जनजाति सम्मेलनले मनायो सैतिसौँ स्थापना दिवस

काठमाडौँ । अखिल नेपाल जनजाति सम्मेलनको सैतिसौँ स्थापना दिवस मनाइएको छ ।

केन्द्रीय समितिको आयोजनामा २०८१ वैशाख ३ गते सोमबार राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालय कपनमा सो कार्यक्रम मनाइएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य राख्दै राजमो महासचिव मनोज भट्टले बसाइँसराइ र अन्तरघुलन नेपाली समाजको वर्तमान विशेषता रहेको बताउनुभयो ।

उहाँले नेपालको जनजाति सङ्गठनमा एनजिओकरण र इसाईकरणले पनि तीव्र गतिमा प्रभाव पारिरहेको स्पष्ट पार्नुभयो ।

‘पूर्वी नेपालमा इसाईकरण र जातिवादले चर्को रूप लिएको छ’ उहाँले भन्नुभयो– ‘पश्चिममा थारू समुदायमा पनि पछिल्लो समयमा इसाईकरण बढ्दै गएको छ ।’

उहाँले पहिलो संविधानसभाको चुनावमा अर्बौं रुपियाँ खर्च गरेर जातीय सङ्घीयता स्थापना गर्न खोजिए पनि दोस्रो संविधानसभा चुनावले जातिवाद र क्षेत्रीयतावादलाई पराजित गरेको स्मरण गर्नुभयो ।

महासचिव भट्टले विभिन्न जातजातिहरू छरिएर रहेकाले नेपालको सन्दर्भमा जातिहरूको आत्मनिर्णयको अधिकार असान्दर्भिक भएको बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘जनजातिहरू छरिएर रहेको अवस्था भएकाले नेपालमा भाषा, संस्कृतिको संरक्षणका लागि स्थानीय स्वायत्त शासन नै सही नीति हो ।’

कार्यक्रममा रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरिप्रसाद बुढा र अखिल नेपाल टे«ड युनियन महासङ्घ (अन्टुक) का कोषाध्यक्ष पुरुषोत्तम कार्कीले पनि मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा प्रगतिशील पत्रकार सङ्घका महासचिव प्रकाश थापामगर, राजमो केन्द्रीय सदस्य घनश्याम न्यौपाने, जनजाति सम्मेलनका केन्द्रीय सदस्य नरेश आले र राजमो काठमाडौँका सचिव छवि खनालको पनि आतिथ्य रहेको थियो ।

अध्यक्ष निमबहादुर बुढाथोकीले जनजाति सम्मेलन स्थापनाको सन्दर्भ जोडेर स्वागत मन्तव्य राख्नुभएको थियो ।

महासचिव अमरध्वज रानाको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमको अध्यक्षता सचिव उषा पुनले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार