प्रेमको कथा विश्वको दर्शन हो ‘कामरेड जलजला’ : मोहनविक्रम सिंह (भिडिओ अन्तर्वार्ता)

नेकपा (मसाल) का महामन्त्री एवम् वरिष्ठ प्रगतिवादी साहित्यकार मोहनविक्रम सिंहको बहुप्रतिक्षित उपन्यास ‘का. जलजला’ अबको केही दिनमा पाठकहरूको हातमा आउँदैछ ।

सिंहले झण्डै २३ वर्ष लगाएर लेख्नुभएको यो उपन्यास लेखनको सुरुवातदेखि नै चर्चामा छ । पाँच लाख शब्द रहेको यस पुस्तक १,३२० पृष्ठको छ । त्यसमा करिब ५०० पात्रहरू छन् । पुस्तक दुई खण्ड, आठ भाग, ७० परिच्छेद र २७२ अङ्कमा विभाजित छ ।

३ हजार रुपैयाँ मूल्य तोकिएको यस उपन्यासको विमोचन आगामी मंसिर १५ गते राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुँदैछ ।

वास्तवमा का. जलजला उपन्यासको सार के हो ? उच्च राजनीतिक जिम्मेवारीसँगै यति ठूलो पुस्तक तयार पार्न कसरी सम्भव भयो ? यसका विषयवस्तु र पात्रहरू के हुन् ? यिनै विषयवस्तुमा केन्द्रित रहेर हामीले उपन्यासका लेखक मोहनविक्रम सिंहसँग कुराकानी गरेका छौँ ।

दुई दशकभन्दा बढी समय लगाएर ‘का जलजला’ तयार पार्नुभएको छ । यो उपन्यासलाई यहाँले कसरी चिनाउन चाहनुहुन्छ ?
यो उपन्यासमा विश्वलाई हेर्ने दृष्टिकोण समाविष्ट भएको छ । मार्क्सवादी लेनिनवादी दर्शनले यो मान्दछ कि, संसारका प्रत्येक चिज, प्रत्येक व्व्यक्ति सम्पूर्ण विश्वको अंग हो । विश्वसँग त्यसको घनिष्ट सम्बन्ध छ । एउटा व्यक्तिमा सारा विश्व समावेश भएको हुन्छ । एउटा व्यक्ति पनि सम्पूर्ण विश्वसँग मिलेको हुन्छ ।व्यक्तिसँग विश्वको अभिन्न सम्बन्ध छ ।

त्यसैले यो उपन्यासलाई मैले सम्पूर्ण विश्वलाई, जीवनलाई हेर्ने एउटा प्रयत्नको रुपमा लिएको छु । जस्तो कि उपन्यासको प्राक्थनमा भनिएको छ, ‘जलजला सम्पूर्ण विश्वमा अन्तरनिहित छन् र सम्पूर्ण विश्व जलजलामा अन्तरनिहित छ ।’ त्यसको अर्थ उनको कुनै असाधारण व्यक्तिव्व थियो भन्ने होइन । मार्क्सवादी, लेनिनवादी सिद्धान्तको सार पनि यही हो । लेनिनले भनेका छन्, प्रत्येक व्यक्ति विश्वमा अन्तरनिहित हुन्छन् र प्रत्येक व्यक्तिमा विश्व अन्तरनिहित हुन्छ । यही सोचाई हेगेलको दर्शनको पनि सार हो ।

त्यसैले मैले लेखेको यो उपन्यास जलजलासित सम्बन्धित भएपनि सम्पूर्ण विश्वलाई, समाजलाई मैले अध्ययन गर्ने प्रयत्न गरेको छु ।

का. जलजला राजनीतिक इतिहास हो वा साहित्यिक कृति ? वा यो दुवैको मिश्रण हो ?
सम्भवतः यो धेरै कुराको मिश्रण हो । यसमा दर्शन छ । राजनीति छ । यो ऐतिहासिक उपन्यास पनि हो । नेपालको मात्रै होइन, विश्वका पनि धेरै ऐतिहासिक प्रशंगहरू यसमा समाविष्ट छन् । साथै यो अन्तर्राष्ट्रिय कृति पनि हो किनभने यसमा सारा विश्वको अध्ययन गर्ने प्रयत्न गरिएको छ । महासागरहरूदेखि लिएर अन्तरिक्षसम्म । यसले जीवनका धेरै पक्षहरूलाई यसमा अध्ययन गर्ने प्रयत्न गरेको छ । प्रकृतिलाई पनि ठूलो पैमानामा अध्ययन गर्ने प्रयत्न गरेको छ । हिमालयदेखि अन्तरिक्षको सौन्दर्यपक्ष, महासागरहरू ।

साथै यसमा कम्युनिष्ट आन्दोलनको बिस्तृतरुपमा समीक्षा गर्ने प्रयत्न गरिएको छ । समाजवाद आजको विश्वको ऐतिहासिक आवश्यकता हो । कम्युनिष्टहरूको दृष्टिकोण, क्रियाकलाप, चिन्तनमा जो बिचलन आएको छ, त्यसले गर्दाखेरी कम्युनिष्ट आन्दोलन धेरै कमजोर बनेको छ । यसको कारण के हो, त्यसको पनि समीक्षा गर्ने प्रयत्न गरिएको छ । त्यसकारण यो पुस्तक एकैसाथ धेरै कुराको समिश्रण हो ।

का. जलजला लेखनको सोच कसरी आयो ? यसको सुरुवात कसरी गर्नुभयो ?
का. जलजला उपन्यास वास्तवमा कैयौँ कुराहरूको सम्मिलित परिणाम हो । पहिलो कुरा त म हाइस्कुलमा पढ्दादेखि नै मेरो कथा लेखनतिर रुची थियो । तर मैले जुन कथाहरू लेखेँ, ति सबै हराउँदै गए । जस्तो २००९/१० सालतिर मैले एउटा कथा लेखेँ, इलाम वा झापाको कतैको एउटा पत्रिका थियो । पछि समाचारमा पनि पढेँ, त्यो राष्ट्रिय रुपमा पुरस्कृत पनि भएको रहेछ प्रथम भएर । त्यो कथा मैले फेरि पछि कहिँ पाइन ।

त्यस्तै मैले कैयौँ उपन्यासहरू लेखेँ । खासगरी तौलिहवादेखि पाल्पा जेलमा हुँदाखेरी मैले दुईवटा उपन्यास लेखेँ । ति उपन्यास एकजना मित्रलाई राख्न दिएको थिएँ । पछि ति सबै नष्ट भइदिए । पछि मैले कैयौँ उपन्यास लेख्दै गएँ । यो उपन्याससहित मैले पाँचवटा उपन्यास लेखेँ । त्यसमध्येमा तौलिहवा जेलमा लेखेको ‘ओखरकोट’ उपन्यास विशेषरुपमा उल्लेखनीय छ । त्यहाँ हामीले बाहिरबाट कुनै किताब पढ्न पाउँदैनथ्यौँ । सम्पूर्ण समय मैले एउटै उपन्यास लेखनमा लगाएको थिएँ । त्यो उपन्यासको सम्पूर्ण क्षेत्र ओखरकोट मात्रै थियो । ओखरकोटसँग सम्बन्धित त्यो उपन्यास पछि जेलबाट चलान हुँदा मैले देववबहादुर पन्थीलाई राख्न दिएँ । पछि उहाँको मृत्यु भयो ।

त्यसैगरी पर्वत जेलमा लेखेका धेरै कथाहरू थिए । ति पनि नष्ट भए । एउटै मात्र बच्यो ‘त्यो कथा’ । हालसालै कतिपय पत्रिकाहरूमा छापिएको पनि छ । अरु सबै नष्ट भए । यसरी कथा र उपन्यासप्रतिको मेरो लामो समयदेखिको दुखान्त कथा रहेको छ । यसको पृष्ठभूमिमा, यसको पूर्ति गर्ने उद्देश्यले मैले यो उपन्यास लेख्ने प्रयत्न गरेको हुँ ।

अर्को कुरा मेरो ध्यान इतिहासको अध्ययनतिर थियो । मैले सोचेको थिएँ, मेरो सारा जीवन इतिहासको अध्ययनमा लगाउँछु भनेर । त्यो पनि मेरो इच्छा पूरा हुन पाएन ।इतिहासको पक्षलाई पनि मैले धेरै महत्त्व दिएको छु । उदाहरणका लागि यो उपन्यासको अति महत्त्वपूर्ण पात्र सुनन्दा हुन् । उनी जेएनयू युनिभर्सिटीकी इतिहासको शोध छात्रा हुन् । उनको माध्यमबाट मेरो इतिहासप्रतिको जो रुची हो, त्यो अगाडि राख्ने प्रयत्न गरेको छु ।

यसको अर्को कारण जलजलाको मृत्यु पनि हो । जलजलाजीको मृत्यु भयो । त्यसबाट मैले धेरै दुःख पुग्यो । त्यसकारण उनको स्मृतिमा मैले उपन्यास लेख्ने कोशिश गरेँ । जस्तो भनौँ, साहजाहँले मुमताफको स्मृतिमा ताजमहल बनाए, त्यस्तै खड्ग शमशेरले रानी तेजकुमारीको स्मृतिमा रानी घाटमा दरबार बनाए, त्यस्तै माधव घिमिरेले गौरी लेख्नुभयो । यो पनि एक प्रकारले भन्ने हो भने मेरो जलजलाप्रतिको प्रेमको एउटा स्मृति, उपहार पनि हो । यसरी उपन्यास लेखनमा धेरै चिजले काम गरेका छन् ।

अर्को कुरा लेख्ने मेरो जुन अभ्यास हो, सानैदेखि थियो । त्यसकारण मैले लेख्दै गएँ । यसको लागि मलाई करिब २३ वर्षको लामो समय लाग्यो । त्यसबारे मैले पछि बताउँला, म लेख्ने काममा मात्रै त लाग्ने सक्दैनथिएँ । पार्टीका जिम्मेवारी थिए । त्यसका साथसाथै यो काम पूरा गर्नुपर्यो । त्यसकारण उपन्यास लेखनमा धेरै समय लाग्यो । यसैले यी सबैको सामूहिक परिणाम कामरेड जलजला उपन्यास हो ।

यहाँले जेलमा बस्दा लेखेका कैयौँ कृति हराए भन्नुभयो । हराए वा छापिन पाएनन् । के कामरेड जलजलाले तिनको अभावव पूर्ति गर्छ ?
अब पूर्ति नै गर्न सक्छ त नभनौँ । पहिले लेखेका कथा वा उपन्यासहरू बेग्लाबेग्लै सन्दर्भमा लेखिएका थिए । तिनका विषयबस्तु बेग्लाबेग्लै थिए । उदाहरणका लागि ओखरकोटमा लेखिएको उपन्यास ओखरकोटसँग सम्बन्धित थियो । त्यो उपन्यास मैले चार भागले लेख्ने योजना बनाएको थिएँ । पहिलो भाग कोटसित मात्रै सम्बन्धित थियो । त्यहाँको जीवन, त्यहाँको संस्कृति, त्यहाँको चालचलन, पात्रहरू पनि त्यहीँका थिए । त्यसरी लेख्ने प्रयत्न गरेको थिएँ । जस्तो शिविरसँग सम्बन्धित थियो । एकजना पात्र त्यहाँबाट जान्छ । ओखरकोटको विजनगरमा एउटा शिविर चल्छ । उ त्यहाँ बस्छ । त्यो शिविर र त्यतिबेलाको प्युठानको किसान आन्दोलनबारे दोस्रो भाग लेख्ने विचार थियो । तेस्रो भागमा २००७ सालको आन्दोलनबारे, चौथो भागमा फेरि कम्युनिष्ट आन्दोलनबारे लेख्ने विचार थियो । यसैले मेरा धेरै योजनाहरू थिए ।

पहिलो उपन्यान नै हरायो ।त्यसपछि मैले अरु निरन्तरता दिन सकिन ।

त्यस्तै, काठमाडौं बस्दाखेरी मैले ‘बूढाबा’ उपन्यास लेखेको थिएँ । त्यो खासगरेर त्यो बेलाको प्युठानको किसान आन्दोलनसँग सम्बन्धित थियो । त्यो पनि फेरि कतै हरायो । नष्ट भयो ।

अर्कोपटक फेरि मैले भद्रपुर जेलमा लेखेँ ‘बूढाबा’ भन्ने । त्यसमा किसान आन्दोलन, क्रान्तिकारी कम्युनिष्ट आन्दोलन सबै जोडिएको थियो । त्यसमा ति बूढाबाले त्यो आन्दोलनलाई कसरी हेर्छन्, त्यसमा कसरी सामेल हुन्छन्, उमेरमा बूढा भएपनि कसरी त्यो आन्दोलनलाई मद्दत गर्छन्, त्यो सँलग्न सम्बन्धित थियो ।

पछि लेखेको ‘तारा’ उपन्यास एउटा सामान्य प्रकारको प्राकृतिक जीवनसित सम्बन्धित थियो । त्यहाँको सौन्दर्यको चर्चा गरिएको थियो ।

त्योबेलाका ति उपन्यासहरूका कैयौँ अंश यसमा (का. जलजलामा) सामेल छन् । जस्तो, ओखरकोटको विषय । यो उपन्यासमा ओखरकोट भन्ने च्याप्टर छ । त्यसमा त्यहाँको जनजीवन, त्यहाँको विकास कार्यहरू यस्ता धेरै कुराहरू संलग्न छन् । यस्तै, कम्युनिष्ट आन्दोलनका कैयौँ विषयमा उपन्यासमा समावेश गर्ने प्रयत्न गरेको छु ।त्यसकारण ति कैयौँ उपन्यासका विषयबस्तु यसमा पनि समेटिएका छन् । यसले ति सबैको पूर्ति गर्छ भन्ने होइन, मेरा पहिले हराएका उपन्यासहरू कुनै न कुनै रुपमा एक वा अर्को प्रकारले यो उपन्यासमा प्रतिबिम्बित भएका छन् ।

यहाँले भनेअनुसार यसका पात्रहरूले नेपालको रोल्पा, प्युठानदेखि भारतको कुमाउ गढवालसम्म, जर्मनदेखि अन्तरिक्षसम्मको वर्णन गरेका छन् । ति पात्रहरूमार्फत त्यसखालको ब्याख्या गर्न कसरी सम्भवव भयो ?
मैले भनिसकेँ, मार्क्सवादी दर्शनले कुनै एउटा चिजलाई पनि एउटा समग्र रुपमा, समस्टिरुपमा बुझ्ने प्रयत्न गर्छ । जस्तो लेनिनको भनाई छ एउटा व्यक्ति बेग्लै हुँदैन । ऊ सम्पूर्ण विश्वको अंश हुन्छ । विश्व उसमा अन्तरनिहित भएको हुन्छ । सम्पूर्ण विश्व व्यक्तिमा अन्तरनिहित भएको हुन्छ ।

त्यस्तै, मैले सम्पूर्ण चिजलाई ब्यापक रुपमा समग्र रुपमा बुझ्ने प्रयत्न गरेको छु । त्यसैले यो उपन्यासमा मैले लेख्न थालेँ जलजलाको विषयमा । या कतिपय पात्रहरू, तिनको बारेमा लेख्न थालेँ । मैले उनको सम्पूर्ण संसारसँगको सम्बन्धबारे हेर्ने प्रयत्न गरेको छु । जस्तो जलजलाः त्यसको प्राकथनमा नै लेखिएको छ, जलजला एउटा व्यक्ति मात्रै होइनन् । उनको लामो इतिहास छ ।प्रत्येक व्यक्तिको त्यो इतिहास छ, जलजलाको मात्रै होइन । सामन्य एउट व्यक्तिको पनि । हरेक व्यक्ति लामो इतिहासको परिणाम हुन् । किनभने यो संसारमा मानव जीवन प्रारम्भ नभएको भए हामी कोही व्यक्ति हुने थिएनौँ । कुनै ग्रहहरूमा जीवन नै छैन । किनभने सृष्टिको एउटा खास विकास वा चरणको परिणामस्वरुप त्यो भएको हो ।

त्यस्तै, हामी मानव जातीहरू कहाँ–कहाँबाट आयौँ? खस जातीहरू कति लामो प्रक्रियाद्वारा यहाँ आएका छन् ।
जलजला काठमाडौंको बत्तिसपुतीमा जन्मिइन् । चितवनको तोरिखेतमा हुर्किईन् ।त्यसका पछाडि लामो इतिहास छ ।
त्यस्तै, सुनन्दा उपन्यासकी अर्की महत्वपूर्ण पात्र हुन् । उपन्यासको प्राकथनमा नै लेखिएको छ, सुनन्दाबिना यो उपन्यास अगाडि बढ्न सक्दैन । सुनन्दा सौका जनजातीकी कन्या हुन् । उनको घर कुमाउ हो । नेपालको दार्चुलापारि इन्डियाको धार्चुला छ । त्यसमा एउटा दार्माप्रगन्ना छ । दार्मा प्रगन्ना अन्तर्गत दार्मा गाउँ छ । त्यहाँको सौका जातीमा उनी जन्मिइन् । उनले जेएनयू युनिभर्सिटीबाट पीएचडी गर्न थाल्छिन् । यसरी सम्पूर्णको कुमाउको इतिहाससँग उनी जोडिएकी छन् । त्यहाँको प्रकृति, त्यहाँको जनजीवन, त्यहाँको मानवजीवन । यसरी कुनै एउटा सामन्य विषयलाई पनि मैले बिस्तृतरुपमा मैले अध्ययन गर्ने प्रयत्न गरेको छु ।

त्यसैगरेर नेपालको कम्युनिष्ट आन्दोलन यहाँको मात्रै कम्युनिष्ट आन्दोलन होइन । विश्व कम्युनिष्ट आन्दोलनको इतिहास हो । यहाँको कम्युनिष्ट आन्दोलनको बेग्लै अस्तित्वव छैन । बेग्लै त्यसको विकास हुँदैन । बेग्लै त्यसको पतन हुँदैन । सारा विश्वको कम्युनष्टि आन्दोलनसँग जोडिन्छ । भनाईको अर्थ मैले सबै पात्रहरूलाई मैले त्यही भनेँ ।

जस्तो, जर्मन गएर हेरौँ, जर्मनको इतिहासको नेपालकै इतिहासको एउटा अंग हो, विश्वकै इतिहासको अंग हो । त्यहाँको आन्दोलनको पृष्ठभूमि । त्यहाँको साहित्यको पृष्ठभूमि । कार्ल मार्क्स त्यहाँ जन्मिएका छन् । त्यहाँ यहुदीविरुद्ध नरसंहार भयो । त्यहाँ ठूला संघर्ष भए । यस्तै, भारतको इतिहास अत्यन्त गौरवमय इतिहास हो । ठीक त्यस्तै प्रकारले त्यहाँको कला, संस्कृति, सौन्दर्य यी सबै महत्त्वपूर्ण छन् । जस्तो गंगापालको यहाँ उल्लेख छ, उनी १७ वर्षीया कन्या हुन् । उनी अंग्रेजको विरुद्धमा ठूलो प्रचार गर्थिन् । अन्त्यमा उनलाई अंग्रेजले पक्रेर ज्युँदै आगोमा जलाएर मारे ।

यसकारण मैले प्रत्येकलाई विश्वको, सम्पूर्ण संसारको सृष्टिको एउटा अंशको रुपमा लिएको छु । जुन मार्क्सवादी दर्शनले भन्छ, जुन द्वन्द्ववादी दर्शनले भन्छ प्रत्येक चिजलाई समस्टिरुपमा हेर्नुपर्छ । जस्तो हाम्रो पार्टीको सम्मेलन हुन्छ, महाधिवेशन हुन्छ, हामीले कुनै एउटा घटनालाई एउटा घटनाको रुपमा मात्रै चर्चा गर्दैनौँ । हामीले सम्पूर्ण देशको परिस्थिती, अन्तर्राष्ट्रिय परिस्थितीको चर्चा गर्ने प्रयत्न गर्दछौँ । त्यही पद्धती मैले यो उपन्यासमा पनि अपनाएको छु ।

त्यस्तै, पात्रहरू पनि जर्मनका, फ्रान्सका, रुसका विभिन्न देशका पात्र छन् । जस्तो भ्यालेन्टिना एकजना पात्र छन् । उनी त्यहाँको सैनिक अफिसर हुन् । उनको अत्यन्त उच्च प्रकारको महत्व छ, दृष्टिकोण छ । त्यो मैले उपन्यासमा देखाउने प्रयत्न गरेको छु ।

यस्तै, डा. जगदीश छ । त्यो उपन्यासमा खलनायक हो । डा. जगदीश सुरुदेखि अन्त्यसम्म रहन्छ । खलनायक भएपनि त्यसमा उच्चप्रकारको दृष्टिकोण, बौद्धिकता हुन्छ ।

यसरी मैले सबै चिजलाई एउटा समस्टिरुपमा बुझ्ने प्रयत्न गरेको छु र प्रस्तुत गर्ने प्रयत्न गरेको छु । त्यसकारण संसारका धेरै ठाउँका पात्रहरूलाई मैले लिनुपरेको छ । पात्रहरू लिँदा त्यहीँको स्थिती अनुसार नै मैले उनीहरूलाई बुझ्ने प्रयत्न गरेको छु । त्यसको लागि मैले कतिपय अवस्थामा ति ठाउँमा गएर अध्ययन गर्नुपर्यो । त्यहाँका सामग्री अध्ययन गर्नुपर्यो।

यसको सार तत्वको रुपमा उपन्यासको कुनै पनि घटनालाई कुनै पनि व्यक्तिलाई समग्र विश्वको परिस्थितीको रुपमा नै अध्ययन गर्ने, प्रस्तुत गर्ने प्रयत्न गरेको छु ।

यहाँले उपन्यास लेखनको शिलशिलामा कैयौँ ठाउँमा पुगेको कुरा पनि उल्लेख गर्नुभएको छ । तपाइँले राजनीतिक जिम्मेवारीकै शिलशिलामा पुगेका ठाउँ वा भोगेका अनुभवलाई उपन्यासमा उतार्नुभएको छ वा उपन्यास लेखनकै लागि भनेर ती ठाउँमा पुग्नुभएको छ ?
आम रुपमा राजनीतिक जिम्मेवारीको शिलशिलामा गएको ठाउँहरूको नै मैले उपन्यासमा उल्लेख गरेको छु । जस्तो युरोपको कुरा गरौँ । त्यहाँ उपन्यासका लागि बेग्लै कुनै देशमा जान सम्भव थिएन । पार्टीका कतिपय अन्तर्राष्ट्रिय मिटिङ, भेला, सेमिनारहरूमा जाने शिलशिलामा नै मैले त्यहाँको अध्ययन गर्ने प्रयत्न गरेँ । फ्रान्सको कुरा गरौँ । फ्रान्समा रिमको स्थापनाको बेलामा म गएँको थिएँ । पछि पनि अन्तर्राष्ट्रिय कार्यक्रमहरूको शिलशिलामा म गएँको थिएँ । जर्मनमा हाम्रो आईसीओआरको बैठकहरूको शिलशिलामा जानुपर्यो । रुसमा पनि अन्तर्राष्ट्रिय कार्यक्रमको शिलशिलामै जानुपर्यो । युनानमा वा कैयौँ ठाउँमा जाँदा आउँदा बाटो पर्यो ।

तर, कुमाउमा पार्टीको कार्यक्रमको शिलशिलामा म जानुपरेको होइन । तर, इन्डियामा भूमिगत अवस्थामा हुँदाखेरी प्रायसः म कैयौँ पटक कुमाउ जाने गर्थें । त्यसकारणल त्यहाँको अध्ययन गर्ने काममा पनि ध्यान दिनुपर्यो । ठिक त्यसैगरेर नेपालका त विभिन्न जिल्लाहरूमा जाने काम परिरहन्छ । थवाङमा म धेरै पहिले नै गएको हुँ ।जब सल्यान जेलबाट छुटेँ २०१३ सालमा । कामरेड खगुलाल गुरुङसहित हामी थवाङ आएका थियौँ । पार्टीको स्थापना गरेका थियौँ । पछि दुईपटक यही उपन्यासका लागि म सामग्री जुटाउने शिलशिलामा थवाङ जानुपर्यो । एकपटक गएँ, धेरै सामग्री नोटहरू मैले त्यहाँबाट ल्याएँ । पछि त्यो कापी हरायो ।

पछि फेरि त्यही थवावङकै विषयमा अध्ययन गर्नका लागि फेरि म जानुपर्यो । नेपालका अन्य ठाउँहरूको जहाँसम्म सवाल छ, आउने जाने काम परिरहन्छ । प्युृठान त आफ्नै जिल्ला हो । प्युठान, लुम्बिनी, बुटवल, कपिलवस्तु, दाङ, कतिपय ठाउँमा पार्टी कामकै क्रममा गइरहनुपर्छ । खाली उपन्यासकै लागि भनेर सामग्री जुटाउन थवाङ दुईपटक जानुपर्यो ।

प्रायजसो के हुन्छ पार्टीका साथीहरू कुनै जिम्मेवारी लिएर गएपछि पार्टीको काम गर्छन् वा घुम्छन् । तर, मेरो हमेशा के हुन्छ भने म कुनै ठाउँमा गएँ भने त्यहाँको अध्ययन गर्ने प्रयत्न गर्छु । त्यहाँ सामग्री जुटाउने प्रयत्न गर्छु । नोट गर्ने प्रयत्न गर्छु । यसरी मैले यात्राकै शिलशिलामा ती ठाउँहरूको अध्ययन गर्ने प्रयत्न गरेँ । सामग्रीहरू जुटाउने प्रयत्न गरेँ । किताबहरूको खोजी गर्ने प्रयत्न गरेँ ।त्यसबाट मलाई यो उपन्यास तयार पार्न अत्यन्त ठूलो मद्दत पुग्यो ।

कामरेड जलजला अर्थात् विद्या ढकालसँग यहाँको प्रेम सम्बन्ध थियो भन्ने कुरा यहाँले नै खुलासा गर्दै आउनुभएको छ । उहाँको बारेमा जिज्ञासा राख्ने नयाँ पुस्तालाई जलजलाको परिचय कसरी गराउनुहुन्छ ?
निश्चितरुपमा जलजलासँग मेरो प्रेम थियो र त्यो प्रेम विवादग्रस्त पनि रहेको छ । नेपालमा धेरै आलोचना र विरोधको विषय पनि भएको छ । तर, ति सबै भएपनि जलजला एउटा क्रान्तिकारी दृष्टिकोण भएकी महिला थिइन् । मसँगको प्रेमको कारणले उनले धेरै दुःख भोग्नुपर्यो । धेरै आलोचना पनि सहनुपर्यो । धेरै बदनाम पनि भइन् । र, धेरै कारबाही पनि उनीमाथि भयो । म माथि पनि भयो ।

तैपनि मैले के पाएँ भने उनमा विशिष्ट प्रकारको दृढता थियो । ति सबै परिस्थितीमा पनि उनमा पार्टीप्रतिको क्रान्तिप्रतिको जुन आस्था हो, जुन निरन्तरता हो, जुन सक्रियता हो त्यसमा कहिले पनि कमि आएन । जस्तो सुकै अप्ठेरो परिस्थितीमा पनि उनको मप्रतिको प्रेममा कहिल्यै कमी आएन । त्यो रुपमा नै मैले उनको व्यक्तित्वको धेरै नजिकबाट उपन्यासमा चित्रण गरेको छु ।

कामरेड जलजलासँगको प्रेम सम्बन्धका कारण तपाइँको राजनीतिक जीवनमा पनि उतारचढाव आएको देखिन्छ नि ?
उतार चढाव भन्दा पनि उनीसँगको प्रेमको कारण म माथि कारबाही गरियो । म महामन्त्री थिएँ । महामन्त्रीबाट हटाइयो ।केन्द्रीय समितिबाट हटाइयो । पार्टी सदस्यबाट हटाइयो । पार्टीबाट निष्काशित गरियो । त्यो निष्काशित जीवन बिताउन केरला (भारत) तिर जानुपर्यो ।यी सबै भयो । तर, त्यसले मेरो राजनीतिक जीवनमा कुनै उतारचढाव आएन । जस्तोसुकै अवस्थामा पनि यहाँसम्म कि पार्टीबाट निष्काशित भएको अवस्थामा समेत मैले पार्टीप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्ने प्रयत्न गरेँ । पार्टीप्रतिको आस्थामा कहिल्यै कमी आएन । म सँधैँ पार्टीको अनुशासनमा बस्ने प्रयत्न गरेँ ।त्यसकारण पार्टी काममा मेरो निरन्तरता रहिरह्यो । त्यसकारण जलजलासँगको प्रेमले वा त्यसबाट गरिएको कारबाहीले मेरो पार्टीप्रतिको आस्था, निरन्तरता, अनुशासन र क्रियाशीलतमा कुनै कमी आएन ।

यही २०८१ मंसिर १५ गते जलजलाको विमोचन हुँदैछ । अबको केहीदिनमानै पाठकहरूले जलजला पढ्न पाउने भएका छन् । जलजलाको प्रतिक्षा गरिरहेका पाठकलाई यहाँले के सन्देश दिन चाहनुहुन्छ ?
हो, यही मंसिर १५ गते दिउँसो १ बजे प्रज्ञा प्रतिस्ठान कमलादीको पारिजात हलमा यसको विमोचन हुँदैछ । यो उपन्यासको संक्षेपमा, साररुपमा मैले यसरी ब्याख्या गर्छुः यो प्रेमको कथा हो र विश्वको दर्शन हो । किताबको शिर्षकमा पनि त्यही लेखिएको छ, प्रेमको कथा, विश्वको दर्शन ।

यसलाई मैले खाली प्रेमको रुपमा प्रस्तुत गरेको छैन । हामी सबै समाजको लामो विकासक्रमका परिणाम हौँ । त्यसमा भएका उथलपुथलका परिणाम हौँ । हामी आज जुन रुपमा छौँ । त्यसका लागि हामी व्यक्ति मात्रै कारण होइनौँ । यहाँको समाज, साहित्य, कला, इतिहास, दर्शन यी सबैको सम्मिलित परिणाम हो । त्यसकारण हाम्रो प्रेमलाई पनि समाजको एउटा अंगको रुपमा लिनुपर्छ । समाजमा संघर्ष भइरहेको छ । एउटा पुरानो व्यवस्था, जसले समाजलाई दबाएर राखिरहन चाहन्छ, त्यसका विरुद्ध परिवर्तनका लागि संघर्ष भइरहेको छ ।

हामीले प्रेमलाई पनि त्यसको अंगका रुपमा लिनुपर्छ । प्रेमलाई पनि हामीले समाज सेवाको माध्यमका रुपमा लिनुपर्छ ।त्यसकारण यसमा प्रेमलाई पनि यही रुपमा प्रस्तुत गर्ने प्रयत्न गरेको छु । समग्ररुपमा प्रेमका प्रशंगहरू अत्यन्त कम छन् । त्यसका जो पात्रहरू छन्, तिनिहरूको प्रायशः आपसमा भेटै हुँदैन । एकपटक भेट हुन्छ, उपन्यासमा संक्षिप्तरुपमा त्यसपछि उनको कहिँपनि भेट हुँदैन ।

अर्को कुरा प्रेमलाई दार्शनिक रुपमा, ऐतिहासिक रुपमा उच्च सांस्कृतिक रुपमा प्रस्तुत गर्ने प्रयत्न गरेको छ । हाम्रो समाज बिग्रेको, पतनको एउटा कारण के हो भने मानिसले प्रेमलाई मान्छेहरूले धेरै व्यक्तिगत रुपमा ग्रहण गर्छन् । प्रेमलाई मुख्य ठान्छन् र अरु सबैकुरालाई गौण ठान्छन् । प्रेम पति पत्नीबीचको हुन्छ, बाबुआमाप्रतिको हुन्छ, छोराछोरीप्रतिको हुन्छ, यी सबै प्रेमलाई हामीले समाजको एउटा अंगको रुपमा नै ग्रहण गर्नुपर्छ । र, प्रेमलाई कुनैपनि बेला हामीले सामाजिक हितका विरुद्ध जान दिन हुँदैन । यही रुपमा त्यसमा प्रेमको ब्याख्या गर्ने प्रयत्न गरिएको छ ।

अर्को कुरा, यो उपन्यासले सम्पूर्ण विश्वलाई बुझ्ने प्रयत्न गरेको छ । यहाँको अन्तरिक्षलाई, यहाँको घटनाक्रमलाई, यहाँको मानव जीवनलाई । चाहे त्यो अमेरिका होस्, चाहे अफ्रिका होस्, चाहे अस्ट्रेलिया होस्, इन्डिया होस् यी सबैलाई बुझ्ने प्रयत्न गरेको छ । त्यसलाई सरसर्ती रुपमा अध्ययन गर्ने प्रयत्न गरेको छ ।

संसारमा मानिसको जुन चिन्तन हो, कतिपय चिन्तन भौतिक परिस्थितीको परिणाम हुन्छ । त्यसले सारा कुरालाई प्रभावित गर्छ, घटनाक्रमले प्रभावित गर्छ । त्यसले कुनै समाज, कुनै व्यक्ति कुनै देशको विकासमा प्रत्यक्ष प्रभावित गर्छ । त्यसकारण हाम्रोृ दार्शनिक सोच उच्च प्रकारको हुनुपर्छ । उच्चप्रकारको हुनुपर्छ भन्नुको अर्थ समाजको सरह हुनुपर्छ भन्ने होइन ।

अहिले तपाइँ देख्नुहुन्छ, धेरै राजनीतिक पार्टीको पतन । पार्टीहरूको पतन भइरहेको छ, नेताहरूको पतन भइरहेको छ, कम्युनिष्टहरू सबैको पतन भइरहेको छ । किनभने उनको चिन्तन सही हुनसकेको छैन । उनको दार्शनिक चिन्तन सही हुनसकेको छैन । उनीहरूले सम्पूर्ण समाजलाई भन्दा आफू व्यक्तिलाई माथि राख्न चाहन्छन् । व्यक्तिलाई समाजभन्दा माथि राखे र समाजको हितमाथि कुठाराघात गर्न थाले । त्यसकारण त्यसप्रकारको चिन्तनविरुद्ध यो उपन्यासले एउटा दृष्टिकोण दिने प्रयत्न गरेको छ । दार्शनिक दृष्टिकोण दिने प्रयत्न गरेको छ ।

त्यसकारण सबै पाठकप्रति मेरो अनुरोध, यही पक्षप्रति उहाँहरूको ध्यान आकर्षित गराउन चाहन्छु ।

सरसर्ती भन्ने हो भने संसारमा आमाको सन्तानप्रतिको प्रेम सबैभन्दा उत्तम हुन्छ । आमाको प्रेमको विशेषता के हो ? आफ्नो व्व्यक्तिगत स्वार्थमा केहीपनि ध्यान नदिइकन आफ्ना सन्तानका लागि काम गर्छिन् । आफ्ना सन्तानका लागि सम्पूर्ण दुःख कष्ट सहन तयार हुन्छिन् । हामीले आमाको प्रेमलाई सम्पूर्ण समाजमा लागू गर्ने प्रयत्न गनर्लुपर्दछ । आमाको प्रेममा एउटा कमजोरी हुन्छ ।त्यो कमजोरी के हो भने त्यो प्रेम उनको आफ्ना सन्तानप्रति मात्रै हुन्छ । त्यसको सिमा छ, त्यो भन्दा बाहिर जान सक्दिनन्। त्यो प्रेम राम्रो छ, आदर्श छ । तर, हाम्रो प्रयत्न के हो भने आमाको सन्तानप्रतिको जुन प्रेम हो, त्यो प्रेमलाई सम्पूर्ण समाजप्रति गर्ने प्रयत्न गर्नुपर्दछ । यदी त्यो भयो भने, व्यक्तिगत रुपमा र सामाजिक रुपमा पनि धेरै राम्रो हुनेछ ।
अर्को समाज जुन शान्त, सुखी र सुन्दर हुनुपर्छ, कम्युनिष्ट आन्दोलनले त्यही दिशामा प्रयत्न गरेको छ । आमाको जुन प्रेम हो, सारा संसारमा हुनुपर्दछ, उपन्यासले आफ्नो संक्षेपमा यही कुरामा जोड दिएको छ ।

युगदर्शनलाई आफ्नो महत्त्वपूर्ण समय दिनुभयो । यहाँलाई धेरैधेरै धन्यवाद ।
पहिलो पटक मैले यो उपन्यासको विषयमा अलिकति ब्याख्या गर्ने प्रयत्न गरेँ । कतिपयले उपन्यासबारे भ्रम छर्ने प्रयतन गरेका छन् । उनीहरूले नपढीकन विभिन्न ब्याख्या गरेका छन् । राजनीतिक रुपमा वा व्यक्तिगत रुपमा मप्रतिको पूर्वाग्रहका कारण यस्तो भन्ने गरेका छन् । वा उनीहरूलाई जलजला र मेरो प्रेमको कारण जुन विवाद भएको थियो, त्यसले पनि त्यस्तो सोच्न बाध्य गराएको हुनुपर्छ । त्यो उपन्यासको सम्पूर्ण अध्ययन गरेपछि मलाई लाग्छ, त्यसप्रकारका भ्रमहरू धेरै घट्नेछन् ।

साथसाथै विवाद पनि पैदा हुनेछ । किनभने आजको जुन चिन्तन प्रणाली छ, त्यसको विरुद्ध गएको छ यो उपन्यास । यथास्थिती, रुढीवादी चिन्तन प्रणालीका विरुद्ध गएको छ । जो विद्यमान रुढीवादी परम्पराको पक्षमा छन्, यथास्थितीवादी चिन्तन प्रणालीको पक्षधर छन्, उनीहरूले यो उपन्यासमाथि आक्रमण गर्नेछन् । तर, त्यो आक्रमण त्यो संघर्ष, द्वन्द् समाजको नियम हो ।त्यसको बिचबाट हुँदै समाजको सोचाई, चिन्तन र दृष्टिकोण अगाडि बढ्छ ।

त्यो विचार स्पष्ट रुपमा राख्ने मौका दिनुभएकोमा युगदर्शन परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।
(प्रस्तुतीः विद्यानाथ अधिकारी/गोविन्द शर्मा)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार