काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले गणतन्त्रको रक्षा र संघीयता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले सञ्चालन गरिरहेको आन्दोलनप्रति सहयोग गर्न आम जनतामा अपिल गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहले सोमबार एक वक्तव्य प्रकाशित गरी मंसिर २५ गते देशब्यापीरुपमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा धन्यवाद दिँदै पुष १० गतेसम्म स्थानीयस्तरमा हुने विरोधका कार्यक्रम सफल पारिदिन अपिल गर्नुभएको छ ।
“गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको विरोध गरौँ” भन्ने नाराका साथ राष्ट्रिय जनमोर्चाद्वारा मंसीर २५ देशव्यापी रुपमा विरोधका कार्यक्रम सम्पन्न भएका छन् । हामीले राष्ट्रिय जनमोर्चालाई उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा र ती कार्यक्रमलाई सहयोग गर्ने सम्पूर्ण जनसमुदायलाई धन्यवाद दिन चाहन्छौँ’ वक्तव्यमा भनिएको छ,, ‘पौष १० गतेसम्म स्थानीय स्तरसम्म सञ्चालन हुने उक्त कार्यक्रमहरुलाई अझ प्रभावकारी बनाएर सफल पार्नका लागि हामीले सम्पूर्ण जनतासित अपील गर्दछौँ ।’
















