अवैध तरिकाले गएका २५ हजार नेपाली महिला कुवेतमा

काठमाडौं । मानव तस्करले अनेक प्रलोभन देखाई नेपाली महिलालाई अवैध तरिकाले कुवेत लैजाने क्रम रोकिएको छैन । घरेलु कामदारमा आकर्षत सेवा सुविधा हुने भन्दै नेपाली महिलालाई कुवेत पुर्‍याउने गरिएको छ ।

तस्करले भिजिट भिसामा नेपाली महिलालाई कुवेत पुर्‍याएको भेउ पाएपछि सरकारले त्यसमा कडाइ गरेको थियो । तर, कुवेत जानेक्रम रोकिएको छैन ।

“कुवेतमा ३० हजार नेपाली महिला कार्यरत छन् । यीमध्ये २२ देखि २५ हजार नेपाली महिला अवैध तरिकाले कुवेत आएका हुन् । सबै घरेलु कामदारका रूपमा यहाँ कार्यरत छन्,” कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले भने ।

नेपालले सन् २०१४ देखि खाडी राष्ट्रमा घरेलु कामदारका रूपमा जान नेपाली महिला कामदारमाथि रोक लगाएको छ । तर, तस्कारले विभिन्न प्रलोभन देखाई ठूलो संख्यामा नेपाली महिलालाई कुवेत पुर्‍याउने गरेका छन् ।

“नेपाल सरकारको अनुमति नलिई, बिनाश्रम स्वीकृति ठूलो संख्यामा नेपाली महिला अवैध तरिकाले कुवेत आइरहेका छन् । आउनेक्रम घटेको छैन, निरन्तर चलिरहेको छ,” राजदूत लम्सालले भने ।

खाडी राष्ट्र पुगेका नेपाली महिलाले धेरै दुःख पाएपछि सरकारले घरेलु कामदारका रूपमा त्यहाँ जान रोक लगाएको थियो । सो रोक सरकारले खुलाएको छैन । तस्करले विभिन्न देश हुँदे नेपाली महिलालाई कुवेत पुर्‍याउने गरेका छन् ।

पछिल्लो समय तस्करले नेपाली महिलालाई कुवेत पुर्‍याउन मुख्यतः तीन बाटा प्रयोग गरिरहेका छन् । पहिलो, भारत हुँदै कुवेत । दोस्रो, काठमाडौंबाट युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई हुँदै कुवेत । तेस्रो, सिंगापुर हुँदै कुवेत ।

बाटो जुन प्रयोग गरे पनि तस्करले नेपाली महिलालाई भिजिट भिसामा कुवेत पुर्‍याउने गरेको पाइएको छ । यसरी ठूलो संख्या सुरुमा भिजिट भिसामा यूएई जाने र त्यहाँबाट कुवेत पुग्ने गर्छन् । “हाम्रो अध्ययनले अवैध तरिकाले कुवेत आउने नेपाली महिलाहरू प्रायः सबै भिजिट भिसामा आएको देखाउँछ,” राजदूत लम्सालले भने ।

अध्यागमन विभागका अनुसार, सन् २०२३ मा दुई लाख चार हजार ५१८ नेपाली भिजिट भिसामा विभिन्न देश गएका थिए । तीमध्ये सबैभन्दा ठूलो संख्या ५५ हजार ६१८ जना भिजिट भिसामा यूएई गएका थिए । भिजिट भिसामा यूएई जानेमा ३९ हजार ३२६ पुरुष र १६ हजार २९० महिला थिए । यो संख्या काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै जानेको मात्र हो । भारत हुँदै जानेको संख्या अझ ठूलो रहेको बताइन्छ ।

यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार, सन् २०२२ मा भिजिट भिसामा दुई लाख ५५ हजार नेपाली त्यहाँ पुगेका थिए । यो विवरण यूएई सरकारले नेपाली दूतावासलाई दिएको थियो । यो तथ्यांकले नेपालबाट सिधै भिजिट भिसामा यूएई जानेभन्दा भारतलगायत देशबाट त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो हुने गरेको छ ।

नेपालबाट सिधै भिजिट भिसामा कुवेत जानेको संख्या भने निकै कम छ । सन् २०२३ मा ४३२ महिला र ११७ पुरुष गरी कुल ५४९ नेपाली भिजिट भिसामा काठमाडौंबाट कुवेत गएको अध्यागमन विभागको तथ्यांकले देखाउँछ ।

अवैध तरिकाले कुवेत पुगी घरेलु कामदारका रूपमा कार्यरत नेपाली महिला कुन क्षेत्र, घरमा काम गरिरहेका छन् भन्ने त्यहाँस्थित नेपाली दूतावासलाई समेत थाहा हुँदैन । यस्ता महिलाले उद्धारका निम्ति फोन गरे पनि न आफू बसेको स्थान बताउन सक्छन् न घर नै ।

“घर मालिकको यातना सहन नसकी महिलाहरूले उद्धारका लागि फोन गर्छन् । तर, आफू कुन ठाउँमा छु भन्ने उनीहरूले बताउन सक्दैनन् । उद्धार गर्न कहाँ जानु ?,” राजदूत लम्सालले भने ।

दूतावासको ‘सेल्टर’मा हाल करिब ३० यस्ता महिला छन्, जो घर मालिकको यातना सहन नसेकर भागेर आएका छन् वा दूतावासले उद्धार गरेर ल्याएको छ । हरेक महिना ३० देखि ४० यस्ता महिलालाई दूतावासले उद्धार गरी नेपाल पठाउने गरेको छ । अर्थात्, हरेक दिन कोही न कोही नेपाली महिला यातना सहन नसकी भागेर दूतावासमा पुग्ने गर्छन् ।

वर्षमा ४०० भन्दा बढी महिलालाई उद्धार गरी दूतावासले नेपाल पठाउने गरेको छ । “यसरी आउने महिलाहरूलाई खाना र बस्ने सुविधा हामीले उपलब्ध गराउँदै आएका छौँ । नेपाल फर्कन आवश्यक प्रक्रिया पनि हामीले पूरा गरिदिन्छौँ,” उनले भने ।

कुवेतमा वैध र अवैध तरिकाले पुगी कार्यरत नेपालीको संख्या एक लाख सात हजार छ । यीमध्ये अवैध तरिकाले कुवेत पुग्ने नेपाली महिलाको संख्या २२ देखि २५ हजार छ । यसरी कुवेत पुगी काम गर्ने कोही महिला नेपाली दूतावासको रेकर्डमा भेटिँदैन ।

“अवैध तरिकाले आएका महिलालाई उद्धार गर्नुपरे उनीहरू कहाँ छन् भन्ने नै थाहा हुँदैन । उनीहरू हाम्रो रेडर्कमा हुँदैनन् । उनीहरूलाई कसले ल्यायो भन्ने पनि थाहा हुँदैन,” उनले भने ।

उद्धार गरिएका ९० प्रतिशत महिलाले आफूहरूलाई तस्करले नेपालबाट स्थलमार्ग हुँदै भारत र त्यहाँबाट केहीलाई दुबई हुँदै र कतिपयलाई सिधै कुवेत ल्याएको बताउने गरेका छन् ।

कुवेतलगायत खाडी राष्ट्रमा घरेलु महिला कामदारको माग ठूलो छ । यसैकारण नेपाली महिलालाई घरेलु कामदारका रूपमा प्रयोग गर्न कुवेतका घर मालिकले प्रतिव्यक्ति मासिक ६–७ लाख रुपैयाँसम्म खर्चने गर्छन् । यो रकम तस्करले बुझ्ने गर्छन् ।

कबुल गरेअनुसारको तलब नपाए र घर मालिकको यातना सहन नसक्नेहरू भागेर दूतावासको शरणमा पुग्ने गर्छन् । घरबाट भाग्न नसक्ने कतिपय महिलाले आत्महत्या गर्ने गरेको पाइएको छ ।

सन् २०१८ मा कुवेतमा मृत्यु हुने कुल ४८ नेपालीमध्ये १२ महिला थिए । ती अधिकांश महिलाको मृत्युको कारण सडक दुर्घटना र आत्महत्या हुने गरेको छ । घरबाट भाग्ने क्रममा बाटो काट्न नजान्दा धेरै महिलाले सडक दुर्घटनामा परी ज्यान गुमाउने गरेका बताइन्छ ।

बाह्रखरीबाट

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार