नेकपा (मसाल) को नवौँ महाधिवेशनमा महामन्त्री मोहनविक्रम सिंहको उद्घाटन मन्तव्य

(हालसालै सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (मसाल)को नवौँ महाधिवेशनको उद्घाटन कार्यक्रममा महामन्त्री मोहनविक्रम सिंहद्वारा प्रस्तुत उद्घाटन मन्तव्य)

कमरेडस्,

सर्वप्रथम नेकपा (मसाल) को केन्द्रीय समितिका तर्फबाट हामीले हाम्रो पार्टीको नवौँ महाधिवेशनमा आउनुभएका सबै प्रतिनिधि, पर्यवेक्षक, अतिथि, भाइचारा प्रतिनिधि तथा दर्शक र स्वयम्सेवकसमेतलाई क्रान्तिकारी अभिनन्दन गर्न चाहन्छौँ ।

यो नवौँ महाधिवेशनले निर्णय गर्ने नीति, कार्यक्रम समेतबाट अहिले विश्वमा र नेपालमा समेत पैदा भएको गम्भीर प्रकारको परिस्थितिको सामना गर्नलाई हामीलाई समर्थ बनाउने छ भन्ने कुरामा हामीले पूरा आशा र विश्वास गरेका छौँ । हाम्रो पार्टीको आठौँ महाधिवेशन २०७६ सालको जेठमा सम्पन्न भएको थियो । त्यसको पुगनपुग ५ वर्षपछि हाम्रो यो नवौँ महाधिवेशन हुँदै छ । आठौँ महाधिवेशनदेखि यो महाधिवेशनसम्मको अवधिमा देशभित्र र विदेशमा समेत गम्भीर प्रकारका घटना घटेका छन् ।

यो बताउँदा हामीलाई धेरै खुसी लागिरहेको छ कि अन्तर्राष्ट्रिय र देशभित्र घटेका त्यस प्रकारका घटनाप्रति हाम्रो पार्टीले लगातार ठोस नीति अपनाएर तिनीहरूका विरुद्ध आवाज उठाउँदै वा सङ्घर्ष गर्दै आएको छ ।

देशभित्र प्रतिगमनको खतरा झन्पछि झन् बढ्दै गइरहेको छ । राजावादी ता गणतन्त्रलाई समाप्त गरेर राजतन्त्रको पुनर्स्थापना तथा धर्मनिरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दु राष्ट्र बनाउनको लागि लामो समयदेखि अभियान चलाउँदै आएका छन् । एमालेको दुई/दुई पल्ट संसद्लाई विघटन गर्ने कार्यबाट पनि प्रतिगमनलाई धेरै नै मदत पुगेको थियो । भारतका कट्टर हिन्दुवादी शासक वर्गले पनि नेपालका प्रतिगामी शक्तिलाई बल पुर्‍याउने काम गरिरहेका छन् । हाम्रो पार्टीले प्रतिगमनका विरुद्ध आउने राजनीतिक शक्तिसँग मिलेर प्रतिगमनको खतरालाई रोक्न लगातार सङ्घर्ष गर्दै आएको छ र त्यसमा गठबन्धनलाई महत्त्वपूर्ण सफलता पनि प्राप्त भएको छ । आउने दिनमा पनि हाम्रो त्यो नीति कायम रहने छ । गत कालमा प्रतिगमनका विरुद्धको कार्यगत एकता वा गठबन्धनलाई लगातार, इमानदारीपूर्वक तथा दृढतापूर्वक अगाडि बढाउने हाम्रो नीति रहेको थियो तर अन्य पक्षले बारम्बार देखाएका ढुलमूल, अवसरवादी र अन्तरघातका कारणले त्यस प्रकारको गठबन्धनमा बारम्बार बाधा पुग्ने वा समस्या उत्पन्न हुने गरेका छन् ।

हामीले मुख्य रूपले प्रतिगमनलाई रोक्नको लागि नीतिगत आधारमा नै त्यस प्रकारको गठबन्धनमा जोड दिने गरेका थियौँ तर अन्य कतिपय पक्षले त्यसलाई सत्ताप्राप्तिको साधनको रूपमा उपयोग गर्ने प्रयत्न पनि गरे । त्यस प्रकारको नीतिका कारणले गठबन्धन कमजोर हुने, टुट्ने र त्यसबाट प्रतिगमनलाई मदत पुग्ने काम त भयो नै, त्यसका साथै त्यस प्रकारका कार्यबाट देशमा गम्भीर प्रकारका दुष्परिणाम हुने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न ।

देशमा साम्राज्यवादी शक्तिको हस्तक्षेपकारी भूमिका पनि लगातार बढ्दै गइरहेको छ । भारतीय साम्राज्यवादले हाम्रो कालापानीसमेतको क्षेत्रलाई कब्जा गरेको छ भने देशका सीमा अतिक्रमणसहित अन्य कैयौँ प्रकारले नेपालमा आफ्नो हस्तक्षेप बढाउँदै लगिरहेको छ । अमेरिकी साम्राज्यवादले नेपाललाई आफ्नो सैनिक रणनीति पूरा गर्नका लागि नेपालमाथि आफ्नो प्रभाव बढाउँदै लगिरहेको छ र नेपाललाई आफ्नो सैनिक रणनीतिअर्न्तगत ल्याउनको लागि त्यसले नेपालसित एमसिसी गरिसकेको छ । अब त्यसले नेपालको सम्पूर्ण राष्ट्रियतालाई आफ्नो नियन्त्रणमा लैजानका लागि तथा सम्पूर्ण नेपाललाई आफ्ना साम्राज्यवादी उद्देश्यपूर्तिको थलो बनाउनका लागि नेपालमा आफ्नो प्रत्यक्ष निर्देशनमा चल्ने राजनीतिक ग्रुपसमेतको गठन गरेर दीर्घकालीन योजनासहित काम गरिरहेको छ । नेपालमा सबै साम्राज्यवादी देशका त्यस प्रकारका नीति र कार्यका विरुद्ध हाम्रो पार्टीले लगातार आवाज उठाउँदै वा सङ्घर्ष गर्दै आएको छ र नवौँ महाधिवेशनपछि पनि हामीले यो नीतिलाई अरू जोडदार प्रकारले अगाडि बढाउने प्रयत्न गरिरहने छौँ ।

यो कुराप्रति हामीलाई गम्भीर चिन्ता र क्षोभ पनि छ कि देशका अन्य विभिन्न राजनीतिक शक्ति वा सामाजिक सङ्गठनमा समेत साम्राज्यवादी शक्तिप्रति काफी हदसम्म सम्झौतापरस्त दृष्टिकोण देखा पर्ने गरेको छ । त्यसबाट देशको राष्ट्रियता र सार्वभौमिकतामाथि गम्भीर खतरा पुग्ने सम्भावना छ । त्यस प्रकारको अत्याधिक प्रतिकूल अवस्थामा पनि हाम्रो पार्टीले जनतामा साम्राज्यवादको विरुद्ध चेतना उठाउने र विभिन्न प्रकारका अभियानको सञ्चालन गर्ने गर्दै आएको छ ।

नवौँ महाधिवेशनले हाम्रो पार्टीलाई अरू एकताबद्ध, सङ्गठित र जुझारु बनाउँदै अहिले देशमा आन्तरिक रूपले वा विदेशबाट देखा परेका सबै खतराका विरुद्ध सङ्घर्षका लागि अरू शक्तिशाली बनाउने छ भन्ने कुरामा हामीलाई दृढ विश्वास छ ।

आज देशमा जनताको जीवन झन् झन् कष्टकर हुँदै गइरहेको छ । देशमा उद्योग, व्यापार आदिको अवस्था झन् झन् बिग्रँदै गइरहेको छ र देशमा अघोषित प्रकारको आर्थिक मन्दीको स्थिति उत्पन्न भएको छ । लगातार हुने सरकार परिवर्तनले देशमा गम्भीर प्रकारको राजनीतिक अस्थिरताको अवस्था उत्पन्न भएको छ ।

गत एकाध वर्षमा देशमा कैयौँ पल्ट सरकार फेरबदल भएको छ । अहिले हालै बनेको नयाँ गठबन्धन सरकारको पनि छिट्टै फेरबदल हुने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । अहिलेको सरकार बनेपछि त्यसलाई पुनः बदल्ने र झन् प्रतिक्रियावादी सरकार गठनका लागि देशी र विदेशी शक्तिहरू क्रियाशील छन् । त्यसलाई पनि हामीले गम्भीर र खतराका रूपमा लिन्छौँ र त्यसबाट देशमा गम्भीर प्रकारको अनिष्ट हुनेतिर पनि हाम्रो पार्टीको पूरा ध्यान छ । सुनको तस्करी, नक्कली भुटानी शरणार्थी, ललितानिवासको जग्गा हिनामिना काण्ड, गिरीबन्धु टि स्टेट, वाइडबडी काण्ड जस्ता भ्रष्टाचारका गम्भीर प्रकृतिका मुद्दा बढ्दै गइरहेका छन् । अर्वौं रुपैयाँको सहकारी हिनामिनाका कारणले पनि लाखौँ जनता पीडित छन् । सहकारी हिनामिना प्रकरणमा खुला रूपले नै जिम्मेवार देखिएका व्यक्ति गृहमन्त्रालय जस्तो संवेदनशील मन्त्रालयमा बसेकाले त्यस प्रकारको अपराधको अनियमितता छानबिनलाई प्रभावित गर्ने नै बढी सम्भावना छ । त्यस प्रकारका व्यक्तिको हातमा सरकार टिकाउनका लागि अङ्कगणितीय साँचो भएको हुनाले सरकार नाङ्गो प्रकारले उनीहरूको समर्थनमा देखा पर्नुपरेको छ । त्यो देशका लागि अत्यन्त खतरनाक कुरा हो ।

देशमा बढिरहेको महङ्गी र भ्रष्टाचारका कारणले पनि जनजीवन गम्भीर प्रकारले कष्टकर बन्दै गइरहेको छ ।

देशमा संसदीय प्रणाली छ । निरङ्कुश राजतन्त्र वा तानाशाही व्यवस्थाका तुलनामा त्यो प्रगतिशील व्यवस्था हो । अहिले त्यसलाई समाप्त गर्नका लागि प्रतिगामी शक्तिले सङ्गठित रूपले अभियान चलाइरहेका छन् । त्यसकारण विद्यमान बहुदलीय व्यवस्था र गणतन्त्रलाई बचाउन प्रतिगामी शक्तिका विरुद्ध सङ्घर्ष गर्नु अहिलेको हाम्रो तात्कालिक कार्यनीति बनेको छ । निश्चय नै यो पनि हाम्रो दृढ विश्वास छ कि विद्यमान संसदीय वा बहुदलीय व्यवस्थाद्वारा जनताका आधारभूत समस्याको समाधान हुन सक्दैन । त्यो अवस्थामा हाम्रो रणनीति विद्यमान बहुदलीय व्यवस्थालाई समाप्त गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने नै हुनुपर्दछ । त्यसका लागि परिस्थिति, आत्मगत अवस्था र जनाधार तयार पार्दै लैजाने हाम्रो नीति हुनुपर्दछ र त्यही हाम्रो कार्यनीतिको आधारभूत उद्देश्य पनि हुने छ ।

अहिले विश्व कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर र रक्षात्मक अवस्थामा भएको वास्तविकताप्रति पनि हाम्रो पार्टीको ध्यान छ तर यो कुरामाथि हाम्रो पूरा विश्वास छ कि यो अस्थायी अवस्था हो र यो अवस्थामा क्रान्तिकारी परिवर्तन हुने कुरा निश्चित छ । अन्तमा, विश्वमा समाजवादी क्रान्ति सफल हुने छ भन्ने कुरामाथि हामीलाई पूरा विश्वास छ र त्यसलाई कुनै शक्तिले रोक्न सक्ने छैन तर त्यो कार्य स्वतःस्फूर्त रूपले हुने छैन र त्यसका लागि संसारभरका मिहिनेतकश जनता, मार्क्सवादी–लेनिनवादी र क्रान्तिकारीले ठोस भूमिका खेल्नुपर्ने आवश्यकता छ । त्यो कार्यमा बढी भन्दा बढी योगदान दिन नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले पनि पूरा प्रयत्न गर्ने छ ।

आज विश्वमा साम्राज्यवाद र फासिवादको खतरा गम्भीर बन्दै गइरहेको छ । साम्राज्यवादी शक्तिका बिचमा अन्तर्विरोध बढ्दै गइरहेका छन्; उनीहरूका हमलाका कारणले संसारका विभिन्न भागमा युद्ध भइरहेका छन् र तिनीहरूले विश्वयुद्ध वा आणविक युद्धको रूप लिने खतरा बढ्दै गइरहेको छ । त्यस सन्दर्भमा युक्रेन र गाजापट्टीमा समेत विश्वका ठुला साम्राज्यवादी शक्ति संलग्न भएको हुनाले पनि त्यसप्रतिको खतरा गम्भीर हुँदै गइरहेका छ । त्यस्तो भयो भने सम्पूर्ण मानवजातिको संहार हुने सम्भावना रहने छ । त्यो अवस्थामा साम्राज्यवाद र फासिवादका विरुद्ध अन्तर्राष्ट्रिय मोर्चा बनाएर सङ्घर्ष गर्नु अहिलेको अन्तर्राष्ट्रिय र ऐतिहासिक आवश्यकता भएको  छ । त्यसरी नै विश्वमा शान्ति कायम हुन सक्ने छ र मानवजातिको पनि रक्षा हुने छ । यसका लागि अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवाद र फासिवाद विरोधी संयुक्त मोर्चा बनिसकेको छ । तपाईंहरूलाई यो बताउँदा पनि हामीलाई धेरै खुसी लागिरहेको छ कि आइसिओआरले संसारभरि नै क्रान्तिकारी आन्दोलन बढाउन तथा साम्राज्यवाद र फासिवादका विरुद्ध सङ्घर्षमा तथा विश्व शान्तिको पक्षमा पनि क्रान्तिकारी भूमिका खेल्दै गइरहेको छ र त्यसमा हाम्रो पार्टीले पनि बढीभन्दा बढी सहयोग पुर्‍याउने कोसिस गर्दै आएको छ ।

आज विश्वमा र नेपालमा पनि जुन गम्भीर प्रकारको राजनीतिक स्थिति उत्पन्न भएको छ, त्यसको सामना गर्नको लागि अहिले हुन थालिरहेको हाम्रो पार्टीको नवौँ महाधिवेशनले सही नीति, कार्यक्रम तथा दिशा दिने छ भन्ने हामीले आशा र विश्वास गरेका छौँ । नवौँ महाधिवेशनका नीति, कार्यक्रम र निर्णयका आधारमा देशमा बढिरहेको प्रतिगमन र साम्राज्यवादको खतराका विरुद्धका साथै जनजीवनसित जोडिएका समस्याको समाधानका लागि सबै प्रगतिशील, वामपन्थी, जनतान्त्रिक जनतालाई समेत गोलबन्द गर्दै उच्च स्तरको आन्दोलन उठाउने हाम्रो प्रयत्न हुने छ ।

अन्तमा हाम्रो यो महाधिवेशनमा सहभागी सबैलाई क्रान्तिकारी अभिनन्दन !

(हालसालै सम्पन्न नवौँ महाधिवेशनको विस्तृत जानकारी सहितको वक्तव्य नवनिर्वाचित महामन्त्री कामरेड मोहनविक्रम सिंहद्वारा छिट्टै जारी हुने जानकारी गराउन चाहन्छौँ – नेकपा (मसाल), केन्द्रीय कार्यालय)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार