प्रतिगमन, भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवाद नेपालको अहिलेको मुख्य समस्या हो

मोहनविक्रम सिंह, महामन्त्री, नेकपा (मसाल) #

० महामन्त्रीज्यू स्वागत छ ।

– धन्यवाद ।

० नेपालमा जो आफूलाई कम्युनिस्ट भन्छन् नि, चाहे त्यो एमाले, माओवादी केन्द्र, तपाईंहरू नै भन्नुस् वा मोहन बैद्यले नेतृत्व गरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, विप्लवले नेतृत्व गरेको नेकपा वा अरू नेमकिपा यावत् जे जति छन्, समग्रलाई हेर्दा के देखा पर्दछ भने यो देशमा राजनीतिक दलहरू नेतृत्वका मान्छे देशभक्त छन्, गरिब दीनदुखीका लागि काम गरिरहेका छन् भन्ने नतिजाले देखाएन त ।

– कम्युनिस्टहरूको सिद्धान्त वर्गसङ्घर्षको सिद्धान्त हो । गरिब वा निर्धन जनताका लागि काम गर्ने उद्देश्य हो । त्यो संसारभरिका कम्युनिस्टको उद्देश्य हो । त्यही उद्देश्यअनुसार नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापना भएको हो तर त्यसमा संसारभरि धेरै विकृति आएको छ† जस्तै : सोभियत सङ्घमा हेरौँ । उनीहरूले समाजवादको बाटो छाडेर पुँजीवादको बाटो समाते । चीनले पुँजीवादको बाटो समात्यो । ठिक त्यही प्रकारको विकृति नेपालका कम्युनिस्ट वा वामपन्थी पार्टीमा पनि आएको छ ।

डाक्टरी पेसा गरेको व्यक्तिलाई हेरौँ । डाक्टरी पेसा बिरामीको सेवा गर्नु हो तर हामीलाई थाहा छ, सबै डाक्टर त्यस्ता हुँदैनन् । उनीहरूमध्ये कैयौँले मृगौलाको व्यापार गर्छन् । कैयौँले तस्करी गर्छन् । कतिपयले नक्कली औषधीको व्यापार गर्छन् । शिक्षक, प्राध्यापकमा पनि त्यो विकृति पाइन्छ । व्यापारीले पनि तस्करी, कालोबजारी गरेको पाइन्छ । पारिवारिक जीवनमा पनि यस्ता कैयौँ कमजोरी पाइन्छन् । परिवार पवित्र संस्था हो तर परिवारभित्र पनि हामी कैयौँ विकृति भएको पाउँछौँ । यो संसारको नियम हो । प्रत्येक चिजमा राम्रा पक्ष र विकृति दुवै हुन्छन् ।

काङ्ग्रेसकै कुरा गरौँ । नेपाली काङ्ग्रेसले पहिले जुन सङ्घर्ष गर्‍यो, त्यो देशभक्ति र जनसेवाको भावनाबाट सुरु भएको थियो तर आज हामी देख्छौँ, त्यहाँ पनि धेरै प्रकारका विकृति छन् । यस्ता विकृति सबैतिर हुन्छन् तर त्यो विकृतिका कारणले सबै कम्युनिस्ट वा वामपन्थीहरू बिग्रिए भन्ने होइन । सबै डाक्टर नराम्रा भए भन्ने होइन । सबै प्राध्यापक वा परिवार नराम्रा भए भन्ने होइन । यसलाई हामीले द्वन्द्वात्मक रूपमा हेर्नुपर्दछ । प्रत्येक चिजमा विकृति भए पनि कैयौँले आफ्नो लक्ष्य र आदर्शअनुसार काम गरिरहेका हुन्छन् । त्यसैअनुसार प्राध्यापक, शिक्षक, डाक्टरले पनि आफ्नो पेसाअनुसार काम गरिरहेका हुन्छन् । देश र जनताको पक्षमा काम गरिरहेका हुन्छन् । त्यसैले केही उदाहरणको आधारमा सबैलाई एकै स्वरूपमा राख्न सक्दैनौँ । त्यही कुरा कम्युनिस्टको सन्दर्भमा पनि सत्य हो ।

० तपाईंको भनाइअनुसार हामी त्यो खालको दुस्चरित्रको कम्युनिस्ट होइनौँ । हामी सैद्धान्तिक हौँ । चरित्रगत हिसाबले हामी असल छौँ । तपाईंको आसय सायद यही छ तर जनताले तपाईंको पार्टीलाई पत्याइरहेका छैनन् । तपाईंको पार्टीको वैधानिक मोर्चा राष्ट्रिय जनमोर्चा छ । त्यसले जम्मा एक सिट जितेको छ । तपाईंले वर्गसङ्घर्षको कुरा गरिरहनुभएको छ तर काङ्ग्रेससँग सहयात्रा गरिरहनुभएको छ । मधेसकेन्द्रित ठानिनेसँग तपाईंहरूको सहकार्य छ बरु ओलीसँग दुरी छ । समग्रमा हेर्दा तपाईहरूको कथनी र करनीमा मेल खादैन । आदर्श त भन्ने कुरा मात्रै भयो कि ?

– होइन, सिद्धान्तसँग पूरै मेल खान्छ । जस्तो तपाईंले काङ्ग्रेससँग तालमेलको कुरा गर्नुभयो । कम्युनिस्टको क्रान्तिकारी सिद्धान्त वर्गसङ्घर्ष हो । त्यसका साथै अर्को महत्त्वपूर्ण संयुक्त मोर्चाको सिद्धान्त हो । कुनै खास परिस्थितिमा आवश्यक पर्‍यो भने विरोधी शक्ति, दुस्मन शक्तिसँग कार्यगत एकता गरेर जानु संयुक्त मोर्चाको नीति हो ।

जस्तो हामीले देख्यौँ, रुसमा हिटलरले आक्रमण गरेको थियो । त्यति बेला त्यहाँका कम्युनिस्टले अमेरिकी साम्राज्यवादसित संयुक्त मोर्चा गरेका थिए । ठिक त्यसैगरी चीनमा माओत्सेतुङ जापानले आक्रमण गर्दाखेरि च्याङकाइसेकसँग मिलेका थिए । नेपालमा २०४६ सालमा काङ्ग्रेससँग मिलेर पञ्चायती निरङ्कुश शासनलाई हटाएका थियौँ । २०६२–६३ सालमा हामीसित विचार नमिल्ने पार्टीहरूसँग कार्यगत एकता गरेर राजतन्त्रलाई हटाएका थियौँ । त्यसैले राजनीतिलाई खालि एकाङ्गी रूपमा हेरेर पुग्दैन । कैयौँ मान्छेले राजनीतिलाई एकाङ्गी रूपमा लिन्छन् । यससँग जोडिएका जटिलतालाई हेर्दैनन् । खालि सिधा रेखाबाट राजनीति जाँदैन, त्यो टेढामेढा रेखाबाट पनि जान्छ । बाङ्गाटिङ्गा रेखाबाट पनि जान्छ । नेपाली काङ्ग्रेससँग हाम्रो सङ्घर्षको लामो इतिहास छ तर कैयौँ कालमा, जस्तो २०४६ सालमा, २०६२–६३ सालमा र अहिले पनि उनीहरूसँग मिलेर सङ्घर्ष गरिरहेका छौँ । आज कोसँग, किन त्यसरी कार्यगत एकता गर्नुपर्‍यो ? त्यसबारे मैले प्रकाश हाल्दै छु ।

पहिलो कुरा त आज देशको राजनीतिमा तीनओटा खतरा छन् ।

एउटा प्रतिगमनको खतरा हो । त्यो राजतन्त्रको खतरा हो । नेपाली जनताले लामो समय सङ्घर्ष गरेर नेपालमा राणाशासन खतम पारे । निरङ्कुुश पञ्चायती शासन खतम पारे । राजतन्त्र खतम पारे ।

प्रत्येक देशको इतिहासमा हामी यो पाउँछौँ : एक पल्ट सत्ताच्यूत भएपछि प्रतिक्रियावादी शक्तिहरू फेरि सत्तामा आउने प्रयास गरिराखेका हुन्छन् । त्यो प्रयत्न नेपालमा पनि भइराखेको छ । अहिले राजावादीहरूले सत्तामा आउन हिन्दु धर्मको आड लिइरहेका छन् । देशमा गणतन्त्र आएको छ । धर्मनिरपेक्षता आएको छ । त्यसको रक्षाका लागि हामीले यसको पक्षमा आउने शक्तिसँग हाम्रो सहकार्य कायम भएको छ । काङ्ग्रेससँग, माओवादीसँग अहिले हामीले मोर्चाबन्दी गरेका छौँ, त्यसको मुख्य उद्देश्य राजतन्त्रको खतरा, प्रतिगमनको खतराको विरुद्ध एकताबद्ध भएर सङ्घर्ष गर्नु हो ।

सङ्घीयताबारे सहकार्य गरिरहेका पार्टीसँग पनि हाम्रो त्यसबारे विरोध छ । हामीले भन्यौँ नि जोसँग विरोध छ, त्योसँग पनि कार्यगत एकता गर्नुपर्ने आवश्यकता हुन्छ । निश्चित रूपमा हामी सङ्घीयता आवश्यक देख्दैनौँ । सङ्घीयता नेपाल जस्तो सानो, अति पिछडिएको, धेरै जातजाति छरिएर रहेको, भूपरिवेष्ठित देशका लागि उचित छैन । सङ्घीयताले देशलाई राष्ट्रिय विखण्डनतिर लैजान्छ ।

देशमा अर्को खतरा पनि छ । त्यो राष्ट्रियतामाथिको खतरा हो । भारतीय साम्राज्यवादबाट छ त्यो खतरा । कालापानीमा उसले कब्जा गरिराखेको छ । नेपालको सिमानाका कैयौँ स्थानमा अतिक्रमण गरेको छ । मधेसलाई टुक्राउन कोसिस गरिराखेको छ । नेपालमा राजनीतिक हस्तक्षेप गरिराखेको छ । यसरी सम्पूर्ण रूपमा नेपालमाथि आफ्नो प्रभुत्व कायम गर्न प्रयत्न गरिरहेको छ । यो राष्ट्रियताको प्रश्न हो । राष्ट्रियताको प्रश्नमा हाम्रो काङ्ग्रेससँग, माओवादीसँग कार्यगत एकता हुन सकेको छैन किनभने उनीहरूले यसबारे स्पष्ट र दृढ नीति अपनाएका छैनन् ।

ठिक त्यसै गरेर अर्को खतरा हामीले देखेका छौँ : नेपालमा अमेरिकी साम्राज्यवादको खतरा गम्भीर रूपमा बढेर गएको छ । अमेरिकी साम्राज्यवादले हिन्दप्रसान्त रणनीतिभित्र नेपाललाई सामेल गरेर चीनमाथि आक्रमण गर्न नेपाली भूमिलाई उपयोग गर्नका लागि योजनाबद्ध प्रकारले काम गरिरहेको छ । पहिले अमेरिका भारतको माध्यमबाट, नेपालका राजनीतिक पार्टीको माध्यमबाट आउने गर्दथ्यो । अब त्यो सिधै आउन थालेको छ । पार्टी बनाएर आउन थालेको छ ।

अमेरिकी साम्राज्यवादका विरुद्ध या भारतीय साम्राज्यवादका विरुद्ध काङ्ग्रेस र माओवादीसित हाम्रो कार्यगत एकता हुन सकिराखेको छैन किनकि त्यसप्रति नै उनीहरूको झुकाव छ तर गणतन्त्रको प्रश्नमा, धर्मनिरपेक्षताको प्रश्नमा उनीहरूले स्पष्ट नीति अपनाइरहेका छन् अहिलेसम्म । यो स्थितिमा नै कम्युनिस्ट पार्टीको सिद्धान्तअनुसार आवश्यक परेको बेलामा संयुक्त मोर्चाको नीति अपनाइएको छ । त्यसकारण यो हाम्रो सैद्धान्तिक मान्यताअनुसार नै छ ।

० नेपालमा राजसंस्थाको उपस्थिति भएका बेला शाह वंशले कहाँनेर घात गरे ? महाकाली सन्धि कसले गरेको हो ? कोशी सम्झौता कसले गरेको हो ? गण्डक सम्झौता कसले गरेको हो ? एम.सी.सी. कसले गरेको हो ? उत्तरी सीमासम्म कसका कारणले भएको हो, भारतीय सेनाको उपस्थिति ? तपाईंले अहिले राष्ट्रियतामाथि खतराको कुरा गरिरहनुभएको छ । तपाईंले अहिले पनि चीनको नाम जोड्नुभएन । चाहे भारतीय होस्, चाहे पश्चिमा होस्, युरोपियन होस् वा चिनियाँ होस्, उनीहरूको सक्रिय बढेको छ । यहाँ काङ्ग्रेसको नेतृत्व भन्नुस् चाहे कुनै कम्युनिस्ट पार्टीका नेता जस्तै : एमालेका खड्ग ओली, नेकपा (एकीकृत समाजवादी) का माधवकुमार नेपाल, मोहन वैद्य, तपाईं वा पुष्पकमल दाहाल—तपाईंहरू राजसंस्थाको उन्मूलनपश्चात् निर्णायक हैसियत राख्नुहुन्छ ? नेपालको समग्र निर्णय तपाईंहरू गरिरहनुभएको छ । नेपालको आन्तरिक राजनीतिमा अहिले विदेशीहरूको जुन प्रभाव र खतराको कुरा तपाईंले गरिरहनुभएको छ, यस सन्दर्भमा कसको कारणले उनीहरूको उपस्थिति बढ्यो ?

– सबैभन्दा पहिलो कुरा, नेपालको सामन्ती शासनद्वारा राष्ट्रियताको रक्षा हुन्छ भन्ने कुरा सही होइन । जङ्गबहादुर राणाकै उदाहरण हेरौँ । अङ्ग्रेजसँग मिलेर उनले देशको रक्षा गरे ।

हामीले पृथ्वीनारायण शाहको एकीकरणलाई हमेसा समर्थन गर्दै आएका छौँ । अन्य कैयौँ कम्युनिस्ट पार्टीले पृथ्वीनारायणको एकीकरणको विरोध गरेका छन् तर नेकपा (मसाल) ले हमेसा पृथ्वीनारायणको एकीकरणलाई समर्थन गरेको छ । त्यसको विरोध गर्ने नीतिलाई गलत बताएको छ । पृथ्वी जयन्तीलाई नमान्ने सरकारको एक समयको नीतिलाई हामीले विरोध गरेका थियौँ । पृथ्वी जयन्ती मनाउनुपर्छ भन्ने हाम्रो सुरुदेखिको मान्यता छ ।

विश्वको इतिहासमा उदाहरणको रूपमा चाहे जर्मनीको बिस्मार्कको लिनुस्, चाहे गैरिबाल्डीको कुरा लिनुस्, कैयौँ सामन्तको देशको राष्ट्रिय एकीकरणमा महत्त्वपूर्ण भूमिका रहेको छ । त्यसकारण पृथ्वीनारायणको पनि नेपालको एकीकरणमा महत्त्वपूर्ण भूमिका छ । यदि पृथ्वीनारायणको भूमिका नरहेको भए नेपाल अङ्ग्रेजको प्रभुत्वमा जान्थ्यो । त्यसैले अहिलेको जो नेपालको अस्तित्व छ, त्यसका लागि पृथ्वीनारायणको ऐतिहासिक र सकारात्मक भूमिका छ । निश्चय नै अरू कम्युनिस्ट पार्टीसित हाम्रो त्यसमा सहमति भएन तर यस विषयमा हामी सुरुदेखि नै स्पष्ट र दृढ छौँ ।

अर्को कुरा मैले भनेँ, राष्ट्रियताको रक्षा सामन्ती शासक वर्गद्वारा हुँदैन । हाम्रो स्पष्ट मत छ, जङ्गबहादुरले अङ्ग्रेजसँग मिलेर नेपालको राष्ट्रियमा खतरा पनि निम्त्याए यद्यपि भारतमा उनले गदर विद्रोहलाई दबाउने काम गरे, त्यसको पुरस्कारस्वरूप नेपालले नयाँ मुलुक फिर्ता भयो ।

दोस्रो कुरा, हामी सबैलाई थाहा छ, त्रिभुवनले नेपाललाई भारतमा मिलाइदिनुपर्छ भनेर त्यति बेलामा भारतीय प्रधानमन्त्री नेहरूसँग अनुरोध गरेका थिए । यो तथ्य नेपाल र भारतलगायतका सञ्चारमाध्यममा आएकै हो । नेहरूले नमानेको हुनाले नेपाल कायम रह्यो ।

कालापानीको सन्दर्भमा भन्नुस् । कालापानी राजा महेन्द्रले नै भारतलाई सुम्पिएका हुन् । त्यसरी हामी के देख्छौँ भने राजाद्वारा राष्ट्रियताको रक्षा हुन्छ भन्ने कुरा सत्य होइन । राजाहरूले आफ्नो स्वार्थपूर्तिका लागि कुनै बेला राष्ट्रियताको कुरा गर्न सक्छन् तर आम रूपमा त्यो कुरा सत्य होइन ।

० तपाईंहरूले अहिले राष्ट्रियताको के रक्षा गर्नुभयो ? लिम्पियाधुरा, कालापानी, लिपुलेकमा भारतीय सेना छ । सुस्ता भारतीय कब्जामा छ । सीमाविद् बुद्धिनारायण श्रेष्ठ भन्छन्, ७१ स्थानमा सीमा अतिक्रमण भएको छ । चीनले पनि यही अगस्त २८, २०२३ मा नक्सा जारी गर्‍यो । त्यो नक्साअनुसार लिम्पियाधुरा, कालापानी, लिपुलेक भारतकै देखाइदियो । अब तपाईंहरूको भूमिका के हुन्छ ? नेपालका कम्युनिस्टहरू यो विचित्रको बुझिनसक्नु चरित्र भएन र ?

– बुझिनसक्नु हुनुको कारण हो, तथ्यमा नगएर । लिम्पियाधुरा, कालापानी, लिपुलेकको सवालमा भारत र चीनले सम्झौता गरेका थिए । त्यो बेला हामीले त्यसको कडा विरोध गरेका थियौँ । यही २८ अगस्तका दिन जुन नक्सा चीनले जारी गर्‍यो, हाम्रो पार्टीले त्यसको कडा विरोध गरेर वक्तव्य दिएको थियो । यसरी हामी राष्ट्रियताको पक्षमा कुनै पनि हस्तक्षेपकारी देशको पक्षमा उभिँदैनौँ ।

वास्तवमा भन्ने हो भने नेपालमा राष्ट्रियताको पक्षमा सबैभन्दा जोडदार ढङ्गले सङ्घर्ष गर्ने कम्युनिस्ट वा वामपन्थी पार्टी नै हुन् । जस्तो कि कालापानीको प्रश्न लिऊँ । हामी देख्छौँ, नेपालका नौ वामपन्थीले लगातार त्यसको विरुद्धमा सङ्घर्ष गरेका थिए, संयुक्त मोर्चा बनाएर । उनीहरूले अढाइ वर्षसम्म सङ्घर्ष गरेका थिए । पछि पनि हामीले त्यस सम्बन्धमा धेरै सङ्घर्ष गर्दै आएका छौँ । त्यसकारण नेपालको राष्ट्रियताको प्रश्नमा दिल्ली सम्झौतादेखि नै निरन्तर आवाज उठाउने कम्युनिस्ट वा वामपन्थी पार्टी नै हुन् ।

० २००७ सालको सम्झौताको डकुमेन्टमा ‘त्रिपक्षीय’ उल्लेख छ । त्यहाँ भारत छ, मोहन शमशेर देखा पर्छन्, काङ्ग्रेस देखा पर्छ । २०४६ सालको राजनीतिक परिवर्तनमा तपाईंहरूको पनि सक्रियता रह्यो । चन्द्रशेखर, हरकिसन सिंह सुरजितलगायतका मानिसहरू गणेशमान सिंहको निवास चाक्सिबारीमा आएर कुर्लेको म चस्मदिद गवाह छु । २०६२–६३ सालको गणतन्त्र ल्याउने राजनीतिक परिवर्तनमा १२ बुँदे दिल्ली समझदारी भएको छ र त्यो कुरा डकुमेन्टले देखाउँछ । यी सबै डकुमेन्टले के देखाउँछ भने यहाँका जुन राजनीतिक दलहरू छन्, यिनीहरू त भारतीय राजनीतिक सत्ताको, त्यहाँको एजेन्सीको, विङको, जासुसी संयन्त्रको खल्तीभित्रका मानिस हुन् । घटनाले त्यस्तो देखाउँछ त । सत्य के हो ?

– जसले त्यसमा गल्ती गरे, हामीले त्यसको आलोचना गर्दै आएका छौँ । दिल्ली सम्झौताको हामीले विरोध गरेका थियौँ । नेपालको राजनीतिमा भारतले गरेको हस्तक्षेपको विरोध गरेका छौँ । कालापानीमा अतिक्रमण, कोशी, गण्डकी, महाकाली सम्झौता—सबै विषयमा त्यसका विरुद्ध आवाज उठाउने कम्युनिस्ट वा वामपन्थी पार्टी नै हुन् ।

सबैलाई थाहा भएको कुरा हो, राष्ट्रघाती महाकाली सन्धिको विरोध गर्ने कुरामा हामी सबैभन्दा अगाडि थियौँ । एम.सी.सी. को हामीले लगातार विरोध गरिराखेका छौँ । अस्ति तपाईंले सुन्नुभयो होला, प्रचण्डको भाषण बुटवलको । एम.सी.सी. लाई पाँचदलीय गठबन्धनले सर्वसम्मतिले पारित गरेको थियो भने उनले तर तथ्यमा गएर हेर्नुस् त । पाँचदलीय गठबन्धनभित्र हाम्रो पार्टीले विरोध गरेको थियो । संसद्मा हाम्रो पार्टीले त्यसको विरोध गरेको थियो । त्यसको विरोधमा मतदान गरेको थियो । यी तथ्य नै यथार्थ हुन् । त्यसैले नेपालको राष्ट्रियता विरुद्धका कुनै पनि सन्धिसम्झौतालाई कम्युनिस्ट वा वामपन्थीहरूले कहिल्यै समर्थन गरेका छैनन् ।

यहाँ कम्युनिस्ट पार्टी भन्नुको अर्थ सबै कम्युनिस्ट पार्टी आउँछन् भन्ने होइन; जस्तो : डा. केशरजङ्ग रायमाझीको नीति बेग्लै भयो । त्यस्तै, एमाले, माओवादीले कैयौँ पल्ट त्यस प्रकारका सम्झौतालाई समर्थन गरे । एम.सी.सी. लाई समर्थन गरे । एस.पी.पी. लाई हामीले विरोध गर्‍यौँ । त्यसकारण त्यसलाई सरकारले ल्याउन सकेन । एम.सी.सी. कार्यान्वयन गर्ने जुन तयारी भयो, त्यसको हाम्रो पार्टीले देशव्यापी रूपमा विरोध गरेको छ । यसरी राष्ट्रियताको प्रश्नमा सबै कम्युनिस्ट पार्टी सही छन् हामी भन्दैनौँ । यस सम्बन्धमा सबै तथ्यलाई केलाएर हेर्नुपर्ने आवश्यकता छ । त्यसरी हेर्दाखेरि गत ७० वर्षको इतिहासमा हामीले कहिल्यै पनि राष्ट्रियताको प्रश्नमा सम्झौता गरेका छैनौँ ।

अर्को कुरा १२ बुँदे सहमतिको प्रश्नमा छ । संसारमा कैयौँ पल्ट साम्राज्यवाद विरुद्ध सङ्घर्ष गर्नुपर्छ । कुनै बेला कुनै देशको तानाशाही शासन विरुद्ध सङ्घर्ष गर्नुपर्दछ । त्यस्तो अवस्थामा आवश्यकताअनुसार अन्तर्राष्ट्रिय शक्तिको मदत लिने संसारको परम्परा छ; जस्तै : अमेरिकाको स्वतन्त्रता सङ्ग्रामको कुरा गरौँ । उनीहरूले फ्रान्सबाट मदत लिएका थिए । यस्तो धेरैतिर हुन्छ । नेपालमा पनि यहाँको तानाशाही राजतन्त्रलाई खतम गर्नु थियो । पञ्चायती शासनलाई खतम गर्नु थियो । त्यसका विरुद्ध अन्तर्राष्ट्रिय रूपमा जहाँबाट समर्थन जुटाउन सक्छौँ, त्यो जुटाउने हामीले कोसिस गर्‍यौँ । त्यसलाई हामीले गलत मान्दैनौँ ।

० तपाईंहरूले राजतन्त्रको विषयमा जसरी विषय उठान गर्नुभएको छ नि तर जनताले नतिजा खोज्छ । मुलुक रहे न तपाईं तन्त्रको कुरा गर्नुहुन्छ । यहाँको जो राजनीतिक शक्ति भनिन्छ, त्यो देखिने मात्रै हो, खास राजनीतिक शक्तिको रूपमा छैन भन्ने धारणा मानिसहरू बनाउन थालेका छन् । नेपालमा डेमोक्रेसी भएको २०४६ सालदेखि अहिलेसम्म ३४–३५ वर्ष भइसक्यो । समग्र दृश्य हेर्दा यो नतिजालाई त जनताले पत्याउँदैनन् कि नेपालका कम्युनिस्ट देशभक्त छन्, गरिब दीनदुखीका लागि काम गरिरहेका छन् । प्रचण्डको दिनचर्या हेर्नुस्, केपी ओलीको दिनचर्या हेर्नुस्, काङ्ग्रेसको त कुरै छोडिदिनुस् । तपाईंहरू उल्टो गङ्गा बगाइरहनुभएको छ कि जस्तो लाग्छ ।

– मैले माथि नै भनेँ, यी तीनओटै खतराका विरुद्ध हामीले सङ्घर्ष गर्नुपर्ने आवश्यकता छ । राजतन्त्रको पुनस्र्थापना भयो भने देश झन् तानाशाही दिशामा जान्छ । तानाशाही त जुनसुकै अवस्थामा पनि गलत हुन्छ तर त्यो भनेर हामीले राष्ट्रियता खतम गर्नुपर्छ भन्दैनौँ । राष्ट्रियताका लागि पनि हामी लगातार सङ्घर्ष गरिरहेका छौँ ।

० तपाईं एक्लै कराइरहनुभएको छ तर तपाईंको सहकार्य छ, प्रचण्डसँग, शेरबहादुरसँग, जसले महाकाली सन्धि गरे, १२ बुँदे समझदारी गरे, एम.सी.सी. पास गरे, आन्तरिक राजनीतिमा बाह्य शक्तिको उपस्थिति गराए तर तपाईं खतरा देख्नुहुन्छ राजतन्त्रबाट । हामी सञ्चारक्षेत्रमा काम गर्ने मान्छेहरू भने यहाँको राजनीतिक नेतृत्वबाट खतरा देख्छौँ किनभने यिनीहरू नै देशलाई लुटिरहेका छन् । मान्छेलाई विदेशी नागरिक बनाएर बेचिरहेका छन् । कसले ? उपप्रधानमन्त्री भएको मान्छेले, गृहमन्त्री भएको मान्छेले, सचिवले, काङ्ग्रेसका नेताले, कम्युनिस्ट हौँ भन्ने नेताहरूले । राजाले मुआव्जा दिएर अधिग्रहण गरेको जग्गा लुटपाट कसले गरिरहेको छ ? काङ्ग्रेसले, कम्युनिस्टले । दृश्य हेर्नुस् त अनि तपाईं यसमा गौरव कसरी गर्नुहुन्छ ?

– त्यसरी पनि हामीले राजतन्त्रलाई सही पुष्टि गर्न सक्दैनौँ । यी सबै तर्कमार्फत यो बताउन खोजिएको छ, राजतन्त्र सही छ । त्यसको पुनस्र्थापना आवश्यक छ तर त्यो गलत हो ।

नेपालमा अहिले जुन संसदीय प्रणाली छ, त्यसद्वारा जनताको मुक्ति सम्भव छैन । दिगो विकास पनि सम्भव छैन । त्यसकारण यसलाई नष्ट गर्नुपर्छ । यसको ठाउँमा अरू उच्च प्रकारको नयाँ जनवादी प्रणाली ल्याउनुपर्छ भन्ने विचारमा हामी छौँ तर अहिल्यै त्यो व्यवस्था ल्याउन सम्भव छैन किनकि त्यसका लागि हामीसँग जति शक्ति छ, त्यो पर्याप्त छैन तैपनि राजतन्त्रभन्दा, तानाशाही शासनभन्दा, फासिवादी शासनभन्दा अहिलेको गणतन्त्र प्रगतिशील हो, सकारात्मक हो ।

० कम्युनिस्ट झन् खतरनाक तानाशाह होइन र ? स्टालिनले कति मारे ? माओत्सेतुङले कति मारे ? लेनिनले कति मारे ? त्यो इतिहास सम्झिनुस् त । मुसोलिनीसरह भूमिका निर्वाह गरेको देखिन्छ ।

– यो त कम्युनिस्टमाथि लगाइने आक्षेप हुन् । संसारभरिका पुँजीपतिले कम्युनिस्टमाथि अर्थात् लेनिन, स्टालिन, माओ, कास्त्रो सबैमाथि यो आरोप लगाएका छन् । त्यो उनीहरूको परम्परा नै भएको छ । त्यसको कुनै औचित्य छैन । सङ्घर्षको दौरानमा हत्या भएका छन्, हिंसा भएका छन् । त्यो क्रान्तिकारी आन्दोलनको दौरानमा जहाँ पनि हुन्छ तर त्यो मुख्य कुरा होइन । मुख्य कुरा के हो भने अहिलेको जो प्रणाली छ नेपालमा, यसलाई खतम पार्नका लागि तर यसको स्थानमा उच्च प्रकारको नयाँ जनवादी प्रणाली ल्याउनुपर्छ भन्ने हाम्रो दृृष्टिकोण रहेको छ ।

० अब तपाईं त्यस्तो खालको प्रणालीको कल्पना गरिरहनुभएको छ । लेनिन, माओ, स्टालिन सम्झिरहनुभएको छ । अहिलेको नयाँ पुस्ताले त्यसलाई ग्रहण गर्छ र ?

– कम्युनिस्ट वा वामपन्थीहरूले जुन प्रणाली ल्याउन खोजिरहेका छन्, त्यसमा पुँजीपति जगत्को पूरै विरोध छ । उनीहरूले माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ सबैको विरोध गर्छन् तर मुख्य आवश्यकता यो सङ्कटको कसरी समाधान गर्ने भन्ने हो ।

आफ्नो समयमा पुँजीपति वर्गले सबैभन्दा बढी विरोध माक्र्सको गरेका थिए । त्यसकारण उनी सबैभन्दा बढी निन्दित व्यक्ति थिए पुँजीपतिद्वारा । लेनिनको, स्टालिनको, माओको बढी विरोध किन भइरहेको छ ? किनकि उनीहरूले माक्र्सको समाजवादी विचारलाई व्यवहारमा लैजाने प्रयत्न गरे । त्यसले पुँजीपतिलाई बढी नोक्सान पुर्‍याउथ्यो । त्यसकारण उनीहरूले लेनिन भन्नुस्, स्टालिन भन्नुस्, माओ भन्नुस्, सबैको धुमधाम विरोध गरे । त्यो उनीहरूको परम्परा, दर्शन र राजनीतिक आधार भएको छ । त्योसँग हाम्रो विश्वव्यापी रूपमा विरोध छ । त्यस्तै, नेपालको राष्ट्रियताको प्रश्नमा जसले राष्ट्रियताको विरोध गर्छन्, उनीहरूसित हाम्रो विरोध छ ।

० विरोध गरेको नतिजा कहाँ देखिन्छ ? यो के कुरा भयो ?

– राणाशासनको विरुद्धमा सय वर्ष सङ्घर्ष चल्यो । तुरुन्तै परिणाम निस्किएन । निरङ्कुश पञ्चायती शासनका विरुद्ध ३० वर्षसम्म सङ्घर्ष चल्यो । तुरुन्तै परिणाम निस्किएन । हामीलाई थाहा छ, फ्रान्समा राजतन्त्र खतम गर्न सय वर्ष सङ्घर्ष गर्नुपरेको थियो । त्यहाँ बारम्बार राजतन्त्रको पुनस्र्थापना भएको थियो । त्यसकारण जुनसुकै विरोधको पनि तुरुन्त परिणाम निस्कन्छ भन्ने होइन । त्यसबाट जनतामाझ व्यवस्था परिवर्तनका लागि आधार तयार हुन्छ । त्यसले जनतालाई चेतनशील बनाउँछ । परिवर्तनका लागि शक्ति सञ्चय गर्छ ।

ज्ञानेन्द्रले तानाशाही शासन कायम गरे २०५९ सालमा । त्यसका विरुद्धको सङ्घर्ष थोरै समयमा परिणाम निस्कियो । त्यसैले सङ्घर्षको परिणाम निस्कनका लागि कुनै बेला बढी समय लाग्छ, कुनै बेला कम समय लाग्छ ।

० तपाईंहरूले पटक पटक कालापानीको विरोध गरिरहनुभएको छ नि । तपाईंहरू कालापानी राजा महेन्द्रले भारतलाई दिएको भन्न खोजिरहनुभएको छ । राजा महेन्द्र नै त्यस्ता व्यक्ति हुन्, जसले उत्तरी सीमा चेकपोस्टमा रहेको भारतीय सेनालाई लघारे । कैयौँ उनले गरेका राम्रा कामको तपाईंहरूले प्रशंसा गर्न सक्नुपर्छ । तपाईं कम्युनिस्टहरू देशभक्त हौँ भन्नुहुन्छ नि, नतिजाले त्यो देशभक्ति कहाँ देखिन्छ ? कम्युनिस्टहरू जनताप्रिय हुन् भन्ने कहाँ देखिन्छ ?

– जनताप्रियको प्रश्न कसरी पनि आउँछ भने कैयौँ पल्ट सतिप्रथाको पक्षमा रहेका मानिसहरू जनताप्रिय थिए तर त्यसलाई हामीले सही मानेनौँ । कुनै बेला कमाराकमारी प्रथा थियो । त्यो प्रथा जनताको माझमा प्रिय थियो । त्यसलाई पनि हामीले समर्थन गरेनौँ । त्यस्तै, महिलामाथि दमन, अत्याचार भइरहेको छ । दलितमाथि हुने दमनलाई आम पिछडिएका तप्काले सही मान्छन् । त्यसकारण ती सबै सही हुन्छन् भन्ने होइन । जनताको पिछडिएको चेतनाले गर्दा कैयौँपटक राजालाई पनि सही मान्छन् । कैयौँपटक निरङ्कुश पञ्चायती व्यवस्थालार्ई सही मान्छन् । त्यो भन्दैमा त्यही नै सही हो भन्ने होइन । हामीले उनीहरूको चेतनालाई उठाएर सही दिशामा लैजानुपर्छ ।

मैले कालापानीको कुरा गर्दै थिएँ । कालापानीको विषयमा लामो समयदेखि हामीले आन्दोलन गर्दै आएका छौँ । हामीले त्यहाँबाट भारतीय सेनालाई हटाउन सकेका छैनौँ । त्यो वस्तुगत स्थितिमाथि पनि निर्भर गर्छ । भारतीय सेनासित लडेर कालापानी मुक्त गराउनका लागि नेपालका वामपन्थीसँग शक्ति छैन । नेपालको सरकारसित पनि त्यति शक्ति छैन । त्यो स्थिति गम्भीर छ । फेरि पनि जे सही चिज हो, त्यसका लागि हामी लगातार सङ्घर्ष गरिरहनुपर्छ ।

० अहिले त शक्ति छैन भने राजा महेन्द्रले हटाएन, उसले दियो भनेर के आधारमा भनिरहनुभएको छ ?

– तपाईंले बारम्बार घुमाएर यो प्रश्न सोधेकाले भनेको हुँ । हामीले शक्ति नभएर होइन, हामीले विरोध त लगातार गरिराखेका छौँ नि । राजा महेन्द्रले त विरोध गरेनन् बरु समर्थन गरे । तपाईंले घुमाई फिराइकन राजा महेन्द्रलाई समर्थन गर्नुपर्छ भन्नुभयो तर राजा महेन्द्रले कालापानीलाई अहिले छोडिदिने हो, अहिले भारतलाई बस्न दिने हो भनेका थिए ।

० अहिलेको समयमा तपाईं कम्युनिस्ट हौँ भन्नेहरू असान्दर्भिक भएको होइन त ? तपाईंहरू झन्डै एक दर्जनजति हुनुहुन्छ । ४५–५० प्रतिशत मत तपाईंहरूलाई दिएको पनि देखिन्छ तर नतिजाले के देखाउँछ भने नेपालमा जे जति घात भएको छ, जे जति दु:खी भएका छन् नेपाली जनता, यही कम्युनिस्टको वर्चस्वका कारणले । समग्रमा हेर्दा कम्युनिस्टको व्यापक उपस्थिति रहेका बेलामा नेपालमा यो सारा दृश्य देखिएको छ : अपसंस्कार, मानवतस्करी, सुनतस्करी, जग्गा लुटपाटका घटना । यो सारा दृश्य हेर्दाखेरि कम्युनिस्टहरू राष्ट्रका लागि राजनीति गरिराखेका छन् कि नवधनाड्य, नवसम्पन्न हुने, नयाँ पुँजीपतिको रूपमा विकास हुने क्रममा छन् ?

– जुन भ्रष्टाचार काण्ड छन्, ती सबैको हामीले विरोध गरिराखेका छौँ । कसैलाई हामीले समर्थन गरिराखेका छैनौँ । चाहे कालापानीको प्रश्न होस्, चाहे सीमाको प्रश्न होस्, चाहे राष्ट्रियताको प्रश्न, चाहे एम.सी.सी. को प्रश्न—यी सबैमा हाम्रो अडान छ : यसको समर्थन वा मजबुत पार्ने होइन, त्यसको विरोध गर्ने हो । त्यसका विरुद्ध जनतालाई उठाउने हो । हाम्रो कुरा के हो भने अन्तमा कुनै शासक वर्गले कुनै विषयमा सही नीति अपनाउन नसकेको अवस्थामा त्यसमा मुख्य भूमिका खेल्ने जनताले हो । अन्तमा निर्णयात्मक भूमिका जनताकै हो ।

जनताको चेतना र आन्दोलनको आधारमा हामीले देशमा गणतन्त्र ल्याउन सक्यौँ । राष्ट्रियताको रक्षा गर्न सक्यौँ । त्यति मात्र होइन, हामीले भ्रष्टाचारलाई पनि निर्मूल पार्न सक्छौँ । त्यो दिशामा हामी लगातार अगाडि बढेका छौँ ।

० गणतन्त्रको माध्यमबाट राष्ट्रियताको जगेर्ना हुन्छ भन्ने के आधारमा भनिरहनुभएको छ ।

– लगातार घुमाई फिराइकन तपाईंले गणतन्त्रको विरोध गरिरहनुभएको छ । तपाईंको जोड गणतन्त्र गलत छ, यसलाई हटाउनुपर्छ भन्नेमा छ । राजालाई ल्याउनुपर्छ भन्नेमा तपाईंको जोड छ । त्यसको विकल्प के त ? राजतन्त्र ल्याउनुपर्छ भन्ने तपाईंको भनाइ हो ? गणतन्त्र भनेको जनताको आवाज हो । जनताको आन्दोलन हो । जनताको शक्तिको कुरा हो ।
तपाईंलाई यो पनि थाहा होला, पहिले यहाँ राजतन्त्र भएको बेलामा राजपरिवारको संलग्नतामा ठुलो पैमानामा तस्करी भएको थियो । नेपालमा मूर्ति विदेशमा पुगेका थिए । यी सबै कुरा थाहा छ नि तपाईंलाई । त्यसैले राजतन्त्रद्वारा सबै राम्रो हुन्छ भन्ने होइन । त्यो झन् नराम्रो व्यवस्था हो । त्यसबाट देश झन् बर्बादीको दिशामा जान्छ । त्यसकारण राजतन्त्र त कुनै पनि हालमा सही हुँदैन नेपालका लागि ।

० नेपालमा लागि कि संसारकै लागि राजतन्त्र असान्दर्भिक भन्न खोजेको ?

– संसारकै लागि असान्दर्भिक भइसकेको छ ।

० बेलायत, जापान, नर्वे, युरोपियन कैयौँ मुलुकमा ?

– त्यहाँ पनि लामो सङ्घर्षपछि वैधानिक राजतन्त्र कायम भएको छ । त्यहाँ निरङ्कुश शासन खतम भयो, वैधानिक शासन कायम भयो । त्यहाँ पनि अहिले गणतन्त्र ल्याउनका लागि राजतन्त्रको विरुद्धमा चर्को आवाज उठिरहेको छ किनकि राजतन्त्र भनेको एउटा व्यक्ति, परिवार मातहतको कुरा हो ।

० अनि साम्यवाद ? उत्तर कोरिया ?

– साम्यवादको भविष्य उज्ज्वल छ ।

० उत्तर कोरिया, फिडेल कास्त्रोले क्युबामा ? ग्याङ अफ फोर ?

– वास्तवमा कम्युनिज्म भनेको दुनियाको भविष्य हो । त्यो उज्ज्वल भविष्य कम्युनिज्मले मात्रै ल्याउँछ ।

० कहाँबाट पुष्टि हुन्छ ? तपाईं उज्ज्वल भविष्यको कुरा गरिरहनुभएको छ ? जसले प्रतिष्पर्धामा विश्वास गर्दैन, विपक्षीलाई देखी सहँदैन । त्यो राजनीतिक प्रतिष्पर्धा नस्वीकार्ने कस्तो व्यवस्था हो ?

– जसले समाजवादी व्यवस्था विरोधी विचार राख्छन्, जसले शोषण र पुँजीवादलाई समर्थन गर्दछन्, तिनीहरूका लागि कम्युनिज्म अमान्य भएको छ । असह्य भएको छ ।

० प्रचण्ड, खड्ग ओली, माधवकुमार नेपाल कम्युनिज्मकै कुरा गरिरहेका छन् । उनीहरूको जीवन र आम जनताको जीवनमा के फरक छ ?

– कम्युनिज्मभित्र त्यस्ता हामीले कैयौँ उदाहरण पाएका छौँ । हामीले डा. केशरजङ्ग रायमाझीलाई देख्यौँ, जसले राजतन्त्रसँग आत्मसमर्पण गरे । हामीले खु्रस्चेभलाई देख्यौँ, जसले त्यहाँको समाजवादलाई खतम गरेर पुँजीवाद ल्याए । त्यसै गरेर देङस्याओ पिङहरूलाई पनि देख्यौँ, जसले पुँजीवाद ल्याए ।

स्टालिनको पालामा रुसमा समाजवाद निर्माण भयो । त्यसैले स्टालिनमाथि पुँजीपतिहरूले सबैभन्दा बढी हमला गर्दछन् । किन हमला गर्दछन् भने उनको कालमा नै समाजवादी व्यवस्था निर्माण भयो । त्यसबाट पुँजीवादलाई सहयोग भएन ।

० दुई जना बचाउन एक हजार मार्दा हुन्छ भन्ने हो ?

– त्यो एक हजारको कुरा काल्पनिक रूपमा आएको हो ।

० मार्क्सले दर्शन दिए । त्यसको कार्यान्वयनमा आउँदा कम्युनिस्टहरू असान्दर्भिक भएको जस्तो लाग्दैन तपाईंलाई ?

– यो पुँजीपतिहरूको विचार हो । अहिले मात्रै होइन, मार्क्सको पालादेखि नै यो असान्दर्भिक छ, गलत छ भनेर उनीहरूले भन्दै आइरहेका छन् । उनीहरू जहिले पनि, पुस्तौँदेखि कम्युनिस्टहरू असान्दर्भिक हुन्, यिनीहरूको भविष्य छैन भन्दै आइरहेका छन् ।

० कम्युनिज्म के प्रयोगका लागि ?

– समाजमा भएको शोषण, उत्पीडन खतम पार्नका लागि । बैदेसिक शोषण खतम गर्नका लागि ।

० नेपालमा कम्युनिस्टहरू यतिका छन् त । सायद यो अन्तिमपटक प्रयोग हुँदै छ, कम्युनिस्ट उपस्थितिको । आगामी चुनावसम्म के हुने हो ? पत्तो छैन । खड्ग ओली, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल यिनै त हुन् नि ।

– यिनीहरू मात्रै होइनन् । वास्तवमा कम्युनिस्टलाई भौतिक परिस्थितिले अगाडि ल्याउन सक्छ । समाजमा शोषण भएको छ, अन्याय भएको छ, अत्याचार भएको छ । त्यसको निराकरणका लागि कम्युनिज्म आउनुबाहेक अरू विकल्प नै छैन । अरू उपाय नै छैन । त्यो काम पुँजीपतिले गर्न सक्दैनन् । पुँजीवादीहरूले त युद्ध गर्छन्, अशान्ति मच्याउँछन् । शोषण गर्छन्, उत्पीडन गर्छन् । संसारभरि उनीहरूले त्यही गर्छन् । त्यसको विकल्प कम्युनिज्मबाहेक अरू छैन ।

० विकल्प कम्युनिज्मबाहेक अरू केही छैन ?

– छैन ।

० संसारमा कहाँ छ कम्युनिज्म ?

– संसारका कम्युनिज्मको प्रयोग भइरहेको छ ।

० उत्तर कोरिया, क्युबा ?

– नयाँ नयाँ प्रयोग हुँदै आइरहेको छ । फेरि आउँछ । सङ्घर्ष हुन्छ । त्यसको पतन हुन्छ । आयु बढ्छ । त्यसको हार हुन्छ, विजय हुन्छ । त्यो क्रम चलिरहेको हुन्छ ।

० असान्दर्भिक भएको जस्तो लाग्दैन कम्युनिज्म ? अब यो विचार पुरानो भयो, अब त नयाँ ढङ्गले सोच्नुपर्छ भन्ने लाग्दैन ?

– असान्दर्भिक भयो भन्ने कुरा सम्पूर्ण पुँजीपतिहरूको हो । त्यसलाई तपाईंले बताइराख्नुभएको छ तर त्यसो होइन । वस्तुगत स्थिति त्यस्तो छैन । ऐतिहासिक वास्तविकता होइन त्यो । वास्तवमा अहिलेको सामाजिक समस्या अर्थात् शोषण, उत्पीडनको समाधान भनेको कम्युनिज्म नै हो ।

० मानिस के भन्छन् भने जहाँ गरिबी हुन्छ, जहाँ अशिक्षा हुन्छ, जहाँ अभाव हुन्छ, पछौटेपनको सिकार भएको मानिस दिग्भ्रमित हुन्छन् । त्यो भ्रमवश कम्युनिस्टलाई अङ्गिकार गर्छन् अनि सम्भ्रान्त भएपछि, पढेलेखेको भएपछि अनि तिनलाई लात हान्छन् । थप दुत्कार्छन् अनि त्यसपछि पुँजीवादमा प्रवेश गर्छ भन्छन् नि त ।

– वास्तवमा पुँजीवाद जबदेखि सुरु भयो, सामन्तवादी शोषण, पुँजीवादी शोषण, त्यसको विरुद्ध नै कम्युनिज्म पैदा भएको हो । त्यसले नै अहिलेको स्थितिमा परिवर्तन ल्याउँछ । निश्चय नै परिवर्तनको क्रममा कैयौँपटक सफलता प्राप्त हुन्छ, असफलता प्राप्त हुन्छ, बाधा हुन्छन्, अवरोध हुन्छन् । यसको बिचबाट गएर कम्युनिस्ट आन्दोलन अगाडि बढ्छ । त्यसैले संसारमा कैयौँ सफलता पनि प्राप्त भएका छन् । रुसमा समाजवाद आयो, फेरि असफल भएर गयो । चीनमा सफल भयो, फेरि असफल भयो । यस्तो हामीले संसारभरि देखिराखेका छौँ । यसको अर्थ कम्युनिज्मको भविष्य सिद्धियो भन्ने होइन । भौतिक परिस्थिति अर्थात् समाजमा भएको शोषण, उत्पीडन यी सबैलाई अन्य गर्न कम्युनिस्टले आधार तयार पार्दछन् । त्यसले उनीहरूलाई सुनौलो भविष्यतिर अगाडि बढाउँदै लैजान्छ । हामी कम्युनिज्मको त्यो भविष्यको बारेमा एकदम स्पष्ट छौँ ।

० अब पनि नेपालमा नेपालीजनले कम्युनिस्टको नाममा आन्दोलन गरिदिन्छन् भन्ने तपाईंहरूलाई लाग्छ ?

– यो कुनै तर्क भएन ।

० राजा महेन्द्रले भूमिसुधार ऐन ल्याएका थिए नि ।

– जङ्गबहादुरले सतिप्रथा खतम पारेका थिए । नेपालमा आन्दोलन चलेर हैन, अन्तर्राष्ट्रिय परिस्थिति तयार भएको थियो । त्यसकारण सतिप्रथा खतम भयो । चन्द्रशमशेरले कमाराकमारी प्रथा खतम पारे । त्यो पनि नेपालमा आन्दोलन भएर त हैन । त्यसैगरी, राजा महेन्द्रले पनि भूमिसुधारको काम गरे, त्यसमा पनि स्वयम् राजाको भूमिका थिएन । त्यसको कारण थियो : नेपालमा कम्युनिस्टको किसानको पक्षमा आन्दोलन चलाएका थिए ।

० २०१५ सालको चुनावमा कम्युनिस्टले चार सिट ल्याएका थिए । २०१७ सालमा बहुदलीय व्यवस्था समाप्त भयो अनि तपाईं भन्नहुन्छ कम्युनिस्टको दबाबमा राजा महेन्द्रले भूमिसुधार ऐन ल्याए ?

– तपाईंले इतिहासलाई बङ्ग्याएर कुरा गर्दै हुनुहुन्छ । त्यस बेला कम्युनिस्टहरूले देशव्यापी रूपमा आन्दोलन गरेका थिए भूमिसुधारको लागि । त्यसको प्रेसरले गर्दाखेरि राजाले भूमिसुधार घोषणा गर्नुपरेको हो ।

२००९ सालदेखि नेपालमा धेरै किसान आन्दोलन भएका थिए । २०१७ सालमा त राजा आए । त्योभन्दा पहिला चाहे रौतहतको किसान आन्दोलन भनौँ, चाहे पाल्पाको किसान आन्दोलन भनौँ, चाहे पूर्वीतराईको किसान आन्दोलन भनौँ, देशव्यापी रूपमा किसान आन्दोलन भएको थियो । कम्युनिस्ट पार्टीको स्थापना २००६ सालदेखि नै नेपालमा यति ठुलो किसान आन्दोलन भयो कि तपार्इंले इतिहासको अध्ययन गर्नुहोस्, त्यसको परिणामस्वरूप नै राजा महेन्द्रले भूमिसुधार लागु गर्नुपर्‍यो ।

० महामन्त्रीजी राजा महेन्द्रले २०२१ सालमा भूमिसुधार ऐन लागु गर्दा कम्युनिस्टको दबाबमा परे भन्नुभयो । कम्युनिस्ट कुन शक्तिको रूपमा थियो र त्यो दबाबमा राजा महेन्द्रले काम गरे ? विपी कोइरालाले प्रतिस्पर्धा गर्न सकेनन् । प्रतिवाद गर्न सकेनन् । उनी स्वयम् पलायन भए । विदेश भाग्ने स्थिति बनेको थियो । दुईतिहाइ बहुमत लिएको काङ्ग्रेसको त त्यो हविगत थियो । खुकुरीवाला भरत शमशेरहरू भागभाग गरेका थिए । कम्युनिस्टहरूको के उपस्थिति थियो र तपाईंले त्यो भनिरहनु भएको छ ।

– नेपालमा किसान आन्दोलनको इतिहास पढ्नुस् त । किसान आन्दोलन देशव्यापी रूपमा सञ्चालन भएको थियो । हामीले हमेसा तथ्यगत रूपमा चिजलाई राख्छौँ । उदाहरणका लागि पूर्वपश्चिम राजमार्ग बन्यो, कोदारी राजगमार्ग बन्यो । त्यसको काङ्ग्रेसलगायतले कैयौँ पार्टीले विरोध गरे । हाम्रो पार्टी नै त्यो पार्टी थियो, जसले राजा महेन्द्रको उक्त कदमलाई समर्थन गरेको थियो ।

त्यस्तै, उत्तरी चेकपोस्टबाट जुन नाका हटाइयो, त्यसको पनि हामीले समर्थन गरेका थियौँ । त्यसको विरुद्ध जुन भारतले नाकाबन्दी लगायो, त्यसको हामीले धुमधाम विरोध गरेका थियौँ । हमेसा यस्ता विषयमा हामी तथ्यको आधारमा जान्छौँ । वास्तविकताको आधारमा जान्छौँ । कुनै पूर्वाग्रह नराखिकन हामीले पार्टीको नीति अपनाउने गरेका छौँ ।

० महामन्त्रीज्यू, अहिले कम्युनिस्टको जुन गौरवपूर्ण उपस्थिति देखिन्छ नि तर नतिजाले दिनको १९ देखि २५ सयसम्म नेपालीजन विदेशिन्छन् । पढ्नका लागि प्रतिवर्ष डेढ लाख बिदेसिन्छन् अनि यो देश अहिले २३ खरबभन्दा बढी ऋणमा छ । २१ प्रतिशत नागरिकले कर तिर्छन् जो चीन, भारतमा भन्दा बढी हुन्छ । परनिर्भरता भयानक बढेर गएको छ । भारतनिर्भरता झन्डै ८० प्रतिशत छ । हामी आयातमुखी भएका छौँ । चेलीबेटी बेचबिखन भइरहेको छ । राजनीतिक नेतृत्व एक नम्बरको भ्रष्ट छ । चाहे काङ्ग्रेस, चाहे कम्युनिस्ट भन्नुस्, मुलुकमाथि घात गरिरहेको छ । यो सबै नतिजाबाट तपाईंहरू कसरी बचाउनु हुन्छ यो प्रणालीलाई ?

– पहिलो कुरा, ती सबै नतिजाको परिमाणबाट पनि राजतन्त्र सही छ भन्ने प्रमाणित हुन्न ।

अर्कोतिर, यी दृश्यलाई हामीले समर्थन गरेका छैनौँ । त्यसको हामीले लगातार विरोध गरिरहेका छाँै । नतिजा त शक्तिमाथि निर्भर हुन्छ, जनताको चेतनामाथि निर्भर गर्छ । आन्दोलनमाथि निर्भर गर्छ । त्यो दिशामा हामी लगातार प्रयत्न गरिरहेका छौँ ।

राजाले ठाउँ ठाउँमा भ्रमण गर्दा के भनेका छन् भने २०४६ सालपछिको व्यवस्था अलि नराम्रो भयो । पहिलाको पञ्चायती व्यवस्था राम्रो थियो । पञ्चायती व्यवस्थामा कति गुण्डागर्दी थियो ? कति मण्डलेगिरी थियो ? कति तस्करी थियो ? कति अबला चेलीको बलात्कार भएको थियो ? त्यो आम रूपमा थाहा भएको कुरा हो । त्यसकारण हामीले यो व्यवस्थालाई अझ माथिल्लो तहमा लैजानको लागि प्रयत्न गरिरहेका छौँ । प्रतिगमनतर्फ लैजाने हैन, फेरि राजतन्त्रतर्फ लैजाने हैन, निरङ्कुश पञ्चायती शासनको गुण्डागर्दीतर्फ लैजाने हैन । यो व्यवस्थालाई हामीले अग्रगामी आन्दोलन गरेर, यसका विकृतिलाई समाप्त गरेर उच्च स्तरमा लैजाने प्रयत्न गर्नुपर्दछ ।

० ठिक छ गणतन्त्रलाई बचाउनुहोस् । यो प्रणालीलाई बचाउनुहोस् तर नेपाल देश र नेपाली जनताका लागि राम्रो होस् । कार्यक्रममा आइदिनुभयो । महामन्त्रीज्यूलाई हार्दिक धन्यवाद ।

– तपाईंलाई पनि धन्यवाद ।

(२०८० भदौ १६ गते शनिबार “यो हो टेलिभिजन” मा पत्रकार जीवराम भण्डारीसँगको कुराकानीको सम्पादित भाग)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार