अन्तर्राष्ट्रिय एकता समाजले मनायो लेनिनको शताब्दी स्मृतिदिवस

काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजले लेनिनको शताब्दी स्मृतिदिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीको प्रमुख आतिथ्यमा २०८० माघ ७ गते (जनवरी २१, २०२४) आइतबार साँझ भर्चुअल माध्यमबाट उक्तm कार्यक्रम सम्पन्न भएको हो ।

सो अवसरमा मन्तव्य राख्दै अध्यक्ष केसीले समाजवादी क्रान्तिको भविष्य उज्ज्वल रहेको बताउनुभयो ।

विश्व कम्युनिस्ट आन्दोलनमा बेला बेलामा अप्ठ्यारो परिस्थिति आउने गरेको बताउँदै उहाँले कोही पनि आत्तिन नहुने बताउनुभयो ।

‘कम्युनिस्ट आन्दोलनमा बेला बेलामा अप्ठ्यारो परिस्थिति आइरहन्छ, उतारचढाव भइरहन्छ’ अध्यक्ष केसीले भन्नुभयो– ‘यस्तो उतारचढावबाट कोही पनि आत्तिनु हुँदैन । यसरी आत्तिनेहरू कम्युनिस्ट आन्दोलनमा टिक्न सक्दैनन् ।’

उहाँले नेपालमा अहिले गणतन्त्रको विरुद्धमा राजावादी शक्तिको चलखेल बढेको बताउँदै त्यसप्रति सतर्क रहनुपर्ने बताउनुभयो ।

‘गणतन्त्रका लागि लडेका दलहरूले नै कमजोरीका गरेका कारण राजावादी शक्तिहरूको चलखेल बढेको छ’ उहाँले भन्नुभयो– ‘तर यो भन्दा उच्च स्तरको व्यवस्था नआउँदासम्म गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन ।’

उहाँले गणतन्त्रलाई संस्थागत गरेर नै नयाँ जनवादी व्यवस्थातर्फ जान सकिने बताउनुभयो ।

कार्यक्रममा वामपन्थी नेता आनन्द सर्मा, नेकपा (मसाल) ३ नं. प्रदेश ब्युरोका प्रवक्ता समीर सिंह र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले पनि मन्तव्य राख्नुभएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमन बुढाथोकी मगरले अध्यक्षता गर्नुभएको उक्त कार्यक्रमको सञ्चालन कोरिया नेपाली एकता समाजका अध्यक्ष बिष्णु पुन र स्वागत मन्तव्य कुवेत नेपाली एकता समाजका महासचिव खुम रायमाझीले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न देशका नेपाली एकता समाजका नेताकार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार