चीनमा शक्तिशाली भूकम्प, सयभन्दा धेरैको मृत्यु

काठमाडौं । उत्तर–पश्चिम चीनमा सोमबार राति गएको भूकम्पमा परेर कम्तीमा १११ जनाको मृत्यु हुनुका साथै २२० जना मानिसहरू घाइते भएका छन् ।

अमेरिकी संस्था युएसजीएसले भूकम्प ५.९ म्याग्निट्युडको रहेको बीबीसीले जनाएको छ।

गान्सु प्रान्तमा मध्यरात भूकम्प गएको थियो। त्यहाँ र छिमेकी छिङहाइ प्रान्तमा भूकम्पले गर्दा भवनहरूमा क्षति पुगेको छ।

केही घण्टापछि सिन्जियाङ प्रान्तमा पनि भूकम्पको दोस्रो झट्का महसुस गरिएको छ। तर ५.५ म्याग्निट्युडको उक्त भूकम्पले पुर्‍याएको क्षतिबारे प्रस्ट जानकारी प्राप्त भएको छैन।

चिनियाँ राष्ट्रपति सी जिनपिङले उद्धारका लागि सबै प्रयास गर्न निर्देशन दिएका छन्।

आपत्कालीन उद्धारकर्ताहरूले चिसो मौसमको सामना गर्दै चीनको गरिब इलाकाहरू मध्येमा पर्ने उक्त ग्रामीण क्षेत्रका मानिसहरूलाई सहयोग गर्ने प्रयास गरिरहेका छन्।

त्यहाँको तापक्रम माइनस १३ डिग्री सेल्सियस भन्दा कम रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।

मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने अनुमान अधिकारीहरूले गरेका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार