क्वालालम्पुर । मलेसिया नेपाली एकता समाजको सातौँ भेला सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकीको प्रमुख आतिथ्यमा अगस्त २०, २०२३ आइतबारका दिन भर्चुअल माध्यमबाट सो भेला सम्पन्न भएको हो ।
नेकपा (मसाल) ३ नं. प्रदेश प्रवक्ता समीर सिंहको विशेष आतिथ्य रहेको सो भेलाको अध्यक्षता केशव खनालले सञ्चालन टेकबहादुर मल्लले तथा स्वागत प्रेम शर्माले गर्नुभएको थियो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले राज्यसत्तामा बस्नेहरू नै राष्ट्रदोहनमा लागेकाले देशको राष्ट्रियता गम्भीर मोडमा पुगेको विचार व्यक्त गर्नुभयो ।
प्रवासी नेपालीको रेमिट्यान्सले देश चलेको बताउँदै उहाँले आगामी निर्वाचनमा प्रवासी नेपालीलाई आफू बसेकै देशबाट मताधिकारको व्यवस्था गर्न जोडदार माग गर्नुभयो ।
अर्का अतिथि मसालका ३ नं. ब्युरो अतिथि समीर सिंहले विश्व बैङ्कबाट ऋण लिएर नेपालमाथि सङ्घीयताको भारी बोकाइएको बताउनुभयो । उहाँले यस्तो खर्चिलो, बोझिलो सङ्घीयता यथाशीघ्र खारेज गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । भेलाले केशव खनाज अध्यक्ष रहनुभएको १३ सदस्यीय मलेसिया नेपाली एकता समाजको केन्द्रीय समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा कमल बिसी, महासचिवमा टेकबहादुर मल्ल, सचिवमा श्यामबहादुर बोटे र कोषाध्यक्षमा प्रेम शर्मा रहनुभएको छ ।
त्यस्तै, सदस्यहरूमा पिमलाल पुनमगर, कृष्णा विक, लोकबहादुर ठाडाराना, राममणि आचार्य, गङ्गा हर्मेल र रोबिन चौधरी रहनुभएको छ । भेलाले ओलेट गोतामे, भक्तबहादुर सुनार, मनिकर्ण पुनलाई सल्लाहकारमा चयन गरेको छ ।