मसालद्वारा मृतकप्रति श्रद्धाञ्जली, सन्तप्त परिवारप्रति दु:ख व्यक्त

काठमाडौँ । नेकपा (मसाल) ले इपिएस घटनाका मृतकप्रति श्रद्धाञ्जली प्रकट गर्नुका साथै सन्तप्त परिवारप्रति दु:ख व्यक्त गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० पुस १३ गते शुक्रबार जारी प्रेसवक्तव्यमार्फत् पार्टीले सो घटनाप्रति समेत दु:ख प्रकट गरेको हो ।

प्रेसवक्तव्यमा उक्त घटनाको सन्दर्भमा पक्राउ परेका व्यक्तिको शीघ्र रिहाइ गर्नुपर्ने आवश्यकता पनि जोड दिएको छ ।

सामान्य विषयमा त्यस प्रकारको घटना हुनु दुखद् भएको भन्दै पार्टीले त्यसबारे निस्पक्ष छानबिन हुनुपर्ने आवश्यकतामा जोड दिएको छ ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

“आज इपिएसको परीक्षासम्बन्धी विषयमा ललितपुरको बालकुमारीमा भएको घटना र दुई जनाको मृत्युसमेत भएकोप्रति हाम्रो पार्टीले गम्भीर दु:ख प्रकट गर्दछ र मृतक व्यक्तिहरूप्रति श्रद्धाञ्जली प्रकट गर्नुका साथै उनीहरूका सन्तप्त परिवारप्रति नेकपा (मसाल) ले दु:ख प्रकट गर्दछ ।

सामान्य विषयमा भएको त्यस प्रकारको घटना हुनु आवश्यक थिएन र उक्त विषयमा भएको जुलुस प्रदर्शनलाई शान्तिपूर्ण प्रकारले समाधान गर्नुपर्दथ्यो भन्ने हाम्रो पार्टीको राय छ । त्यो घटनाले किन उग्र र हिंसात्मक रूप लियो ? त्यसबारे निस्पक्ष र उच्च प्रकारले छानबिन गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।

त्यस सिलसिलामा गृहमन्त्रीले छानबिन समिति बनाएको समाचार पनि सार्वजनिक भएको छ । त्यो छानबिनपछि त्यसबारे आधिकारिक रूपले केही भन्न सम्भव होला वा अन्य स्वतन्त्र र निस्पक्ष प्रकारले त्यसबारे गरिने छानबिनले पनि सत्य तथ्य बाहिर आउने छ भन्ने हामीले आशा गरेका छौँ । उक्त घटनाको क्रममा प्रक्राउ परेका व्यक्तिलाई पनि शीघ्र रिहाइ गर्नुपर्ने आवश्यकतामा हाम्रो पार्टीले जोड दिन्छ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार