काठमाडौँ । नेकपा (मसाल) ले आठ जना प्रहरी र एक जना बालकको नृशंस हत्या तथा ३६ जना प्रहरी घाइते हुने गरी भएको २०७२ भदाँै ७ गतेको कैलाली टीकापुर घटनालाई राजनीतिक नमान्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ ।
पार्टीप्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८० भदौ १ गते शुक्रबारी जारी प्रेसवक्तव्यमा जारी यस्तोे धारण सार्वजनिक भएको हो ।
पार्टीले टीकापुर घटना जघन्य फौजदारी घटना भएको र त्यसका मुख्य अभियुक्त रेशम चौधरीलाई आममाफी दिने घटनाको पहिले नै विरोध गरिसकेको स्मरण गराउँदै अहिले सर्वोच्चको फैसलाको पूर्ण पाठले आफ्नो विश्लेषण सही भएको बताएको छ ।
देशमा विधिको शासन कायम गर्न यस्ता घटनामा रेशम चौधरी जस्ता पात्रलाई कानुनअनुसार सजाय दिन आह्वान गरिएको प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ :
“२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा आठ जना सुरक्षाकर्मी र एक बालकको जघन्य हत्या र ३६ सुरक्षाकर्मीहरू घाइते हुने गरी भएको जघन्य घटनाको सम्बन्धमा गत जेठ २ गतेको उच्च अदालत दिपायलको फैसलालाई सदर गर्ने सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ २०८० साउन ३१ गते बुधबार आएको छ । सर्वोच्च अदालतको उक्त फैसलाले सो घटना जघन्य, बर्बर र नृशंस भएकाले त्यसका मुख्य अभियुक्त रेशम चौधरीलाई आममाफी दिनु गलत भएको पुष्टि भएको छ । नेकपा (मसाल) सर्वोच्च अदालतको उक्त फैसलाको स्वागत गर्दछ ।
हाम्रो पार्टीले टीकापुर घटनालाई राजनीतिक मान्न अस्वीकार गर्दै त्यसका मुख्य अभियुक्त रेशम चौधरीलाई आममाफी दिने निर्णयको विरोध गर्दै आएको थियो । हाम्रो अहिले पनि यही मत छ : उक्त घटना कुनै पनि प्रकारले राजनीतिक घटना होइन र त्यसका अभियुक्तलाई कुनै पनि हालतमा आपमाफी दिनु सही होइन बरु निज चौधरीलाई कानुनअनुसार सजाय दिइनुपर्दछ ।
अहिले सार्वजनिक भएको सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठले पनि हाम्रो यो विचार सही भएको पुष्टि भएको छ । सर्वोच्च अदालतले भने झैँ उक्त हत्याकाण्ड पीडित र प्रभावित पक्षका लागि मात्र नभएर समग्र नेपाली समाज विरुद्धको जघन्य अपराध हो र यस्ता हत्याकाण्डका संलग्नलाई राजनीतिक सहमति वा स्वार्थमा मुद्दा नचलाउने वा आममाफी दिने कार्य संविधान विपरीत छ ।
देशमा विधिको शासन कायम गर्नका लागि टीकापुर जस्ता जघन्य हत्याकाण्डका आरोपीलाई राजनीतिक आममाफी दिने जस्तो कार्य नगर्न हाम्रो पार्टी सरकारसित माग गर्दछ ।”