले नेपालको राष्ट्रियता, सार्वभौमिकता, लोकतन्त्रसमेतका लागि गम्भीर खतरा पैदा भएको छ । त्यसका विरुद्ध उच्च सतर्कता अपनाउन राष्ट्रिय जनमोर्चाले सम्पूर्ण नेपाली जनतासित अपिल गर्दछ ।

अमेरिकी साम्राज्यवादको गम्भीर खतरामाथि ध्यान दिएर नै राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । यो अभियान आगामी जेठ १ गते सुरु भएर जेठ १५ गते समापन गरिने छ । त्यो अभियान एकैसाथ जेठ १ गते कञ्चनपुरको महेन्द्रनगर र बागलुङको बागलुङ बजारबाट सुरु गरेर जेठ १५ गते काठमाडौं र बुटवलमा समापन गरिने छ । त्यो अभियानलाई सफल पार्नका लागि हाम्रो पार्टीले सम्पूर्ण देशभक्त नेपाली जनतासित अपिल गर्दछ ।

नेपालमा उत्पन्न नयाँ परिस्थिति अर्थात् अमेरिकी साम्राज्यवादले नेपालमा आफ्नै राजनीतिक पार्टी बनाएर संसद् र सरकारलाई समेत आफ्नै साम्राज्यवादी नीतिअनुसार सञ्चालन गर्ने रणनीति बनाएका हुनाले अमेरिकी साम्राज्यवाद विरुद्ध सङ्घर्षमा विशेष जोड दिनुपर्ने आवश्यकता भएको छ र त्यही कारणले अहिले हामीले मेची–महाकाली अभियान सञ्चालन गर्दै छौँ तर त्यसका साथै अहिलेको देशको राजनीतिक स्थिति र आवश्यकताअनुसार “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ ¤” नाराअन्तर्गत हाम्रो आन्दोलन पनि लगातार अगाडि बढिरहने छ ।

आज देशमा प्रतिगामी शक्तिहरूले गणतन्त्र र धर्म निरपेक्षतामाथि लगातार आक्रमण गरिराखेका छन् । त्यसका साथै भारतीय साम्राज्यवादबाट नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामाथि समेत गम्भीर प्रकारले आक्रमण भइरहेको छ । अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियानअन्तर्गत हाम्रो मुख्य प्रहार अमेरिकी साम्राज्यवादका विरुद्ध भए पनि अभियानका सिलसिलामा गणतन्त्र र राष्ट्रियताको रक्षातर्फ सङ्घीयताको विरुद्ध पनि आवाज उठाउनुपर्ने वा सङ्घर्षलाई बढाएर लैजानुपर्ने आवश्यकता छ ।

अन्तमा, अहिलेको हाम्रो अमेरिकी साम्राज्यवादका विरुद्धको सङ्घर्षको लागि नैतिक र आर्थिक रूपले बढीभन्दा बढी सहयोग गर्न तथा त्यो अभियानका सिलसिलामा हुने सबै कार्यक्रममा व्यापक सहभागिताको लागि हामीले जनतासित हार्दिक अपिल गर्दछौँ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार