क्रान्तिकारी आन्दोलनमा शर्मिष्ठा चौधरीको दृढता अनुशरणयोग्य : मसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले भाकपा (माले) रेडस्टारका पोलिटब्यूरो सदस्य शर्मिष्ठा चौधरीको निधनप्रति गहिरो दुःख प्रकट गरेको छ । चौधरीको यही जेठ ३० गते भारतको कलकत्तामा निधन भएको थियो ।

भारत बाहेक अन्तराष्ट्रिय महिला आन्दोलनमा पनि उहाँको महत्वपूर्ण भूमिका र योगदान रहेको मसालले उल्लेख गरेको छ । उहाँ तेश्रो विश्व महिला सम्मेलनको एसिया कोर्डिनेटर हुनुहुन्थ्यो ।

महामन्त्री मोहनविक्रम सिंहले एक शोक वक्तव्य प्रकाशित गरी नेतृ चौधरीको निधनले अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा अपूरणीय क्षति भएको बताउनुभएको छ । उहाँले नेतृ चौधरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतीय कम्युनिष्ट पार्टी तथा शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ,
नेपाल कम्युनिष्ट पार्टी (मसाल) भारतकी का. शर्मिष्ठा चौधरीको निधनको समाचार सुनेर स्तब्ध भएको छ । का. शर्मिष्ठा भारतको कम्युनिष्ट आन्दोलनको एउटा जुझारु योद्धा हुनुहुन्थ्यो । त्यसका साथै उहाँ महिलाहरुको क्रान्तिकारी आन्दोलनको पनि नेतृ हुनुहुन्थ्यो । भारत बाहेक अन्तराष्ट्रिय महिला आन्दोलनमा पनि उहाँको महत्वपूर्ण भूमिका र योगदान रहेको थियो । तेश्रो विश्व महिला सम्मेलनको उहाँ एसियाबाट एकजना प्रमुख कोर्डिनेटर पनि हुनुहुन्थ्यो । काठमाडौंमा सम्पन्न द्धितीय विश्व महिला सम्मेलन, महिला संगठन र आन्दोलनसम्बन्धी अन्य कैयौँ कार्यक्रमहरुका सिलसिलामा उहाँ कैयौँ पल्ट नेपाल पनि आउनु भएको थियो ।

का. शर्मिष्ठा भारतीय कम्युनिष्ट पार्टी (माले–रेड स्टार)को केन्द्रीय समितिको पोलिटव्यूरो सदस्य हुनुका साथै उहाँ अखिल भारत महिला संघकी महिला सचिव, ट्रेड युनियनको पनि केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँ पहिले पत्रकार हुनुहुन्थ्यो । पछि उहाँ कम्युनिष्ट पार्टीको पेसेवर कार्यक्रर्ता भन्नु भयो । त्यसपछि उहाँले कहिल्यै पछाडि फर्केर हेर्नु भएन र सधैँ क्रान्तिकारी आन्दोलनमा अग्रिम पंत्तिमा रहेर संघर्ष गरिरहनु भयो ।

उहाँको मृत्यु भारतको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन, अन्तर्राष्ट्रिय महिला मुक्ति आन्दोलन र नेपालको पनि क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको लागि ठूलो क्षति हो । अहिले उहाँको निधन भएको भए पनि उहाँले आफ्नो जीवनको अन्तसम्म जसरी पार्टी र क्रान्तिको लागि निरन्तर र दृढतापूर्वक संघर्ष गरिरहनु भयो, त्यसबाट हामी सबैले शिक्षा र प्रेरणा लिनु पर्दछ । खास गरेर अहिले जब विश्वको नै कम्युनिष्ट आन्दोलनमा विचलन र पलायनका प्रवृतिहरु बढ्दै गैरहेका छन्, त्यो अवस्थामा उहाँको उदाहरणले कम्युनिष्ट आन्दोलनको लागि धेरै नै महत्व राख्दछ ।

हामीले उहाँप्रति उच्च सम्मान प्रकट गर्दै उहाँको निधनको अवसरमा भारतका सबै कामरेडहरु र उहाँको परिवारजनप्रति पनि हार्दिक समवेदना प्रकट गर्दछौँ ।

हामीलाई भारतको अर्काे एकजना केन्द्रीय नेता का. शिवरामको मृत्युको समाचार पनि ढिलो गरि प्राप्त भएको छ । हामीले उहाँप्रति पनि उच्च श्रद्धाञ्जली प्रकट गर्दछौँ ।

अन्तमा का.शर्मिष्ठा र का. शिवराम दुवैप्रति हाम्रो लाल सलाम !

मोहनविक्रम सिंह
महामन्त्री,
नेकपा (मसाल)

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार