मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

केन्द्रीय समितिद्धारा ४ मई २०२५ नई दिल्लीमा आयोजित

‘नेपालमा प्रतिगमनको खतरा र गणतन्त्रको रक्षाको प्रश्न’

अन्तर्क्रिया कार्यक्रम

अबधारणा–पत्र

अन्तर्क्रिया कार्यक्रमका अध्यक्ष ज्यू,

अतिथिहरू एवं सहभागि साथीहरू,

सर्वप्रथम हामीले यो कार्यक्रममा उपस्थित तपाईंहरू सबैलाई अभिनन्दन गर्न चाहन्छौँ । तपाईंहरूलाई थाहा भए कै हुनुपर्दछ, आज हाम्रो देश नेपालमा नेपाली जनताले करिब एक शताब्दीसम्म सङ्घर्ष तथा त्याग र बलिदान गरेर प्राप्त भएको गणतन्त्र र धर्मनिरपेक्षता माथि पूर्व राजाको नेतृत्वमा सङ्गठित र योजनाबद्ध प्रकारले हमला भइरहेको छ । त्यो अवस्थामा जनताको ऐतिहासिक आन्दोलनद्वारा प्राप्त गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाका लागि एकताबद्ध भएर सङ्घर्ष गर्नु अहिलेको ऐतिहासिक जिम्मेवारी बन्न गएको छ । यदि राजावादीहरूका प्रतिगामी प्रयत्नहरू सफल भए भने देश पुनः निरङ्कुश राजतन्त्र वा तानाशाही व्यवस्थातिर जाने छ । त्यसो भएमा देश प्रतिगमनतिर जाने छ र नेपाली जनताले पुनः ५० वर्ष पहिलेदेखि नयाँ प्रकारले अहिले विद्यमान उपलब्धिहरूको प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्ने छ ।

यो हामी सबैलाई थाहा भएको कुरा हो कि नेपालमा लोकतन्त्र वा गणतन्त्रको स्थापना भएपछि पनि त्यसपछि सत्तामा आएका राजनीतिक शक्तिहरूले कुशलतापूर्वक काम गर्न सकिरहेका छैनन् । त्यसपछि देशमा कुशासन र भ्रष्टाचार बढेर गएको छ । त्यसले गर्दा विकासको काम राम्ररी बढ्न सकेको छैन् । देशको अर्थतन्त्र धेरै नै बिग्रेर गएको छ । त्यसको परिणाम यो भएको छ कि जनतामा धेरै निराशा उत्पन्न भएको छ र गणतन्त्रप्रति पनि जनतामा धेरै असन्तोष उत्पन्न भएको छ । त्यो स्थितिबाट राजावादीहरूले फाइदा उठाउने प्रयत्न गरिरहेका छन् । उनीहरूले जनतालाई यो भ्रम दिने प्रयत्न गरिरहेका छन् कि राजाको शासन कायम भएपछि नै देशमा शान्ति र सुव्यवस्था कायम हुने छ, भ्रष्टाचारको अन्त्य हुने छ, देशमा राजनीतिक स्थिरता आउने छ र देशको दिगो विकास हुने छ ।

आज देशको अवस्था अत्यन्त गम्भीर छ । देश एक प्रकारले सङ्कटको मुखमा उभिएको छ । एकातिर, प्रतिगामी शक्तिले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर देशलाई प्रतिगमनतिर लैजाने प्रयत्न गरिरहेका छन् भने, अर्कातिर, लोकतन्त्र वा गणतन्त्रको स्थापनापछि बनेका सरकारहरूले कुशासन र भ्रष्टाचार बढाएर लगेकोले जनता निराश र असन्तोष छन् । त्यसबाट प्रतिगामी शक्तिहरूले फाइदा उठाउने प्रयत्न गरिरहेका छन् । त्यो अवस्थामा हाम्रा अगाडि दुई प्रकारका जिम्मेवारीहरू छन् : प्रथम प्रतिगमनका विरुद्ध सशक्त प्रकारले र एकताबद्ध भएर सङ्घर्ष गर्नु । द्वितीय, देशमा बढिरहेको कुशासन, भ्रष्टाचार आदिका विरुद्ध पनि जनतालाई जागृत गर्दै सङ्घर्ष अगाडि बढाउनु । अन्तमा, हामीले के बुझनुपर्दछ भने देशमा आज जति कुशासन र भ्रष्टाचार भएपनि देश र जनताको हित देशलाई, जस्तो कि राजावादीहरूले दावी गरिरहेका छन्, प्रतिगमनतिर लगेर होइन, अग्रगमन तिर लगेर नै हुन्छ । त्यसैले हामीले देशलाई प्रतिगमनतिर लैजाने सबै प्रयत्नहरूको विरोध गर्दै देशलाई अग्रगमनको दिशामा लैजान नै सङ्घर्ष गर्नुपर्छ ।

त्यसका साथै हामीले गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा भएका राजनीतिक शक्तिहरूसित पनि एकता कायम गर्दै प्रतिगमन विरुद्धका सङ्घर्षलाई शक्तिशाली बनाउने नीति अपनाउनु पर्दछ । उनीहरूसित हाम्रा कैयौँ मतभेदहरू हुन सक्दछन् । तैपनि उनीहरूसितका मतभेदहरूलाई बेग्लै चलाउँदै उनीहरूसित प्रतिगमन विरुद्धको सङ्घर्षमा एकता कायम गर्ने हाम्रो प्रयत्न हुनुपर्दछ । पहिले पनि हामीले त्यस प्रकारको प्रयत्न गर्दै आएका थियौँ । त्यसप्रकारको एकताबाट निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको अन्त्य, राजतन्त्रलाई समाप्त गरेर गणतन्त्रको स्थापना भएको हो । गणतन्त्रको स्थापना पछि पनि कतिपय राजनीतिक शक्तिहरूले आपनाएका गलत नीति र केपी शर्मा ओलीद्धारा संविधान विरुद्ध गई संसदको विघटनले प्रतिगामी तत्वहरूलाई मद्दत पुगेको थियो । त्यसको विरुद्ध पनि प्रतिगमन विरोधी शक्तिहरूसँग सहकार्यको नीति अपनाइएको थियो । अहिलेको अवस्थामा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षाको लागि गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिहरूसँगको सहकार्य र कार्यगत एकताको नीतिको औचित्यता अहिले पनि कायम छ । अहिले प्रतिगमनको खतरा झन् बढेर गएको अवस्थामा प्रतिगमनका विरुद्ध एकताको आवश्यकताको औचित्यता र महत्व झन् बढेर गएको छ ।

नेपालको वामपन्थी वा प्रजातान्त्रिक आन्दोलनमा भारतस्थित नेपालीहरूको सधैँ महत्वपूर्ण वा ऐतिहासिक भूमिका रहँदै आएको छ । त्यो, चाहे राणा शासनको विरुद्धको सङ्घर्षमा होस्, निरङ्कुश राजतन्त्र र पञ्चायती तानाशाही व्यवस्थाको सङ्घर्षमा होस् वा राजतन्त्रको विरुद्धको सङ्घर्षमा होस्, भारतस्थित नेपालीहरूको महत्वपूर्ण भूमिका रहँदै आएको छ । अहिले पनि नेपालमा राजतन्त्रको पुनर्स्थापनाको लागि गतिविधि बढेर गएको छ । त्यो अवस्थामा अहिले पनि भारतस्थित नेपालीहरूद्वारा नेपालमा प्रतिगमन विरुद्धको सङ्घर्षमा महत्वपूर्ण भूमिकाको आवश्यकता धेरै नै बढेर गएको छ । भारतस्थित नेपालीहरू वामपन्थी वा प्रजातान्त्रिक पङ्क्तिका हुन । सबैले एकताबद्ध भएर नेपालमा गणतन्त्र रक्षाको लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकता प्रति हामीले सम्पूर्ण भारतस्थित नेपालीहरूको ध्यानाकर्षित गर्न चाहन्छौँ । नेपालमा गणतन्त्र समाप्त भएर राजतन्त्र आउनुको अर्थ देश पुनः प्रतिगमनतिर जानु हुने छ र त्यसले भारतस्थित नेपालीहरूको जीवनमा पनि असर पार्ने छ । भारतस्थित नेपालीहरूको जीवन घनिष्ट रूपले नेपालसित पनि जोडिएको छ । त्यसैले नेपालमा देखापर्ने प्रतिगमनको खतराप्रति भारतस्थित नेपालीहरूमा पनि उच्च प्रकारको सतर्कताको आवश्यकता छ ।

अन्तमा आज यो कार्यक्रममा उपस्थित सबै सहभागीहरूलाई हामीले धन्यावाद दिन चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार