स्कुल कलेजमा विद्यार्थी घट्दै जानु गम्भीर संकटको संकेत : राजमो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले विद्यालय तथा कलेजहरूमा विद्यार्थीको संख्या घट्दै जानु र कलेजहरू मर्ज हुँदै जानु गम्भीर संकटको संकेत भएको बताएको छ ।

विद्यालय कलेजमा विद्यार्थी घट्दै जाँदा शिक्षा क्षेत्रमा पर्ने संकटकले सम्पूर्ण देशमा नै नकारात्मक र दूरगामी असर पार्ने राजमोले चेतावनी दिएको छ ।

उपाध्यक्ष एवम् प्रवक्ता दुर्गा पौडेलले आइतबार (१० मंसिर) जारी गर्नुभएको वक्तव्यमा सामूदायिक विद्यालयहरूमा पनि विद्यार्थीहरूको संख्या न्यून हुँदै गइरहेको छ । यो वास्तवमा सम्पूर्ण देशको लागि र भविष्यको लागि समेत गम्भीर संकट हो’ भन्नुभएको छ ।

‘देशका क्याम्पसहरूमा विद्यार्थीहरूको संख्या लगातार घट्दै गइरहेको छ । त्यसको परिणामस्वरूप पठनपाठन हुन नसकेर वा क्याम्पसहरूको खर्चको पनि समस्या भएर कैयौँ क्याम्पसहरूले आपसमा मर्ज गर्दै जानु परिरहेको छ’ वक्तव्यमा भनिएको छ, ‘त्यसरी क्याम्पसहरूको संख्या लगातार घट्दै गइरहेको छ । सामुदायिक विद्यालयहरूमा पनि विद्यार्थीहरूको संख्या न्यून हुँदै गइरहेको छ । यो वास्तवमा सम्पूर्ण देशको लागि र भविष्यको लागि समेत गम्भीर संकट हो ।’

१२ कक्षा पढेपछि विद्यार्थीहरू विदेशमा नै पढ्न वा नोकरी गर्न जाने प्रवृत्ति बढेकाले नेपालका क्याम्पसहरूमा पढ्ने विद्यार्थीहरूको संख्या घट्दै गएको उल्लेख गर्दै यसले भविष्यमा संकट उत्पन्न हुने राजमोले जनाएको छ ।

वक्तव्यमा भनिएको छ, ‘खास गरेर १२ कक्षा पढेपछि विद्यार्थीहरू देशभित्र नपढेर विदेशमा नै पढ्न वा नोकरी गर्न जाने प्रवृत्ति बढेकाले नै नेपालका क्याम्पसहरूमा पढ्ने विद्यार्थीहरूको संख्या घट्दै गएको हो । त्यसबाट शिक्षाको क्षेत्रमा संकट आउने कुरामा निश्चित नै छ शिक्षाको क्षेत्रमा देखा पर्ने त्यो संकटकले सम्पूर्ण देशमा नै नकारात्मक र दूरगामी असर पार्ने छ ।’

वक्तव्यमा सामुदायिक विद्यालयहरूमा पढाइको स्तर सन्तोषजनक नभएको हुनाले विद्यार्थी निजी वा बोर्डिङ स्कुलतिर बढी आकर्षित हुने गरेको स्पष्ट पार्दै त्यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

‘सामुदायिक विद्यालयहरूमा तल्लो कक्षामा पढ्ने विद्यार्थीहरूको संख्या पनि कम हुँदै गइरहेको छ । त्यसको कारण यो हो कि सामुदायिक विद्यालयहरूमा पढाइको स्तर सन्तोषजनक नभएको हुनाले उनीहरूले निजी वा बोर्डिङ स्कुलतिर नै बढी आकर्षित हुने गर्दछन्’ वक्तव्यमा भनिएको छ, ‘समग्र रूपमा आज शिक्षाको क्षेत्रमा जुन गम्भीर समस्या र संकट समेत देखा पर्दै गइरहेको छ, त्यसप्रति हामीले सबै राष्ट्रप्रेमी र सरकारको समेत गम्भीर ध्यान आकर्षित गर्न चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार