प्युठानका विजयको हैदरावादमा छुरा प्रहार गरी हत्या

हैदरावाद । प्युठान नगरपालिका वडा नम्बर ३ साप्डाँडा निवासी ५२ वर्षीय विजयबहादुर (बुँदे) नेपालीको भारतको हैदरावादमा फेब्रुअरी ९, २०२४ का दिन छुरा प्रहार गरी हत्या भएको छ ।

कार्यरत कम्पनीसितको सहमतिपछि फेब्रुअरी ११ आइतबारका दिन मृतक नेपालीको दाहसंस्कार गरिएको हो ।

उनी गत तीन दशकदेखि हैदराबादको गगनपहाड भन्ने ठाउँमा रहेको एक लेमिनेसन निर्माण गर्ने कम्पनीमा काम गर्दै आइरहेका थिए ।

फेब्रुअरी ९ को दिन राति करिब ९ बजेको समयमा सोही कम्पनीमा काम गर्ने भारतकै बिहार निवासी सेक्युरिटी गार्डले विजयबहादुरमाथि छुरा प्रहार गरेका थिए । छुरा प्रहार गर्नुको कारण भने अझै खुल्न सकेको छैन ।

सो खबर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई प्राप्त हुनासाथ केन्द्रीय प्रतिनिधि के. रतन सिंह, क्षेत्रीय सहसचिव शङ्कर नेपाली र राजेश नेपाली सहितको प्रतिनिधिमण्डल घटनास्थलमा पुगेको थियो ।

दोषीलाई तुरुन्तै गिरफ्तार गरी कानुनी कारबाही अगाडि बढाउन मूल प्रवाहले प्रशासनलाई दबाब दिएको केन्द्रीय सदस्य रतन सिंहले जानकारी दिनुभएको छ ।

उता, कम्पनी प्रबन्धनसँग पनि मृतकका आश्रितलाई उचित क्षतिपूर्तिका साथै शिक्षादिक्षाको व्यवस्था गर्नका लागि वार्ता गरी सहमती भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार